• २५ माघ २०८१, शुक्रबार

यो समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो : प्रचण्ड

blog

धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काभ्रे, माघ २५ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। 

उहाँले अहिले देशभर भइरहेका भेला र प्रशिक्षणलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो। ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभर भेला र प्रशिक्षण गरेका थियौं’ उहाँले भन्नुभयो, ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरु गरिरहेका छौं, यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो।’

जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई विरोधीले अपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो।

शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिस्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ता बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको उहाँले स्पष्ट गर्नुभयो। 

शान्ति प्रक्रिया र संविधान लेखनहुँदै यहाँसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीबिच एउटा कालखण्ड पार गरिएको उल्लेख गर्दै उहाँले अब पार्टी सम्पूर्ण रुपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने बताउनुभयो।