विदुर आचार्य
चौतारा, माघ २४ गते । खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताउनुभयो ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकाको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले एक वर्षभित्र ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानीको सुविधा प्राप्त गर्ने बताउनुभयो ।
मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी सहभागिता खारेज गर्ने गरि सहलगानी बिना नै सरकारले पूर्ण लगानीमार्फत आयोजना पूर्ण गर्ने तयारी गरिरहेको बताउनुभयो । "२७ प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा छन्, अबको एक वर्षमा ५७ प्रतिशतले उक्त सुविधा प्राप्त गर्ने गरी सरकारले काम गरिरहेको छ," मन्त्री यादवले भन्नुभयो, "खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी ३० प्रतिशत छ, उपभोक्ता समितिलाई कर तिर्नुपर्ने बाध्यता छ, यो सबै नागरिकको हितमा छैनन् । हामी यस्ता निर्देशिका खारेजीको तयारीमा छौँ ।"
खानेपानी आयोजना निर्माण र शुद्ध खानेपानीमा नागरिकको पहँच वृद्धि गर्न दातृ निकायको समन्वय र सहयोगमा तीब्र गतीमा काम भएको उहाँको जिकिर छ । ‘आगामी वर्षको बजेट र कार्यक्रम निर्माणमा देशभरका ४२ हजार अपभोक्ताको हित र आवश्यकता अनुरूप निर्माण हुने छ,’ मन्त्री यादवले भन्नुभयो, ‘यो सरकार नागरिकलाई सहुलियत दिन निर्माण भएको हो । उपभोक्ता समिति जसको आम्दानी छैन उसैलाई कर लिने परिपाटी हामी अन्त्य गर्दैछौँ ।’ लामो समयदेखि खानेपानी ऐन अलपत्र रहेकोमा गत साता खानेपानी नियमावली निर्माण गरी कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।
जिल्ला सदरमुकाम चौतारा सहितका क्षेत्रमा खानेपानी सेवा वितरण गर्दै आएको जुगल थालखर्क होल्चे खानेपानी आयोजनाले प्रतिसेकेन्ड २५ लिटर पानी वितरण गर्नेगरी प्रशोधन केन्द्र, चार लाख लिटर क्षमताको दुई ट्याङ्की र साँढे दुई तले कार्यालय भवन निर्माण सम्पन्न गरेको समितिका अध्यक्ष सुवास कर्माचार्यले जानकारि दिनुभयो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपूर र जापानिज सहयोगी संस्था जाइकाले ९ करोड ७ लाख लागतमा संरचना निर्माण सम्पन्न गरेको हो । डब्लु एच ओ को गुणस्तरको खानेपानी वितरण गर्न सक्षम संरचना निर्माण भएको खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।