उचाइ त्यति धेरै त कहाँ हो र ? केवल करिब ४ हजार ७ सय मिटर मात्र न हो तर नछिचोलेको उचाइ पहिलो पटक छिचोल्दा अत्यन्तै प्रफुल्ल थियो मन । भन्नु नै पर्दा सगरमाथा चुम्दा तेन्जिङ–हिलारी के खुसी भए होलान्, त्योभन्दा बढ्तै खुसी महसुस भएको थियो त्यतिबेला ।
भिन्न भूगोल, भिन्न परिवेश, भिन्न खालका दृश्य साँच्चिकै गजब लागिरहेथ्यो, बेग्लै संसारको अनुभूति भइरहेथ्यो र अघाएको थिएन मन एउटै यात्राले । नभरिएको मन अनि नमेटिएको प्यास लिएरै फिर्ता भइएको थियो पहिलो पटक ‘फेरि आउनु पर्छ’ भन्दै । के के छुटे जस्तो के के भुले जस्तो लागिरहेथ्यो त्यतिबेला र एक प्रकारले भन्नुपर्दा फेरि आउने अठोट नै गरिएको थियो ।
पहिलो यात्रा साथीहरूसँगको सल्लाहमा तय भई सम्पन्न भएको थियो, यो दोस्रो यात्रा भने विशुद्ध पारिवारिक हो र यसको कारक चाहिँ कान्छो छोरो सुविज्ञ । अमेरिकाबाट आएको उसको घुम्ने चाहना अनि रोजाइमा मुस्ताङ पर्नुले चाहे जस्तै भयो ।
त्यसो त अचेल मुस्ताङ दूर, दुरूह र दुर्गम्य छैन, यो नजिकिएको छ, पहुँच सहज भएको छ कालीगण्डकी करिडोरको निर्माणले । यद्यपि यसको म्याग्दी–मुस्ताङतर्फको अधिकांश भाग कच्ची नै छ र डरलाग्दो पनि छ । छङ्गाछुर भिरमुनिको सडक अनि तल गहिरो गल्छी बनाएर बहिरहेको कालीगण्डकीको गहिराइ देख्दा कतिपय स्थानमा त आफसेआफ ‘रामनाम’ जप्न थाल्छन् ओठहरू !
फागुन २० गते चराङको बास हुन्छ, भोलिपल्ट बिहान चिया पिएर अगाडि बढ्छौँ । हामी फर्केर लोमान्थाङमा खाना खाने योजनाका साथ । सोही अनुसार लोमान्थाङमा अघिल्लो यात्रामा आश्रय लिएकै होटलमा पसी खाना बनाइराख्न अनुरोध गर्छौं र अघि बढ्छौँ लक्षित उचाइ टेक्ने उद्देश्यका साथ ।
०००
पहिलो र यस यात्राको कुरा गर्दा अरू भिन्नता खासै महसुस भइरहेको छैन किनकि यो भूगोल नै यस्तै हो रुखो र शुष्क, उजाड–उदास दृश्य तर कुशल कलाकारका अमूर्त कला जस्ता छन् यी विचित्र आकृतिहरू ! यी अत्यन्त मनोहारी छन् र आँखा मज्जैले रमाउँछन् यीसँग । जति पटक र जतिन्जेल हेरे पनि नौला लाग्छन् यी दृश्य ।
यस पटकको यात्रामा एउटा के चाहिँ भिन्नता देखिँदै छ भने त्यति बेला खोला गतिमान थिए, यस पटक गतिहीन छन् । ठाउँ ठाउँका हिउँ जमेका खोला छिचोल्दै छौँ हामी झ¥याम झ¥याम फुटाउँदै गाडीको चक्काले । चिसो छ भित्रैसम्म छुने, यसैले अलि अलि पनि हावा पस्न नपाउने गरी बन्द छन् गाडीका झ्याल ।
छोसेरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयमा हाम्रा विवरण टिपाउँछौँ, यो नै यहाँ राज्यको अन्तिम उपस्थिति हो अर्थात् राज्यको उपस्थिति समाप्त हुन्छ र सबै ‘राम भरोसे’ हो यसभन्दा अगाडि ।
उकालो सुरु हुन्छ यहाँबाट, हामी उकालो लाग्छौँ । अबको सडक भने फराकिलो र सजिलो छ । घुम्ती कटेर माथि पुग्दा आउँछ समथर मैदान, हुइँकिन्छौँ र पुग्छौँ गन्तव्य फागुन २१ को उज्यालो बिहानीमा ।
यसै पनि यो शान्त थलो हो, अझ यतिखेर त यहाँ बिहानी शान्ति छ यहाँ ।
०००
सुविज्ञ, दिनेश र प्रियङ्काका लागि पहिलो हो भने यो दोस्रो आगमन हो सुमित्रा र मेरो तर भिन्न छ यस पटकको अनुभूति । असीम आश्चर्यसँगै अथाह आनन्दको अनुभूति भइरहेछ अकल्पनीय भूगोलमा पाइला टेक्दा फेरि पनि !
