तम्घास समाचारदाता
तम्घास, माघ २७ गते । यहाँका एक वडाध्यक्ष जनताको सेवाका साथै कृषि पेसामा रमाउँदै आउनुभएको छ । बिहानैदेखि राति अबेरसम्म जनताको काम र वडाको विकासमा खटिएर बाँकी रहेको समयमा कृषिकर्ममा लागेको सत्यवती गाउँपालिका–१ का वडाध्यक्ष अर्जुन कनौजेले बताउनुभयो ।
३५ वर्षीय कनौजेले १८ वर्षदेखि ताजा तरकारी खेती गर्दै आउनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि पनि आमनागरिकको सेवाका साथमा व्यावसायिक कृषिकर्मलाई निरन्तरता दिएको बताउँदै विगतलाई भुल्न नहुने उहाँको तर्क छ ।
आफ्नो २० रोपनीसहित थप २० रोपनी जग्गा लिजमा लिएर ताजा तरकारी खेती गर्दै आएका कनौजेले वार्षिक २० लाख रुपियाँसम्मको कारोबार हुने गरेको बताउनुभयो । उहाँले २५ वटा प्लास्टिक टनेलमा विभिन्न प्रजातिका टमाटर साथै नर्सरी गर्दै आउनुभएको छ । टनेलबाहिर बन्दा, काउलीलगायतका तरकारी रहेको उहाँले बताउनुभयो । २०६८ सालमा अर्जुन ताजा तरकारी तथा दुध उत्पादन फार्म दर्ता गरी आफूले कृषिकर्म गर्दै आएको उहाँले बताउनुभयो ।
जनताको सेवाबाट थोरै फुर्सद भए पनि आफू कृषिमा लाग्ने गरेको उहाँले सुनाउनुभयो । विशेष गरी बिहानसाँझको समय नै कृषिमा लाग्ने गरेको र घरपरिवारको पनि साथ रहेको उहाँले बताउनुभयो । वार्षिक २० लाख बढीको कारोबारमा १० लाख रुपियाँभन्दा बढी बचत गर्ने गरेको उहाँले बताउनुभयो । उत्पादित कृषि उपजको बजारीकरणका लागि कुनै समस्या नभएको र धेरै जसो स्थानीयस्तरमै खपत हुने गरेको उहाँको भनाइ छ । पछिल्लो समयमा राजनीतिले मात्रै नहुने भन्दै उत्पादनसँग जोडिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
देशका युवालाई विदेश जानुभन्दा देशको माटोमै क्रान्ति गर्न सुझाव दिँदै स्वदेशमा नै सम्भावना रहेकाले यहीँको माटोमै सुन फलाउन सकिने उहाँको तर्क छ । कृषि ज्ञान केन्द्र गुल्मीका बाली विकास अधिकृत प्रकाश मरासिनीले कनौजेले गरेको कार्यलाई सबैले अनुसरण गरेमा राम्रो हुने बताउनुभयो ।