• २६ माघ २०८१, शनिबार

लाजको पर्दा च्यात्दै हिउँको अँगालोमा

blog

मनाङ घुम्न जाने योजनासँगै मनमा बढेको कौतूहल र उमङ्गको कुनै सीमा थिएन । बितेको वैशाख महिनाको पहिलो हप्ता मनाङ भ्रमण गर्ने साइत जुरेको थियो । 

लमजुङबाट मनाङका लागि निस्कँदै गर्दा धूमिल आकाश, मधुर घाम तथा कौतूहलयुक्त मनका साथ हाम्रो यात्रा सुरु भयो । मस्र्याङ्दी नदीको किनारैकिनार अघि बढ्दा बाटामा पर्ने मुटु काँप्ने भिर, मनमोहक झरना, छरिएर रहेका ग्रामीण बस्तीहरू, फाट्टफुट्ट देखिने कृषियोग्य जमिन आँखाभरि सजाउँदै हामी अघि बढ्यौँ । आधी बाटो नकट्दै आकाश गड्गडाउन थाल्यो । निलो आकाश कालो बादलले ढाक्दै थियो । यात्रामा के हुने हो ? भन्ने डर, कौतूहल र अनिश्चितता मनमा बढ्दै गयो । अन्ततोगत्वा छिटपुट वर्षा नै पो हुन थाल्यो । भिरैभिर कोपेर बनाइएको कच्ची सडकको हाम्रो यात्रा त्यसै पनि डरलाग्दो थियो । त्यसमाथि आकाशको गड्याङगुडुङ, सिमसिम पानी, मनमा डर र भिरको भर गर्दै कठिन यात्रा अघि बढ्दै गएको थियो । तैपनि हिमालपारिको जिल्ला टेक्ने उत्कट इच्छा तथा कौतूहलका अगाडि प्रकृतिका ती अवरोध टिक्न सकेनन् र यात्रा निरन्तर अघि बढ्यो ।

मनाङ जिल्ला सदरमुकाम चामे पुग्दा हर्षको स्नेहमा तानिँदै थिएँ । म सम्झन्छु ओहो ! संसार नै बिर्सने त्यो रोचक गन्तव्य । जति जति माथि पुग्यौँ त्यति नै अद्भुत रहस्य खोल्दै थियो मनाङ । 

शुभ सौन्दर्य भूमिमा टेक्दा हिउँ पर्दै थियो । मलाई त विश्वास नै लागेको थिएन । केही समयअघिको मौसम देखेर अघि बढिन्छ भन्ने नै लागेको थिएन । दोधारमा यात्रा तय भएको थियो, प्रतिकूल मौसमका कारण ।  लमजुङको बेँसीसहरबाट हिँड्दा सिमसिम पानी पर्दै थियो । पहरा कोपेर बनाइएको बाटोका उबडखाबड सडकमा बोलेरोले उफार्दा मरिन्छ कि क्या हो जस्तो गरी यात्रा गरिएको थियो । कति ठाउँमा त सासै रोकिएला झैँ हुन्थ्यो, डरले । जिउ नै सिरिङ्ग पार्ने पूरै बाटो कच्ची थियो । कतै कतै सहज यात्रा गरिए पनि अघिकांश सडक जोखिमपूर्ण र डरलाग्दो थियो । यात्रा लामो थियो । बाटो साँघुरो थियो तर हृदयमा प्रेमको ज्योति मुग्ध बल्दै थियो । बाटोमा साना मसिना गाउँ तथा बजार थुप्रै देखिन्थे । ठाउँ ठाउँमा पसल भेटिइहाले पनि त्यहाँ चियाबाहेक खाने खाजा पाइन्नथ्यो तर व्यवस्थित ढङ्गका राम्रा खाजाघर जगतमा भेट्टायौँ । त्यो स्थल सुविधासम्पन्न नै थियो भनौँ । 

मस्र्याङ्दीको तिरैतीर खोलिएको त्यो बाटोभरि प्रकृतिको अनुपम छटा जताततै फैलिएको थियो । मुनफल झरना, छाँगो झरना, बुलुम झरना र कम्तीमा पनि नौ, दस वटा झरनाको सौन्दर्यपान गर्दै अघि बढेका थियौँ । अनेकौँ रूपरङ्गका बोटबिरुवा, वनस्पतिले नलोभ्याउने कुरै भएन । बाटाको बिचमा चट्टानका च्यापमै फुलेका रातो, सेतो, गुलाबी रङका गुराँस देख्दा अनौठो लाग्थ्यो । त्यसैको नजिक चिलाउने, धुपी र सल्लाका रुखमाथि बसेर चरा चिरबिराइरहेका देखिन्थे ।

