• २८ फागुन २०८१, बुधबार

कुमारी सहकारीमा बचतकर्तालाई प्रमाणसहित निवेदन गर्न आह्वान

blog

कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अमृतप्रसाद पौडेल
म्याग्दी, माघ २५ गते ।
आर्थिक अपचलन भएको भन्दै पाँच जनालई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीले निवेदन दिन आह्वान गरेको छ ।

सहकारी संस्थाका पूर्व सञ्चाकसमिति तथा पूर्व व्यवस्थापकलाई समेत गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासवुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायतका प्रमाणको सक्कलसहित निवेदन दिन सूचना गरेको छ ।

बचतकर्ताहरुलाई आफ्नो रकम जम्मा गरेका प्रमाणको सक्कल प्रतिसहित नै प्रहरी कार्यालयमा उपस्थितिका लागि आह्वान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले माघ २० गते संस्थाका पूर्व अध्यक्ष रघुगंग गाउँपालिका–५ झिँका ६७ वर्षीय मनप्रसाद थजाली, पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षीय राजकुमार थापालाई गिरफ्तार गरेको थियो । सोही दिन नै अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षीय थमबहादुर गर्बुजा, संस्थाका पूर्व व्यवस्थापक (प्रबन्धक) पर्वत लेखफाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षीय देवी कुमारी थापालाई गिरफ्तार गरेको थियो ।

सहकारीका वर्तमान तथा पूर्व पदाधिकारीहरुले आर्थिक अपचलन गरेको भन्दै गएको माघ २० गते पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले सहकारी संस्थामा रहेका प्रमाणहरु दुरुपयोग हुन सक्ने आशङ्कासहित माघ २३ गते सहकारी सिल गरेको थियो । साथै २१ माघकै मितिमा प्रहरीले सहकारीका पीडितहरुलाई निवेदन दिन समेत आह्वान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलका अनुसार थप अनुसन्धान गर्नका लागि सहकारी सिल गर्नुका साथै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइएको छ ।

पहिलो पटक आइतबारै तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले बुधबार पुनः जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

सहकारी रजिष्टार कार्यालय पोखराको चलानी नं. ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेकाले प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलेल पीडितहरुबाट माग गरेअनुसार निवेदनहरु आउने क्रम जारी रहेको बताउनुभयो । सञ्चालकहरुले केही बचतकर्ताको रकम फिर्ता पनि गरेको हुनाले फिर्ता हुन बाँकीको निवेदन माग गरिएको उहाँको भनाइ छ ।