महिलामा देखिने पाठेघरको मुखको क्यान्सर नेपालमा दोस्रो नम्बरमा पर्छ । पहिलो स्तन क्यान्सर हो । पाठेघरको क्यान्सरबाट दैनिक छ जना पीडित हुन्छन् भन्ने त्यसमध्ये चार जनाको मृत्यु हुन्छ । विकसित देशमा महिलामा हुने क्यान्सरको करिब छ प्रतिशत छ भने नेपालमा यो रोग क्यान्सरमध्ये करिब १५ प्रतिशत रहेको छ । विकसित देशमा भने जनचेतना तथा समयमा हुने प्रभावकारी स्क्रिनिङ कार्यक्रमको कारणले यो रोग निकै कम हुँदै गएको छ ।
पाठेघर (गर्भाशय) को मुखमा असामान्य परिवर्तन हुन गई त्यहाँका कोष–कोषिकामा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गिर्खा वा घाउ बन्छ । शरीरको अन्य भागमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेको यस्ता गिर्खा वा घाउलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ ।
प्रमुख कारण
जुनसुकै उमेरमा लाग्न सक्ने यो रोग, कम उमेरमा लागेमा बढी खतरा हुन्छ । क्यान्सरको ९५ प्रतिशत ४०–५० वर्ष उमेर समूहमा देखिने गरेको छ । नेपाल जस्तो राष्ट्रमा स्क्रि निङ कार्यक्रमको अभाव तथा ढिलो एवं फैलिइसकेको अवस्थामा मात्र उपचारका लागि आउने बिरामीको व्यवहार, रुग्ण आर्थिक अवस्था र अशिक्षा मूल रूपमा जिम्मेवार रही मृत्युको मुख्य कारण बनेको छ । पाठेघरको मुखको क्यान्सर शारिरीक वा यौनसम्पर्कमा छालाबाट छालामार्फत एकअर्कामा सर्ने भाइरस एचपिभीसँग सम्बन्धित पाइन्छ । करिब दुई सय प्रकारका एचपिभीमा १३ प्रकारकाले मात्र क्यान्सर निम्त्याउँछन् । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभी १६ र १८ को सङ्क्रमणले भएको देखिन्छ भने नेपालमा ९० प्रतिशत ।
कलिलै (१८ वर्षभन्दा कम) उमेरमा विवाह, कलिलै उमेरमा यौनसम्पर्क, कम उमेरमा बच्चा जन्माउने तथा दुईभन्दा बढी पुरुषसँग यौनसम्पर्क भएका वेश्यावृत्तिमा लागेका तथा बहुविवाह भएका महिला तथा पुरुषका धेरै यौनसाथी भएका जोखिममा पर्छन् । त्यस्तै छिटो छिटो समयमा र बढी सन्तान जन्माएका महिला, खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला, ४० वर्ष उमेर कटेका, मोटोपना, रोगसँग लड्ने क्षमता कम भएका, पहिलेको प्यापस्मेयर खराब भएका, यौन रोग तथा गुप्ताङ्गका दीर्घरोगको उपचार नगर्ने, एचपिभी, हरपिस भाइरसको र अन्य यौन सङ्क्रमण भएका महिला तथा पाँच वर्र्षभन्दा लामो समयसम्म गर्भनिरोधक चक्की प्रयोग गरिरहे, मोटोपना, शारीरिक निष्क्रियता र धूमपानी भए सम्भावना बढेर आउँछ ।
लक्षण
क्यान्सरको सुरुको अवस्थामा परीक्षणको क्रममा मात्र फेला पर्छ । असामान्य रूपमा योनिबाट रक्तश्राव हुने ९० प्रतिशतमा पाठेघरमा क्यान्सर हो । महिनावारी सुकिसकेका महिलामा योनिबाट रगत देखिनु क्यान्सरको लक्षण हुन सक्छ ।
क्यान्सर बढ्दै गएपछि गुप्ताङ्गबाट गन्हाउने तथा रगत मिसिएको अस्वाभाविक तरल पदार्थ बग्छ । यौनसंसर्गमा बढी पीडा हुन्छ तथा पछि वा लगत्तै रगत देखिन सक्छ । महिनावारीको बिचबिचमा, महिनावारी नभएको समयमा पनि योनिबाट रगत देखिन सक्छ । महिनाबारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्छ । लामो रक्तश्रावका कारण रक्तअल्पता हुन्छ ।
रोग ज्यादै फैलिएको अवस्थामा पानी बग्ने, कम्मर दुख्ने, तल्लो पेट दुख्ने, सुन्निने र हावा भरिए जस्तो हुने, मूत्र त्यागपछि मूत्रासयमा पीडा र गाह्रो अनुभव, खुट्टा सुन्निने, दिसापिसाबमा रगत देखा पर्ने र दिसापिसाबमा अप्ठ्यारो र शारीरिक तौल अस्वाभाविक बढ्ने वा घट्ने जस्ता लक्षण हुन सक्छ । यो क्यान्सर पनि अरू क्यान्सर जस्तै पाठेघरमा सुरु भएर शरीरको अन्य भागमा फैलिन सक्छ ।
निदान
विशेषज्ञबाट नियमित रूपले आफ्नो पाठेघर तथा प्रजनन अङ्गको परीक्षण गराउनु पर्छ । नियमित प्याप स्मेर, एचपिभी डिएनएलगायतका परीक्षण गराउनु पर्छ । व्यवस्थित पूर्वपरीक्षण स्क्रिनिङ कार्यक्रमलाई स्त्री रोग परीक्षणको अभिन्न भागका रूपमा हेरिनु पर्छ । रोग निदानका लागि प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली वायोप्सी जाँच्न पठाइन्छ र क्यान्सर लागेको टुङ्गो लाग्छ । कोन वायोप्सी तथा कल्पोस्कपिक बायोप्सी इत्यादि उपाय पनि छन् ।
