• २८ माघ २०८१, सोमबार

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

blog

बुटवल समाचारदाता

बुटवल, माघ २७ गते । इलाका प्रहरी कार्यालय बुटवलले लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।  बुटवल र रुपन्देहीका विभिन्न गाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहका सात जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट छ थान चोरीका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–५ का १८ वर्षीय राजु थारू, सोही स्थानका १९ वर्षीय अमित भन्ने जङ्गबहादुर थारू, २० वर्षीय सुदीप थारू, वडा नम्बर ४ का १९ वर्षीय गणेश थारू, १८ वर्षीय निमबहादुर थारू, १९ वर्षीय बिक्की नाउ र १८ वर्षीय विनोद हरिजन रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजय पण्डितले बुटवल उपमहानगर, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिकालगायत जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भएको भन्दै जनगुनासो बढेपछि प्रहरीले खोजतलासका लागि टोली खटाएको बताउनुभयो । 

उहाँले इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल रामनगर र इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) बाट चोरी भएका सवारीसाधन र चोरी गर्ने व्यक्तिलाई खोजतलासका लागि संयुक्त प्रहरी टोली खटाइएको थियो । साथै पक्राउ परेकालाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उता जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार पछिल्लो साढे छ महिनाको अवधिमा जिल्लाबाट मात्रै २६९ वटा मोटरसाइकल चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकाभित्रबाट ६५, सिद्धार्थनगर नगरपालिकाबाट ३८, तिलोत्तमा नगरपालिकाबाट २६ र सैनामैना नगरपालिकाबाट सात वटा मोटरसाइकल चोरी भएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।