• २४ माघ २०८१, बिहिबार

झाडी फाडेर सुन्तला बगान

blog

म्याग्दी,  माघ २४ गते ।  कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैंचा बनाउने सोच आयो । 

बेनीमा पोल्ट्री र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङ्गलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।  

“बुढेसकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिएँ,” उहाँले भन्नुभयो “काम गर्दा गर्दै सुन्तला बगैंचा पो भयो ।” रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाइँसराइ गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैंचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । 

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहारसुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् । 

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिदसहित फार्ममा रु. तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो । 

“यसपालि रु. १५ लाखको सुन्तला बिक्री भयो,” उहाँले भन्नुभयो “कृषिबाट यति राम्रो कमाइ होला भनेर सोचेको थिइनँ, गर्न सकेमा हुँदोरहेछ भन्ने मैले महसुस र अनुभव गरेँ । थप चार रोपनीको बगैंचा किनेर फार्म विस्तार गरेको छु ।” 

दिवंगत हजुरबुवा सूर्यनारायण श्रेष्ठको  जीवनबाट प्रभावित भएर कृषि व्यवसायमा जोडिएको विकासले बताउनुभयो । उहाँको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ । 

सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताउनुभयो । काठमाडौको बल्खुका व्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उहाँले बताउनुभयो । 

घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाउनुभएको छ । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बन्नुभएको छ । 

दोसल्लेका अगुवा कृषक खगवीर पाइजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती शुरु गरेपछि गाउँ छाडेर गएकाहरु फर्किएर सुन्तला खेती गर्न थालेका बताउनुभयो । “उहाँ (विकास)ले बाँझाे जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,” पाइजाले भन्नुभयो “गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।” 

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताउनुभयो । विकासको सुन्तला बगैंचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा व्यवसायीहरु आउने गरेका छन् । उक्त बगैंचाबाट पृष्ठभूमिमा नीलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैंचाको बिच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ । 

समुद्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताउनुभयो । गत वर्ष रु. ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपालि रु. एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उहाँले बताउनुभयो । रासस