निश्चय नै यहाँबाट देखिने भूगोल ठुलो र फराकिलो छैन, अग्ला रुखा र नाङ्गा पहाड अनि भिरपहरा छन् वरिपरि वा भनौँ तिनको घेराबन्दीमा छ यो ठाउँ तर तिनमा नै भिन्न खालको सुन्दरता छ । यहाँ प्राकृतिक सुन्दरता छ । वास्तवमा नग्नतामा हुने सुन्दरता प्राकृतिक हुन्छ जुन यहाँ छ र त्यसको मादकताले हामीलाई रोमाञ्चित बनाएको छ ।
सबैभन्दा आश्चर्य त फराकिलो मैदान पो छ यो उचाइमा ! लाग्छ यो उपत्यका नै हो र यहाँ ठाउँ ठाउँमा हिउँका थुप्रा छन् ।
‘अलि अलि सम्यायो भने अन्तर्राष्ट्रिय विमानस्थल नै बनाउन पुग्ने खालको पो रहेछ !’ पहिलो पटक पुगेकाहरू भन्छन् तर कच्ची सडक नै भर्खर भर्खर पुगेको छ यहाँ र मानवीय उपस्थिति नै न्यून छ ।
०००
खल्तीबाट मोबाइल निकालेर हेर्छु, समय त दुई वटा पो देखिन्छ ! एउटा बिहानको ९ र अर्को ११ ।
देखेर तीन छक्क पर्छु ! होइन के आश्चर्य हो यो ? जहाँ पुग्यो त्यहाँको समय देखाएको अनुभव त थियो तर एकसाथ दुई वटा समय पो देखाउँछ यसले ? समयको अन्तर चाहिँ झन्डै दुई घण्टाको छ ।
साँच्चिकै चामत्कारिक विकास भएको छ प्रविधिको । नसोचेका धेरै कुरा भएका छन् । त्यसो त हरेक पछिल्लो पुस्ता अघिल्लो भन्दा भाग्यमानी नै हुन्छ किनकि पछिल्लो पुस्ताले अघिल्लाले भन्दा नयाँ र नौला अनुभूति गर्ने अवसर पाउँछ तर म आफूलाई असाध्य भाग्यमानी यसकारण ठान्दछु कि कल्पनातीत धेरै कुराको प्रयोग गर्न पाएको छु । जीवनयात्राको प्रारम्भदेखि झन्डै तीनबिस पुग्दै गरेको जीवनको यो उत्तरार्धसम्मका अनुभूतिहरू स्मरणमा आउँछन् र म आफैँसँग मौन संवाद गर्छु केहीबेर ।
०००
उता छिमेकको भूमि पर्छ काँडेतारको बारले छुट्याएको । बडेबडे भौतिक संरचना छन् त्यहीँनेर । उता पाइला परेका होइनन्, पर्न सम्भव पनि छैन, किनकि कडा पहरेदारी छ उताको, वरैबाट नियाल्नेसम्म हो तर हाम्रा पाइला पो त रोकिन्छन्, समयलाई, आँखाका दृष्टिलाई यस्ता कृत्रिम सीमाले कहाँ रोक्न, छेक्न सक्छन् र ?
