• २७ माघ २०८१, आइतबार

टीकापुर अस्पतालमा सिकलसेलको उपचार

blog

सिकलसेल एनिमियाको उपचार तयारी गरिरहेको टीकापुर अस्पताल । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता

टीकापुर, माघ २७ गते । थारू जातिमा मात्रै देखिने सिकलसेल एनिमियाको उपचारका लागि टीकापुर अस्पताल सूचीकृत गरिएको छ । यसअघि त्यसको उपचारका लागि नेपालगन्ज वा धनगढीलगायतका ठाउँ जानु पथ्र्यो । नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार टीकापुर अस्पताल सिकलसेल एनिमियाको उपचारका लागि सूचीकृत भएको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ । 

सिकलसेलको उपचार विशेषज्ञ डाक्टरबाट गरिने विशिष्टीकृत सेवा भएकाले लामो समयको प्रयास र सरकारले तोकेको मापदण्ड पूरा गरेपछि टीकापुर अस्पताल सूचीकृत भएको बताउँदै टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले एमडी प्याथोलोजिस्ट भर्ना गरेपछि सूचीकृत हुने बाटो खुलेको बताउनुभयो । अस्पतालमा उपकरण छन्, पाँच बेडको वार्ड बन्दै छ, चाहिने औषधी व्यवस्था गरेर चाँडै उपचार सेवा सुरु गर्ने उहाँले बताउनुभयो । 

आफ्नो बच्चालाई सिकलसेलको उपचार गराइरहनुभएका भिख्खु चौधरीले भन्नुभयो, “रगत चढाउने काम टीकापुर अस्पतालमै भइरहेको छ, त्यसका लागि छुट्टै वार्डसहित उपचार हुँदा बिरामीलाई धेरै सहज हुने थियो ।” पछिल्ला वर्षमा स्थानीय पालिकाले बर्सेनि सिकलसेल एनिमियाको परीक्षण गराउने गरेको छ । परीक्षणका क्रममा नयाँ बिरामी पत्ता लाग्ने र सयौँको सङ्ख्यामा सिकलसेल ट्रेट (सिकलसेलवाहक सेल) फेला पर्ने गरेका छन् । सिकलसेल पोजेटिभ ट्रेट भएका युवाले बिहे गरेमा उनीहरूबाट जन्मिने बालबालिकामा पनि सिकलसेल देखिने गरेको छ ।

रक्तअल्पता भएका बिरामीको परीक्षण गर्ने, सिकलसेल एनिमिया भएका बिरामीलाई हेमोग्लोबिन कम भएमा रगत चढाउनु पर्छ । भिटामिन र औषधी जीवनभर खानुपर्ने हुन्छ । पश्चिम नेपालका थारू समुदायमा मात्रै देखिएको सिकलसेल वंशाणुगत रोग हो । सिकलसेल भएमा रक्तकोष हँसिया जस्तै बङ्गिने र फुटने गर्छन् । रक्तअल्पता हुने, खाना नपच्ने र मानिस कमजोर हुँदै जाने भएकाले यसको औषधीका साथै पोषण र बेलाबेलामा रगत चढाउनुपर्ने हुन्छ । समयमै उपचार गरे अवस्था खराब हुनबाट जोगिन्छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा सिकलसेलका नौ सय जनाभन्दा बढी र निजी क्षेत्रमा घोडाघोडी अस्पतालमा ३५० जना बिरामी दर्ता छन् । टीकापुर अस्पतालमा सिकलसेलको उपचार सुरु भएमा ती अस्पतालको चाप पनि घट्ने छ ।