बुलबले समाचारदाता
सुर्खेत, माघ २५ गते । भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउन थप सहज भएको छ । मन्त्रीपरिषद्को बैठकले आयोजना निर्माण स्थलमा रहेका रुख कटानको अनुमति दिएसँगै भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने बृहत् योजना कार्यान्वयनको बाटो खुलेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रुख कटानको अनुमति दिने निर्णय गरेको हो । वीरेन्द्रनगर र लेकबेँसी नगरपालिकामा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको हो । जग्गा भोगाधिकारसहित रुख कटानको अनुमति पाएकाले अब थप कानुनी प्रक्रिया पूरा गरेर काम अघि बढाइने छ । मन्त्रीपरिषद्ले रुख कटान अनुमति दिएसँगै आयोजनाको काम तीव्र गतिमा अघि बढ्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो ।
भेरी लिफ्टिङ आयोजना अन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको सर्भेको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत पाँच वटा ठुला ट्याङ्की निर्माण गरिने छ । सुरुवाती चरणका काम धमाधम अघि बढेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । उहाँका अनुसार पाइपलाइन विस्तारको प्रि–फिजिबिलिटी अध्ययनको काम धमाधम भइरहेको छ ।
भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भई काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइ कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेसनल इकोनमी एन्ड टेक्निकल कोअपरेसन कम्पनी लिमिटेडबिच ठेक्का सम्झौता भएको हो ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको आयोजना एकाइका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेन्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । सङ्घीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा सङ्घीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठुलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजना बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत खर्च विश्व बैङ्कले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।
आयोजना अन्तर्गत भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत अमृतडाँडामा पानी ल्याइने छ । अमृतडाँडामा रिजर्भेसन ट्याङ्की निर्माण हुने छ । उक्त स्थानबाट मुख्य प्रसारण लाइनमार्फत उपत्यकामा पानी वितरण गरिने छ । आयोजनाको पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्भेसन ट्याङ्की निर्माण, मुख्य पानी प्रसारण लाइन विस्तारलगायतका काम गरिने बताइएको छ ।
दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका काम अघि बढाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको ठेक्का सम्झौता गरिएको हो । वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन विगतका वर्षमा सङ्घीय र प्रदेश सरकारले पटक पटक बजेट विनियोजन गर्ने गरेका थिए । योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको सङ्कट छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गरिँदै आएको छ ।