• २५ माघ २०८१, शुक्रबार

प्रविधिमैत्री बन्दै स्थानीय तह, हात हातमा सेवा

blog

मोबाइलमै सिफारिस प्राप्त गरेका तुलसीपुर ६ डिबि किराना पसलका सञ्चालक । तस्बिर: गोरखापत्र

तुलसीपुर, माघ २५ गते । गाउँ गाउँमा सिंहदरबार भन्ने नारा अब नारामै मात्रै सीमित रहेन, यसको कार्यान्वयनसमेत हुन थालेको छ । खुल्ला सरकारको अवधारणा ल्याएसँगै तीन तहकै सरकारले नागरिकको हात हातमै सेवा पुर्याउन थालेका छन् । 

तीन तहकै सरकारले डिजिटल मैत्री सेवाका लागि नीति, कार्यक्रम र बजेटमा समावेश गरेता पनि दक्ष जनशक्तिको अभावमा भने सेवा प्रवाहमा अपेक्षित सफलता पाउन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट एप्समार्फत् नागरिकले घरबाटै सेवा प्रवाहमा जोडिनका लागि सिधै गुनासा, समस्या राख्नका लागि हेलो तुलसीपुर, स्मार्ट कर, ई सिफारिस, वडा, योजना, व्यापार, राजपत्र, पर्यटकीय स्थलका बारेमा समेत समावेश गरिएको सूचना प्रविधि अधिकृत सविन केसीले जानकारी दिनुभयो ।

डिजिटल मैत्री शुद्घोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१।८२ को नीति बजेटमा एकीकृत सफ्टवेयर, एआई, केन्द्रीकृत सिस्टम र फाइल सर्भर व्यवस्थापन, कार्य सम्पादन विद्युतीय प्रणाली, डिजिटलाइज्ड अभिलेख व्यवस्थापन समावेश गरेको छ । इ सिफारिस कार्यान्वयनका लागि १० लाख र केन्द्रीकृत सिस्टमका लागि चार लाख बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले समेत नीति, बजेट कार्यक्रममा नागरिकलाई प्रविधिमैत्री सेवा प्रवाहका लागि समावेश गरेको छ । 

प्रविधिमा जोडिँदै नागरिक 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का पविन्द्र केसी हतार हतारमै देखिनुहुन्थ्यो । उहाँ सम्पत्तिको मूल्याङ्कन गरी बुहारीलाई अस्ट्रेलिया पठाउने ध्याउन्नमा हुनुहुन्थ्यो । ६ वर्षअघि पविन्द्रले छोरालाई पठाउँदासमेत सम्पत्ति मूल्याङ्कन गर्न वडामा आउनुभएको थियो  । त्यो बेला दुई तीन दिन लागेको सोही काम अहिले वडा कार्यालयमा आउँदा २० मिनेटमै सकियो । खुसी मुद्रामा देखिनुभएका पविन्द्र प्रविधिको उपयोग गर्न थालेपछि काम छिटो र सहज भएको बताउनुभयो ।  “अहिले त वडाको काम तत्कालै भइहाल्ने भएपछि पहिलो जस्तै गरी समय दिनु नपरेपछि धेरै सहज भयो । अब सबै सेवालाई यसै गरी डिजिटल बनाउनुपर्यो” उहाँले भन्नुभयो । 

वडाले नक्सा पास, मूल्याङ्कनका साथै दर्तासमेत डिजिटल माध्यमबाटै गर्न सुरु गरेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीले बताउनुभयो । उहाँले गत वर्षदेखि प्रारम्भिक चरणमा डिजिटल सिफारिसको काम सुरु गरेको भए पनि अब यो वर्षदेखि पूर्ण रुपमा कार्यान्वयनमा लैजाने बताउनुभयो । 

भण्डारीले भन्नुभयो– “अब वडाबाट दिइने सिफारिसका लागि वडामै धाउनुपर्ने बाध्यता हट्यो । वडाध्यक्ष भएपछि सिफारिसकै लागि मात्रै भए पनि वडामै आउनुपर्छ भन्ने होइन । वडाध्यक्षलाई संविधानले धेरै अधिकार दिएको छ । विकास निर्माणमा समस्या आउँछन्, त्यति मात्रै होइन आफूले निर्वाचित गरेको जनप्रतिनिधि सुखमा पनि दुः.खमा पनि साथ दियोस् भन्ने हुँदो रहेछ । बिहे, पूजा, जन्मदेखि मृत्यु संस्कारमा समेत पुग्नुपर्छ । अब वडाध्यक्ष नआएर वडामै सेवाग्राही बस्नु पर्दैन, उहाँ जहाँ हुनुहुन्छ त्यहीबाट सेवा दिन सक्छौँ ।’ 

