• १० चैत २०८१, आइतबार

खोटाङमा मिनी महोत्सव हुने

blog

मिनी महोत्सवको पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै आयोजक संस्था ।

राजकुमार भट्टराई

खोटाङ, माघ २४ गते । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा आगामी फागुनमा मिनी महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ देखि १६ गतेसम्म “प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१” हुन लागेको हो । 

दिक्तेलस्थित बेसक्याम जयपुरेडाँडामा १७ दिनसम्म चल्ने महोत्सवमा कृषिमेला प्रदर्शनीदेखि राष्ट्रिय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुतिसम्मको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

मिनी महोत्सवमा स्थानीय स्तरको उत्पादनको स्टल राखिनेछ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै जिल्लालाई आर्थिक चलायमानसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका पूर्व अध्यक्ष काजिमान राईले बताउनुभयो । 

महोत्सवमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शन हुनेछ । हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ । यस्तै लोक नृत्य प्रतियोगिता र खुला गायन प्रतियोगिता सञ्चालन हुनेछ । जिल्ला स्तरको कविता वाचन प्रतियोगिता पनि रहने छ । 

जिल्लामा खेलिँदै आएको हरेक खेलका उत्कृष्ट खेलाडीहरूलाई र एक उत्कृष्ट पत्रकारलाई सम्मानको कार्यक्रम पनि रहेको आयोजक संस्था नमुना स्पोट्र्स क्लबका अध्यक्ष विज्ञान राईले बताउनुभयो । मनोरञ्जनका लागि रोटेपिङ, मिक्की माउस, स्कार्पियो, जम्पिङ, त्रीबोर्ड, हात्ती घोडा रेस, घडी चिट्ठा लगायतका खेलहरू हुनेछन । कार्यक्रम भरिमा करिब ५० हजार दर्शकको उपस्थिति रहने उद्देश्य राखिएको छ । 

साङ्गीतिक प्रस्तुतिका लागि चर्चित गायक शम्भु राई, राजेश पायल राई, एलिना चौहान, बबिना किराँती, मिलन नेवार, सुनिता थेगिम, समिक्षा अधिकारी, ज्योति मगरसँगै खोटाङ जिल्लामा जन्मिएका अन्य कलाकारहरूको उपस्थिति गराउने आयोजकको तयारी छ । हाल सञ्चालन भइरहेको भोइस अफ नेपालको प्रतियोगितामा भाग लिइरहेका खोटाङका सबै कलाकारलाई पनि ल्याउने तयारी आयोजकको रहेको छ ।