उपचार
सुरुकै अवस्थामा पत्ता लगाई उपचार गरेमा पाठेघरको मुखको क्यान्सर निको पार्न सकिन्छ । रोगको प्रकृति, फैलावटको अवस्था आदिमा उपचारको प्रभावकारिता र परिणाम निर्भर गर्छ । उपचारमा बिरामीको स्थिति र रोगको प्रकृतिको आधारमा चिकित्सकले एक वा दुवै रेडियोथेरापी वा शल्यक्रिया वा संयुक्त रूपमा प्रयोग हुन्छ । पौष्टिक आहार, बिरामीको स्याहारसुसार तथा पारिवारिक स्नेहको पनि रोगको फैलावट र निकोमा महत्व रहन्छ ।
रोकथाम
जनचेतनाका साथै किशोरीमा खोप र ३० देखि ४९ वर्ष उमेरका महिलामा स्क्रिनिङ नै रोकथामा खम्बा हुन् ।
एचपिभी खोप अभियान
ह्युमन प्यापिलोमा भाइरस पुरुषको शरीरमा सुषुष्तावस्थामा रहन्छ । यस्तो पुरुषसँग सम्बन्ध बनाउने महिलाको शरीरमा भाइरस पाठेघर मुखको क्यान्सरको कारण हुन सक्छ । किशोरीमा रोकथामका लागि सन् २००६ देखि विश्वका १४५ बढी मुलुकमा प्रचलनमा रहेको खोपले एचपिभी ६,११,१६ र १८ विरुद्ध लड्न सक्ने क्षमता दिन्छ । नेपालमा राष्ट्रिय खोप सल्लाहकार समितिको असोज २३ को बेठकले मन्त्रालयलाई सिफारिस गरेको थियो जस्का आधारमा कात्तिक ८ मा खोप दिने निर्णय भएको थियो ।
सङ्घीय सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई कक्षा ६ देखी १० मा अध्ययनरत छात्रालाई विद्यालय परिचयपत्र तथा १० देखि १४ वर्ष उमेरका किशोरीलाई उमेर खुल्ने कागजात हेरेर एचपिभी खोप लगाउँदै छ । विद्यालय केन्द्रित खोप भएकाले १८ हजार नौ सय विद्यालय र आठ हजार दुई खोप केन्द्रबाट २७ हजार स्वास्थ्यकर्मी, सुपरीवेक्षक १५ हजार ६७५ र स्वयंसेवक ५४ हजार १६० बढी परिचालन हुँदै छन् । खोप खरिद, तयारी र अभियानमा गाभी र नेपाल सरकारको संयुक्त लगानी छ । एचपिभी खोप अभियानका लागि खरिद गरिएको खोप चिनियाँ कम्पनी इनोभ्याक्सद्वारा उत्पादित सिकोलिन ब्रान्डको हो र एक मात्रा लगाए पुग्छ ।
पाश्र्वप्रभाव
विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित सन् २००६ देखि प्रयोगमा आएको विश्वमा १४५ देशले प्रयोग गरिरहेका छन् भने एक मात्रा खोप ४६ देशमा छ । औषधी व्यवस्था विभागले समेत अनुमति दिएको यस खोपको ठुलो पाश्र्वप्रभाव छैन । सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिँगटा लाग्ने, मांसपेसी दुख्ने, चक्कर लाग्ने, पेट दुख्ने, वाक्वाकी लाग्ने, बान्ता हुने जस्ता पाश्र्वप्रभाव हजारौँमध्ये केहीमा देखिन सक्छ । केही दिनमा आफैँ निको हुने भएकाले आत्तिन पर्दैन । खोप रजस्वला भएका बेलामा पनि लगाउन सकिन्छ ।
कसले नलगाउने
विगतमा एचपिभी खोप लगाइसकेका, विद्यालय नजाने १० वर्षमुनिका र १४ वर्षमाथिका किशोरी, गर्भवती, सक्रिय बिरामी–ज्वरो, पहिला कुनै खोप लगाउँदा एलर्जी भएकाले खोप लगाउन हुँदैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउन अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई समझदारीपत्रमा सम्झौता गर्दै २०८१ माघ १६ गते दुई वर्षका लागि सद्भावना दूत पनि घोषणा गरेको छ ।
सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्न तथा जनस्वास्थ्य समस्याबाट हटाउन ९०– ९०–९० को लक्ष्य लिएर रणनीतिक कार्यनीति बनाएको छ । पहिलो ९० भनेको १० देखि १४ वर्ष उमेरभित्रका किशोरीलाई खोप दिने, दोस्रो ९० भनेको ३० देखि ४९ वर्ष उमेरका महिलाको क्यान्सरको स्क्रिनिङ वा परीक्षण हो भने तेस्रो ९० निदान भएका महिलामध्ये ९० प्रतिशतको उपचार गर्ने हो ।
बालिकाहरूको सक्रिय यौन जीवन सुरु हुनुभन्दा अघि नै अर्थात् १० देखि १४ वर्ष उमेरको बिचमा यो खोप दिइनु उत्तम छ । सरकारले हरेक वर्ष फागुन महिनालाई नसर्ने रोगभित्र क्यान्सर स्क्रि निङ टेस्ट चलाउँदै छ । जसमा कम्तीमा पाँच लाख महिलाको पाठेघरको मुखको परीक्षण गर्ने लक्ष्य छ । सरकारका हरेक कार्यक्रम र अभियानमा होस्टेमा हैँसे गर्दै कोही नछुटौँ कोही न दोहिरियौँ ।