• २७ माघ २०८१, आइतबार

पहिरोपीडित थामी समुदाय अझै बासविहीन

blog

सामूहिक खाना पकाउँदै रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१, सल्लेटारका पहिरोपीडित थामी समुदाय ।

नवराज श्रेष्ठ

रामेछाप, माघ २७ गते । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१, डडुवा पाखाटोलकी सेती थामीको परिवारलाई गत भदौ ८ गते रातिको अबिरल वर्षापछि आएको पहिरोले घरबारविहीन बनायो । पूरै बस्ती नै पहिरोको जोखिममा परेपछि उहाँसहित सिङ्गो पाखाटोल बस्ती नै खाली गर्नुप-यो । बस्ती नै पहिरोको उच्च जोखिममा परेपछि सेती थामीसहित पाखाटोल र सल्लेटारका २० घरपरिवार पाल टाँगेर जङ्गल तथा सडकमा बस्दै आएका छन् ।

बस्ती नै बग्ने जोखिम भएपछि सैलुङ गाउँपालिका–१, डडुवा पाखाटोल, सल्लेटारका २० घरपरिवार र दलेचौरका चार घरपरिवारले पालमुनि बसेर बर्र्खा कटाए । थामी समुदायले चाडपर्व पनि पालमै बसेर मनाए । यतिका समय बितिसक्दा पनि अझै अस्थायी आवास बन्ने छाँटकाँट नदेखेपछि जोखिमयुक्त घरमै फर्किन बाध्य भएका छन् । 

जाडोयाममा पालमा बस्दा बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेपछि जाडो छल्न जोखिमयुक्त घरमै बस्नुपरेको पाखाटोलकी सेती थामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घर त सग्लै छन् तर पूरै बस्तीको तल र माथिबाट पहिरो बगेको छ । पानी पर्दा जुनसुकै बेला पूरै बस्ती बग्न सक्छ भन्ने डरले तिहारसम्म पालमै बस्यौँ । अहिले जाडोका कारण घरमै फर्किएका छौँ ।” अस्थायी रूपमा बस्ने ठाउँका लागि वडा, गाउँपालिका, जिल्ला प्रशासनलगायतका ठाउँमा जति भने पनि केही नलागेको उहाँले गुनासो गर्नुभयो । 

पहिरोले उठिबास लगाएपछि दुई महिनासम्म पालमुनिको बसाइ हुँदा पनि अस्थायी आवासको व्यवस्था नभएपछि गएको तिहारपछि जोखिमयुक्त घरमै फर्किएको दलेचौरका पदम थामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूरै बस्ती नै पहिरोको जोखिममा भएपछि दुई महिना जङ्गल र सडकमा पाल टाँगेर बस्यौँ तर यो समयमा अस्थायी बासको व्यवस्था हुन सकेन । चिसो बढ्न थालेपछि अहिले सबै पीडित जोखिमयुक्त घरमै बसेका छन् ।” अस्थायी रूपमा बस्ने ठाउँकै व्यवस्थापन गर्न नसक्ने राज्यसँग अरू सुरक्षित ठाउँ र स्थायी घरको आस मरिसकेको उहाँले बताउनुभयो ।

अस्थायी आवास निर्माणका लागि गणेशथान सामुदायिक वनमा पहिरोपीडित थामी समुदायले श्रमदान तथा ऋण गरेर बनाएको ठाउँमा पनि वनले आवास बनाउन नदिएको पाखाटोलका मङ्गले थामीले बताउनुभयो । बर्खाको तीन महिना बस्नका लागि ठाउँ माग गर्दा पनि आफैँले संरक्षण गरेर जोगाएको वनले बस्न नदिएको वडा सदस्यसमेत रहनुभएका थामीको गुनासो छ । उहाँले भन्नुभयो, “पहिरोपीडित सीमान्तकृत थामी समुदायको पीडामा सरोकारवाला निकाय गम्भीर बनेनन् । श्रमदानसहित दुई लाख रुपियाँ ऋण गरेर बनाएको ठाउँमा पनि सामुदायिक वनले अस्थायी आवास बनाउन दिएन । आफ्नो जग्गामा बनाउने ठाउँ छैन । पूरै बस्ती नै बग्ने अवस्थामा छ ।” अस्थायी आवास निर्माणका लागि विभिन्न सङ्घ संस्थाको सहयोगमा १२ लाख रुपियाँभन्दा बढीको १३४ बन्डल जस्तापाता ल्याएको र काठसमेत तयार भइसक्दा पनि ठाउँ अभावले बनाउन नसकिएको उहाँको भनाइ छ । अहिले राज्यसँग आशा मरिसकेकाले २४ घरपरिवार मिलेर ऋण गरेरै भए पनि सुरक्षित ठाउँमा जग्गा किनेर बस्ती बसाल्ने सल्लाह भएको उहाँको भनाइ छ ।

तीन सय आवास माग, ३२ बने

गत भदौ ८ गते राति र असोज ११ र १२ गतेको वर्षाका कारण दोरम्बा सैलुङ गाउँपालिकामा धेरै परिवार घरविहीन बनेका छन् । भदौ ८ गते राति गएको पहिरोका कारण दोरम्बा सैलुङ गाउँपालिका–३, टोरकपुरस्थित लेकखर्कमा १० जना पुरिएका थिए । पहिरोमा पुरिएका सात जनाको शव भेटियो । एक जनाको खुट्टाको पैतालाको भाग मात्रै फेला परेको थियो । दुई जना अझै बेपत्ता नै छन् । ६३ घरपरिवार रहेको खर्कबस्ती पूरै पहिरोको उच्च जोखिममा रहेको छ ।

लेकखर्कमा पहिरोको उच्च जोखिममा परेकामध्ये ३२ परिवारलाई गाउँपालिकाले अस्थायी आवास बनाएर राखेको छ । पालिकास्तरीय विपत् व्यवस्थापन समितिले वडा नं. ३ स्थित छहराबारीस्थित खेलकुद मैदानमा ३२ वटा अस्थायी आवास बनाएर पहिरोपीडितलाई राखेको गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले बताउनुभयो । 

यो वर्ष बाढीपहिरोबाट विस्थापित भएकालाई तीन सयभन्दा बढी अस्थायी आवास निर्माण गर्नुपर्ने माग आएकोमा लेकखर्कका ३२ परिवारलाई दसैँअघि नै अस्थायी आवास निर्माण गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको बाढीपहिरोले दोरम्बा सैलुङ गाउँपालिकामा ठुलो क्षति गरेको छ । तीन सयभन्दा बढी घरपरिवारले अस्थायी आवास बनाउन निवेदन दिएका छन् । जसमध्ये लेकखर्कका ३२ परिवारलाई अस्थायी आवासमा राखिएको छ । अन्य परिवारका लागि सर्वेक्षण गर्न विज्ञ टोली माग गरिएको छ ।” लेकखर्कका ३२ परिवारलाई विभिन्न निकायको सहयोगमा जस्तापाता, काठपात व्यवस्थापन गरी गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट छ लाख रुपियाँ खर्च गरेर अस्थायी आवास निर्माण गरिएको उहाँले बताउनुभयो ।