लुम्बिनी प्रदेशका पालिकाहरूले  नागरिकहरूलाई सहज, सरल सुविधाका लागि डिजिटल मैत्री सेवा सुरु गरेका छन् । शुद्घोधन  गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कमलप्रसाद खड्का क्षेत्रीले डिजिटल सेवा सुरु गरेसँगै नागरिक वडामै मालपोत, सिफारिसका सेवा घरबाटै प्राप्त गर्न थालेको बताउनुभयो । उहाँले गाउँपालिकावासी संसारको जुनसुकै कुनामा बसे पनि आफू बसेकै ठाउँबाट सेवा सेवा लिन सक्ने सबै तयारी गरेको बताउनुभयो ।  

अध्यक्ष विष्णुप्रसाद बस्यालले  यो विषयमा दक्ष बनाउन र सेवाग्राहीलाई पनि सहज बनाउन डिजिटल सेवा प्रवाहका लागि सात वटै वडामा तत्कालका लागि स्वयंसेवक खटाइएको बताउनुभयो । उहाँले प्रविधिमैत्री सेवा प्रदानका लागि प्रदेश सरकार, योजना आयोगसँग  प्रस्तावना पेस गरेर योजना माग गरिएको बताउनुभयो । अध्यक्ष बस्यालले पालिकाभित्र डिजिटल मैत्री सेवा सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव  रहेको र सेवा प्रदान गर्नका लागि कर्मचारी र जनप्रतिनिधि दुवैले सेवाका बारेमा जानकारी लिनुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हामीले फोनसमेत चलाउन जानेका थिएनाैँ तर अहिले सबैको हातमा प्रविधिसहितका मोबाइल फोन प्रयोग गरिरहेको छौँ, यसैका माध्यमबाट सेवा समेत चलाउन सक्नुपर्छ ।  अब प्रविधिमा पोख्त नहुने जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीलाई समस्या पर्ने भयो ।”

पालिकाका उपाध्यक्ष शान्तिदेवी ज्ञवालीले न्यायिक समितिमा आउने सबै मुद्दाहरूसमेत डिजिटल प्रविधिबाटै दर्ताको व्यवस्था गर्न थालिएको बताउनुभयो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले प्रविधिको प्रयोग गर्दै योजना कार्यान्वयनको काम सुरुवात गरिएको बताउनुभयो । उहाँले प्रविधिको प्रयोगसँगै योजनामा दोहोरोपना घटेको र पालिकाका सम्पत्ति विवरणसमेत प्रविष्ट  गरिएको बताउनुभयो । 

सूचना प्रविधि अधिकृत ईश्वरी प्रसाद न्यौपानेले एकीकृत तथ्याङ्क प्रणालीबाट  सम्बन्धित शाखाको सम्पूर्ण विवरण राख्न सकिने र विवरणकै आधारमा बजेट, योजना कार्यक्रम कार्यान्वयन गरिएको बताउनुभयो । 

वडा नम्बर ४ का वडा सचिव हरिलाल उपाध्यायले युवाहरू स्वदेशमै नभएकाले प्रविधिमैत्री सेवा प्रदान गर्नका लागि कठिनाइ उत्पन्न भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई  डिजिटल सिफारिस, सम्पत्ति कर तिर्नका लागि समस्या उत्पन्न हुने गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी दुवैलाई दक्षताका साथै आवश्यक सामग्रीको व्यवस्था भए वडावासीलाई घरबाटै सेवा दिन सकिने बताउनुभयो । वडा नम्बर ४ का ६४ वर्षीय रामप्रसाद चौधरीले पालिकाले डिजिटल सेवा सुरु गरेता पनि आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउनुभयो । चौधरीले भन्नुभयो–“म ६४ वर्षको भएँ, फोन पनि चलाउन आउँदैन, इन्टरनेटको त परैको कुरा हो । मलाई अरू विषय के थाहा हुनु र ?” 

