• २६ माघ २०८१, शनिबार

समाजवाद निर्माणको मुख्य आधार कृषिः अध्यक्ष प्रचण्ड

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौं, माघ २६ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनैतिक महत्त्वलाई आत्मसात गरेर उत्पादनका निमित्त सङ्घर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा जोड दिने नीति लिएको बताउनुभयो ।

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगीकरणको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुहुँदै  अध्यक्ष प्रचण्डले दलाल, नोकरशाही, पुँजीपति र विचौलियाले निजीकरण र उदारीकरणका नाममा राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको तथ्यलाई ध्यान दिएर अब क्रान्तिकारीहरूले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगीकरणको मौलिक बाटो समात्नुपर्ने बताउनुभयो ।

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासङ्घले आम किसानको बिचमा लैजानुपर्ने बताउनुभयो । आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरूलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रूपमा स्थापित गरेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाउनुभयो । किसान महासङ्घले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोमा उहाँले आपत्ति जनाउनुभयो ।

आफूले राजनीतिको सुरूवात किसान सङ्घबाटै गरेको स्मरण गराउँदै उहाँले यो सङ्गठनलाई किसानको घर र खेतबारीसम्म पुर्‍याउनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले फागुन १२ गतेदेखि हुने तराई मधेश केन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखामा हुने मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सफल बनाउन किसान महासङ्घलाई निर्देशन दिनुभयो । 

बैठकमा अध्यक्ष चित्रबहादुर श्रेष्ठले संक्षिप्त प्रतिवेदन पेस भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव नहेन्द्र खड्काले गर्नुभएको थियो ।