• २७ माघ २०८१, आइतबार

प्रदेश सरकारले अधिकार नपाएको गुनासो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २७ गते । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले तीन तहका सरकारको तारतम्य मिल्न नसक्दा समस्या बढेको बताउनुभएको छ । 

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले शनिबार आयोजना गरेको ‘सञ्चार सरोकारवालासँगको छलफल’ कार्यक्रममा मन्त्री लामिछानेले सङ्घ, प्रदेश र स्थानीय तहको तारतम्य नमिल्दा समस्या भएको बताउनुभएको हो । उहाँले मुलुक सङ्घीयतामा गए पनि प्रदेश सरकारले पूर्ण अधिकार नपाएको गुनासो गर्नुभयो । मन्त्री लामिछानेले आफू बागमती प्रदेशको गृहमन्त्री भए पनि बुख्याँचा जस्तो मन्त्री भएको तर्क गर्नुभयो । 

उहाँले बागमती प्रदेशले कस्तो सञ्चार नीति अवलम्बन गर्ने भनेर वरिष्ठ सञ्चारकर्मीसँग छलफल राखिएको बताउनुभयो । कार्यक्रममा पत्रकार तारानाथ दाहालले स्वतन्त्र सञ्चार रजिस्ट्रार बनाउनुपर्ने बताउनुभयो । आफूले २०६२ सालमा सर्वोच्च अदालतमा मुद्दा हालेर स्वतन्त्र सञ्चार रजिस्ट्रार बनाउने आदेश गराए पनि सरकारले त्यो आदेशको पालना अझै गर्न नसकेको बताउनुभयो । 

कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालले गर्दा मूलधारका सञ्चार माध्यम ओझेलमा पर्दै गएको बताउनुभयो । उहाँले पेसागत रक्षाका लागि सरकारी मिडियामा काम गर्न चाहनेको सङ्ख्या बढेकोे र निजी सञ्चार माध्यममा मालिकले भनेको मात्रै लेख्ने गरिएको बताउनुभयो । उहाँले सरकारी मिडियाले जनताका विषय उजागर गर्ने गरेको बताउनुभयो । 

पत्रकार कवीर राणाले साप्ताहिक पत्रपत्रिकाले पञ्चायत र राजतन्त्र हटाउन ठुलो भूमिका खेलेको बताउनुभयो । राणाले प्रदेश सरकारले प्रजातन्त्रको पक्षमा लडाइँ लडेका सञ्चार माध्यमलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले नेपाली पत्रकारिता क्षेत्र समस्याग्रस्त रहेको बताउनुभयो । कार्यव्रmममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले बागमती प्रदेशको सञ्चार क्षेत्रमा भएका कामबारे जानकारी गराउनुभएको थियो  । 

कार्यव्रmममा पत्रकार विष्णु निष्ठुरी, तेजप्रकाश पण्डित, रेडियो प्रसारण सङ्घका अध्यक्ष कुमार भट्टराई, पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार टेनिस रोका, जीवन भण्डारी, मन्टेश्वरी राजभण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।