• ३ चैत २०८१, आइतबार

पुल बनाउन गएको छोरा बेपत्ता, नदी किनारमा बाआमाको बिलौना

blog

नदी किनारमा विक्षिप्त रहेका बेपत्ताका आफन्त। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ २६ गते। गत बुधबार दिउँसो सुर्खेतमा झोलुङ्गे पुल निर्माणको क्रममा रुकुमपूर्वका दुई युवा भेरी नदीमा खसेर बेपत्ता भए। कामको खोजीमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ बाट सुर्खेत पुगेका युवा नदीमा बेपत्ता भएका हुन्। छोरा बेपत्ता भएको खबरपछि बुवाआमासहित करिब ३०–३५ जना आफन्त भेरी नदी किनारमा पुगेका छन्। 

बेपत्ता भएका मध्ये २४ वर्षीय अनिल घर्तीको शव बिहीबार फेला पर्यो। तर अहिलेसम्म १८ वर्षीय अर्जुन झाँक्री मगरको शव फेला परेको छैन। घर्तीको शव खसेको भन्दा ४० मिटरको गहिराइमा अड्किएको अवस्थामा फेला परेको हो। परिवारले अझैसम्म शव बुझेका छैनन्। 

भेरी नदीका दुई किनार जोड्ने पुलको लट्ठा तान्ने क्रममा दुई युवा भेरीमै खसे। भेरी किनारमा चार दिनदेखि बेपत्ता अर्जुनको खोजीमा उहाँका बुवाआमा र आफन्तजन भौतारिएका छन्। नदी किनारमा कान्छो छोराको सास भेटिने आशा मारेर बिनौला गरिरहेकी गंगा झाक्री बेलाबेला बेहोस बन्नुहुन्छ। आमा गंगा बर्बराउँदै भन्नुहुन्छ, ‘विदेश जान्छु भन्दा देशमै काम गर भनेर जान दिएनौ, अहिले यो अवस्था आयो। छोरा कहाँ होला, कस्ले खोजिदेला ?’ उहाँको बिलौनाले साथमा रहनुभएका बेगबहादुर र आफन्तजन थप विक्षिप्त बनेका छन्।


अर्जुनका बुवा बेगबहादुरले छोराको खोजीमा सरकारले बेवास्ता गरिरहेको गुनासो गर्नुभएको छ। छोरा खोजीपाउँ भन्दै बिन्ती गर्दा पनि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएर गएको उहाँको भनाइ छ। सुर्खेतमै रहेको प्रदेश सरकार, सङ्घ अन्तर्गतको प्रहरी संयन्त्रले रुकुमपूर्वको गरिब मान्छेको गुहार नसुनेको उहाँको भनाइ छ। 

बेपत्ताका आफन्तको साथमै खोजी कार्यमा रहनुभएका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१ का वडाध्यक्ष देवबहादुर घर्तीले नदीमा हराएका युवा खोज्न सरकारले बेवास्ता गरेको बताउनुभयो। उहाँले पुल निर्माणको जिम्मा लिएको ठेकेदार समेतले अटेरी गर्दै पीडित परिवारको सम्पर्कमै नआएको बताउनुभयो। काम खोज्दै सुर्खेत पुगेको युवा नदीमा हराउँदा जिम्मेवार निकायले चरम लापरबाही गरेको र पीडित परिवारलाई थप पीडा भइरहेको उहाँको भनाइ छ। 


सरकारले बेपत्ताको तत्कालै खोजी गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मृतक तथा बेपत्ताका आफन्तजनको माग रहेको छ। चिसो मौसममा छोराको बियोगमा तड्पिएका बुढाबुढीको स्वास्थ्य अवस्था समेत नाजुक बन्दै गएको बताइएको छ। सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम गर्दै गरेका अनिल र अर्जुन भेरी नदीमा खसेर बेपत्ता भएका थिए।