• २६ माघ २०८१, शनिबार

कांग्रेस सभापति देउवा दाङमा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वागत गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, माघ २६ गते ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुग्नुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएको सभापति देउवाले मटावाँ, बरघर, भलमन्सा सङ्घले दङ्गीशरण गाउँपालिका–३ स्थित चखौरामा आयोजना गर्ने भेलालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको हो ।

सभापति देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गर्नुभएको हो ।

थारू सांस्कृतिक सङ्ग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि हुन लागेको छ ।

महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ ।

यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने छ । यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहने छ ।

थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्रीका लागि राखिएको छ ।

महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभुषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुने छ ।

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रूपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारू समुदायको उपस्थिति रहेको छ ।