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले डिजिटल सेवाका कारण नगरवासीलाई सरल र प्रभावकारी सेवा प्रदान गर्न सकिएको बताउनुभयो । उहाँले पालिकाभित्रबाट सिसिटिभीको अनुगमनको व्यवस्था गरेकाले चोरी, अपराधका घटनाहरू घटेको बताउनुभयो । उहाँले प्रविधिमैत्री सेवाका कारण वित्तीय अनुशासन, समयको बचत, पारदर्शिता, सेवा सुविधा प्रभावकारी ढङ्गले सञ्चालन गरेको बताउनुभयो । उहाँले घरबाटै राजश्व तिर्न सकिने व्यवस्था र नक्सा पास, पालिकाका विज्ञापनहरूमा अनलाइन दर्खास्त व्यवस्था गरेकाले पालिकाले गरेका विज्ञापनमा ७७ वटै जिल्लाबाट दर्खास्त पर्ने गरेको बताउनुभयो । पालिकाभित्र ४६ वटा सिसिटिभी क्यामेरा जडान गरी सञ्चालनमा रहेको र बाँकी क्षेत्रमा समेत जडान गरिने जसबाट खोलाबाट हुने नदीजन्य पदार्थको चोरी निकासीसमेत बन्द  भएको बताउनुभयो । उहाँले अन्य पालिकाले समेत खोलामा जडान गर्दा चोरी निकासी बन्द हुने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले १९ वटै वडामा डिजिटल सिफारिसका लागि नीति, कार्यक्रम, बजेटमा समावेश गरेको र अब कार्यान्वयन प्रक्रियामा रहेको बताउनुभयो । उहाँले डिजिटल हस्ताक्षरको प्रक्रियामा अघि बढेको बताउनुभयो । नगर प्रमुख खड्काले प्रारम्भिक चरणमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १९ वटै वडाका वडाध्यक्ष र वडा सचिवको डिजिटल सिफारिस तयार पारिएको बताउनुभयो । उहाँले क्रममा अन्य शाखा,स्वास्थ्य संस्थामा रहेका प्रमुखहरूको समेत डिजिटल सिफारिस तयार पारिने बताउनुभयो । 

पत्रले ठग्यो तर प्रविधिले रोक्यो

एक महिना अघि मात्रै तुलसीपुर उपमहानगरपालिकाले विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । शिक्षा शाखाको आयोजना गरिएको चित्रकला प्रतियोगितामा कक्षा दशदेखि माथि पढ्दै गरेका विद्यार्थीहरूलाई समावेश गर्ने  रहेको पालिकाको परिपत्र थियो । एक विद्यालयले कक्षा ८मा पढ्दै गरेका विद्यार्थीलाई कक्षा दशमा पढ्ने गरेको पत्र पठाएर कार्यक्रममा सहभागी हुन पठायो तर निर्णायक मण्डलले ती विद्यार्थीको  इ एम आइ एस विवरणमा हेर्दा कक्षा ८ मा पढ्दै गरेको तथ्य प्रमाण भेटिएपछि ती विद्यार्थीलाई उक्त प्रतियोगितामा सहभागी नगराइएको शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले बताउनुभयो । 

तीन साताअघि मात्रै महिला विकास शाखाले आधारभूत तहसम्म अध्ययन गर्दै गरेका विद्यार्थीबिच चित्रकला प्रतियोगिता आयोजना गयो तर सोही प्रवृत्ति दोहोरिएपछि निर्णायक मण्डलले विवरण मागेर जाँच गर्दा ती विद्यार्थी कक्षा १० मा पढ्दै गरेको भेटिएको महिला विकास शाखाका प्रमुख माया श्रेष्ठले बताउनुभयो । एक वर्षअघि तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा वडाबाट ज्येष्ठ नागरिकको विवरण माग्दा ७८ वर्ष पुगेका व्यक्तिलाई ८४ वर्ष पुगेको विवरण पठाए तर पञ्जीकरण शाखाबाट तत्कालै विवरण माग गर्दा केही ज्येष्ठ नागरिक ८० वर्ष नै नपुगेको भेटियो ।  सूचना प्रविधि अधिकृत सविन केसीका अनुसार  उपमहानगरपालिकाले डिजिटल हाजिरी सुरु गरेसँगै कर्मचारी समयमै आउने र कुनै समस्या परे समयमै बिदा माग गर्ने गरेको बताउनुहुन्छ । तुलसीपुर उपमहानगरपालिकाले डिजिटल सेवाका लागि तथ्याङ्क ऐन नै जारी गरेको छ भने इ सिफारिसका लागि समेत ऐन बनाएको विधानयन समितिका संयोजक भीमबहादुर योगीले जानकारी दिनुभयो ।

Author

गोकर्ण पौडेल