सीमाको कुरा गर्दा हाम्रो सीमा रक्षक सशस्त्र सुरक्षा बल उतै चौध किलोमिटर परै, तलै छ र यहाँ यो उचाइमा हाम्रो अर्थात् ‘राज्य’ को उपस्थिति नाम मात्रको दसगजा सूचक ‘प्रवेश निषेध’ को चेतावनी अङ्कित, नजिकै गएर नियाल्नुपर्ने एउटा फुच्चे बोर्डमा अडेको छ । अनि अलि पर वास्तविक सीमामा उभिएको छ एउटा स्तम्भ निधारमा रातो रङमा ‘नेपाल २४, २०१९’ को टीका टाँसेर जसको उचाइ पनि उल्लेख्य छैन ।
आकारले सानोठुलो हुनु भिन्न कुरा हो, स्वाभिमानका दृष्टिले देश सानोठुलो हुँदैन । सबैका लागि आफ्नो स्वाभिमान ठुलो हुन्छ । हामीले कसैको पराधीनता स्वीकार नगरेका हुँदा हाम्रो स्वाभिमान विशेष र विशिष्ट छ, जसमा हामीलाई गर्व छ । हामीलाई आफ्नो इतिहासप्रति गौरव छ ।
०००
सृष्टिकर्ताले मानिसलाई लड्न, भिड्न र विभाजित हुन बनाएको होइन । बुद्धिमान यो प्राणीमध्ये कसैलाई सामान्य र कसैलाई विशेष बनाएको पनि होइन, स्वार्थी मानिसको चव्रmव्यूहमा परेर टुव्रिmएको हो धरती र कोरिएका हुन् सबै सीमारेखा । जसले तेरो र मेरो गराएको छ । जसले मान्छेका बिचमा दुरी बढाएको छ । वैमनस्य उत्पन्न गराएको छ । स्वार्थमा बाधा पुग्दा असहिष्णु बन्ने प्रवृत्ति जगाएको छ, लाग्छ यी सीमा नभइदिएको भए कति आनन्द हुन्थ्यो । कस्तो हार्दिकता हुँदो हो मानिस मानिसका बिच र यसो भए धरती नै स्वर्ग हुन्थ्यो !
म केहीबेर यिनै कुरामा अलमलिन्छु ।
०००
जिज्ञासु दृष्टिहरू कुतूहल बोकेर दौडिरहन्छन्, कहिले यता कहिले उता र नियाल्छन् चारैदिशा पर परसम्म ।
आँखा देखिएसम्म हेर्दै छन् सीमा पारिका दृश्य । हाम्रातिर देखिए जति सुक्खा नग्न पहाड नै भए पनि उता अलि पर बाक्लै रुख छन् झुरुप्प र त्यसभन्दा पर दुई चार घर देखिन्छन् । अघिल्लो यात्रामा लोमान्थाङस्थित एभरेस्ट गेस्ट हाउसका साहु साङ्बो गुरुङले भनेका थिए, ‘त्यहीँ हो बेला बेलामा किनमेल गर्न जाने । यताका सामान उता र उताका यता ल्याउने लैजाने ।’ भन्थे ‘बेला बेला केही दिनका लागि खुल्ने सीमा कोरोना पछि बन्द भएकाले निकै गाह्रो भएको छ ।’ तिब्बती पठारको एउटा भाग हो, यो जहाँ हामी उभिएका छौँ ।
त्यसो त हिउँको अभाव छैन यहाँ र शिरमा हिउँका थुप्राथाप्री बोकेका पत्थरिला वनस्पतिहीन धारिला टाकुरा छन् । छेउछाउ तर दक्षिणतिर उ.. पर–पर देखिन्छन् वास्तविक हिमाल टाढा टाढा जसलाई टेक्दै नटेकी नाघेर हामी यहाँसम्म आइपुगेका छौँ ।
हुरुरुरु चलिरहेको छ चिसो हावा । गति तीव्र छ उडाउला जस्तो । शरीरमा बाक्ला ज्याकेट छन्, टाउकामा बाक्ला टोपी छन्, कानसम्म छोपिने र मात्र, नत्र त यहीँ थला पाथ्र्यो होला ! बतासको भाषा बुझिनसक्नु हुन्छ, प्रकृतिको लयसँग उसको सुर ताल मिलेसम्म राम्रै हुन्छ । अन्यथा यसले रौद्र रूप लिन सक्छ । त्यतिबेला यसले के गर्छ, के गर्दैन अनुमान गर्न असम्भव हुन्छ ।