थकाइ मेटेर अघि बढेपछि च्याम्सेको झरना यात्रुलाई स्वागत गर्न सबैतिर फैलिएर झर झर गरिरहेको थियो; जसलाई अक्टोपस झरना भनेर पनि चिनिन्छ । हरेक आगन्तुकलाई चुम्बकले झैँ आफूतिर तान्न सफल रहेछ, त्यो झरना । कोही झरनामा रुझ्दै थिए । कोही फोटोमा रमाएका थिए । अघिकांश ठाउँमा ठुला ठुला चट्टानको छेउबाट मस्र्याङ्दीको किनारैकिनार पुग्ने, यो मनाङ जिल्लाको एक्लो बाटोमा साहसिलो र आँटिलो चालकले फेरि बोलेरो बेतोड चलाए । बाटो निकै साँघुरो थियो । कतै रोकिएर बिस्तारै ब्याक गरेपछि मात्र मुस्किलले दुईतर्फ गाडी अघि बढाउन सकिने बाटो थियो । ससाना रेखा झैँ कोरिएका बाटो, ठुलो अक्करे भिरको बिचबाट हिँड्नु पर्दा आँट नै डगमगाउँथ्यो । त्यसमाथि सडकबाट घेरै तल मस्र्याङ्दी सुसेली हाल्दै एकोहोरो बगिरहेको सुनिन्छ । चुपचाप आफ्नै लयमा अघि बढ्दै गर्दा तालगाउँ अवलोकन गर्न केही समय रोकियौँ । खोलाको नजिकै अवस्थित तालगाउँ आफैँमा सुन्दर काव्य झैं देखिन्थ्यिो । झरनाले सुशोभित । हरिया पहाडले घेरिएको त्यो गाउँ माथिबाट स्वर्गको एउटा टुक्रा भेट्टाए जस्तो लाग्थ्यो ।

उकालोओरालो पार गर्दै यात्रा फेरि मस्र्याङ्दीको किनारैकिनार तेर्सिएको छ । आफूभन्दा ठुलो झोला बोकेर सहजै हिँडेका देखिन्छन् पर्यटक । हर्ष र उमङ्गसाथ हेल्लो, हाय गर्दै अघि बढ्छन् । त्यो साहस देख्दा आफूलाई चाहिँ हीनताबोधले छुन्छ । तैपनि लगातार दुई घण्टाको कष्टकर यात्रापछि बल्ल मनाङको चामेमा प्रवेश गर्छौं । बाहिर पानी बेजोडले दर्किरहेको छ तर मनभित्र खुसी फक्रिएको छ । 

चामे बजार घुमेपछि सरासर होटेल छिर्‍यौँ । तातो पानी, चिया खाँदै ठुलो चिम्नीनजिकै बस्दा घरको सम्झनाले सताए जस्तो हुन्थ्यो । तैपनि नजिकैबाट फैलिएको धुपीको बास्नाले वातावरण उत्साहित छ । त्यहाँको रैथाने खाजा खाएपछि शरीर र जिब्रो दुवै एकैचोटि तात्छन् । नयाँ स्वादमा पिरो अत्यधिक हुँदा सास बढे जस्तो हुन्थ्यो । ‘डराउनु पर्दैन’ पसलकी नुमा दिदी भन्दै थिइन्, “यत्तिको पिरो खाएन भने त यहाँ बस्नै सकिँदैन नि ! चिसोमा ।” मस्र्याङ्दीको किनारैमा अवस्थित चामेको सुन्दरता हेर्ने रहरले रात त्यहीँ बस्ने निर्णय ग¥यौँ । रातभर जसो पानी परिरह्यो । बिहानीपख उठ्नेबित्तिकै बजारका दुवैतर्फ ठुलो पहाड देखियो । आँखैअगाडि पहेँलो र रातो रङमा हिमाल हाँसेको देख्दा कहीँ कतै आफू हराए जस्तै लाग्यो । कहिले पदमार्ग त कहिले मूल सडकमै कमिलाको ताँती झैँ हिँडेका विदेशी देख्दा मन अचम्मित हुन्थ्यो । पर्यटक अत्यधिक देखिन्थे बाटाभरि क्यामरा तेस्र्याउँदै । खोलाका दुवैतिर फैलिएको चामे बजार निकै सुन्दर रहेछ । चामेभन्दा माथि राति बाक्लो हिउँ परेको जानकारी आएपछि आतुरताकै साथ अगाडि बढ्यौँ । बढीमा आधा घण्टा गाडी दौडिएपछि नौलो तथा अनौठो संसार भेटियो ।

हिउँ नै हिउँ बाटोभरि छपक्कै देखिन्थ्यो । हिउँकै बाटो, हिउँकै घर । जति जति माथि बढ्थ्यौँ, उति नै हिउँको विराट् स्वरूप जताततै । रुखका पातमा थुप्रिएर ढिक्का परेका, हिउँ  कै पातहरू । बाटोमा दुवैतर्फ सेताम्मे हिमाल एकअर्कालाई नियाल्दै चुपचाप हाँसेका थिए । मेरा आँखा हर्षले टोलाएका थिए । त्यो समय, जादुको सरंचना, रहस्यमय छडी घुमाए झैं लाग्थ्यो । स्याउको बगैँचामा सेताम्मे हिउँकै गजबार थियो । गजबारमाथि थिए सेता कपास जस्तै हिउँ नै हिउँ ।

सानो गुम्बानजिकै हिउँ खेल्ने रहर तथा उत्सुकताले आखिरमा गाडी नै रोक्नु पर्‍यो । त्यो हिउँलाई हेर्दा लाग्थ्यो, रातभरि हाम्रै प्रतीक्षामा  टोलाएको थियो । बिस्तारै रेलिङ समाउँदै हामी केहीमाथि पुग्दा हिउँमै टक्क अडिएको बोलेरोको लस्कर तथा साना चिया पसलहरू तल देखिन्थे । हिउँको अँगालोमा हराउँदा बिस्तारै पाइलाहरू अघि बढ्दै थिए  । लामो समयदेखि डर र सङ्कोचले बेरिएको लाजको पर्दा च्यात्दै हिउँको आँगनमा पनि आफैँ डाँफे झैँ नाच्दै थिएँ । नयाँ शक्ति र ऊर्जा प्राप्त गरेको थिएँ, हिउँबाट । हिउँको स्पर्शमा हिउँको अँगालोमा ।