स्वभावतः साउती मार्ने हावा सुमधुर हुन्छ, मिठो लाग्छ तर वेगिलो हुनासाथ त्यो बतास, आँधी र हुरीमा परिणत हुन्छ र अनेकौँ जोखिम उत्पन्न गरिदिन्छ । मै हुँ भनेर अग्लिएका संरचना, रुखपात आदिलाई लछारपछार पारिदिन्छ, ढुन्मुन्याइदिन्छ, यसैले हावासँग वैमनश्य राख्नै सकिँदैन तर यससँगको सम्बन्ध बडो होसियारीपूर्ण हुनु पर्छ ।
सहयात्रीहरू खिचिरहेछन् हाते फोनमा फोटो, बेलामौका म पनि मिसिन्छु तीसँग तर म यहाँ यो दुर्लभ भूदृश्यमा रमाएको छु र आफ्नै दुनियाँमा हराएको छु ।
०००
‘लेक लाग्छ है, धेरैबेर बस्नु हुँदैन यहाँ, ढिलो नगरौँ, फोटो खिचौँ फटाफट र ओर्लौं’ फर्कने मन छैन, अझै अलिबेर यतै अल्मलिऊँ, यही बताससँग बात मारिरहुँ, बतासका गीत–सङ्गीत सुनिरहुँ लागिरहेछ तर पनि म सहयात्रीहरूलाई झक्झक्याउँछु । अगुवा र अभिभावक भएपछि सबैको स्वास्थ्य, इच्छा सबै कुरा हेर्नु, बुझ्नु र तालमेल मिलाउनु पर्ने हुन्छ । म त्यो भूमिकाप्रति सजग हुन्छु ।
०००
उभिएका छौँ सिमानामा तर अहँ देशको निसानी केही छैन । मन खोजिरहन्छ त्यही झन्डा, जुन चराङमा बास बसेको होटलमा झोलामै छुटेको छ यता हिँड्ने हतारमा । चुक्चुकाइरहेको छु म आफ्नै गल्तीमा !
यत्तिकैमा मोटरसाइकल यात्री टुप्लुकिन्छन् नेपालको राष्ट्रिय झन्डा फहराउँदै । ऊ...परै तिनलाई देखेर खुसी हुन्छौँ । मनको इच्छा पूरा हुँदा खुसी नहुने को नै हुन्छ र ?
हामीले तीसँग सहयोग माग्छौँ, झन्डाछेउ उभिएर फोटो खिच्छौँ तिनकै सहयोगमा । आफ्नो साथमा ल्याएको झन्डा होटलमै छुटे पनि यहाँ भेटिएको अर्को झन्डाले सीमामा झन्डासँग फोटो खिच्ने इच्छा पूरा हुन्छ ।
विश्वकै एक मात्र भिन्न र आकारको विशिष्ट झन्डा लिएर फोटो खिचिरहँदा मन अपार हर्षले गद्गद् हुन्छ ।
०००
ऐतिहासिक बस्ती छ ‘छोसेर’ यहाँबाट झन्डै चौध किलोमिटर ओर्लेपछि, यो नै यस भेगको अन्तिम बस्ती हो । छोसेरका भित्तामा प्राकृतिक गुफा र गुम्बा छन्, जुन निकै प्रसिद्ध छन् । तिनको प्राचीनताका बारे अध्ययन भइरहेको छ । तिनको अवलोकन अबको लक्ष्य हो । त्यसपछि लोमान्थाङको प्राचीन–ऐतिहासिक बस्तीको अवलोकन गर्ने, खाना खाने र बाटो लाग्ने योजना छ हाम्रो । सोही अनुसार हामी ओरालो लाग्छौँ ।
न स्वागतमा मिठो मुस्कान छ न बिदाइमा हल्लने हातहरू नै छन् ! निर्जन छ यो काँडेतार बाहिरको देखिएसम्मको फराकिलो आँगन । आगमनमा आफँै आफ्नो स्वागत गरेका हामी आफैँ आफूलाई बिदाइ गर्छौं र फोहोर मैला तथा प्रदूषणको प्रहारबाट सुरक्षित कुमारी कोरलाको सुन्दर चित्र आँखाभरी सजाउँदै उसको चिसो काख छाडेर छोसेरतर्फ ओर्लन्छौँ कामना गर्दै कि कोरला माथि कसैको कुदृष्टि नपरोस् र शुभकामना दिँदै कि कोरलामा नेपाल र नेपालीको पहिचान र नेपाली स्वाभिमानको प्रतीक नेपाली झन्डा नेपालको प्रतिनिधि बनेर छिट्टै उभियोस् र वेगिलो बतासमा निरन्तर फर्फराई रहोस्, यहाँ पुग्ने हरेक नेपालीलाई आफ्नो भूमिको गौरव महसुस गराओस् ! मधुपर्क
पोखराथोक, माडी, पाल्पा