• २४ माघ २०८१, बिहिबार

चिडिमार समुदायका महिलाका लागि सञ्जाल

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ २४ गते । चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानका लागि नेपालगन्जमा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ को पहलमा सुनिता चिडिमारको अध्यक्षतामा चिडिमार महिला सञ्जाल गठन गरिएको छ । 

सञ्जालको उपाध्यक्षमा लक्ष्मी चिडिमार, सचिवमा अनुषा चिडिमार, सहसचिवमा सवनकुमारी चिडिमार, कोषाध्यक्षमा दुर्गादेवी चिडिमार रहनुभएको छ । ११ सदस्यीय गठित कार्यसमिति सदस्यमा समरिया चिडिमार, अस्मिता चिडिमार, वसन्ती चिडिमार, सीता चिडिमार र प्रतीक्षा चिडिमार हुनुहुन्छ । चिडिमार समुदायको हक अधिकार, उत्थान तथा समुदायको विकास हुने उद्देश्यले राष्ट्रिय सञ्जाल निर्माण गरिएको नेपालगन्ज–१२ का वडाध्यक्ष तरुण वज्राचार्यले जानकारी दिनुभयो । उहाँले सो समुदायका महिलाको सशक्तीकरणका लागि सञ्जालको औचित्य देखिएको जनाउँदै सञ्जाल सक्रिय भएमा उहाँहरू आफैँ आफ्ना समस्या उठान तथा समाधान खोज्न सक्ने बन्नुहुने बताउनुभयो । 

वडाध्यक्ष वज्राचार्यले महिला सञ्जाल दर्ताको प्रक्रियामा गइसकेको बताउनुभयो । बाँकेमा चिडिमार समुदायको बाक्लो उपस्थिति छ । महिला सञ्जाल पहिलो पटक गठन गरिएको चिडिमार समुदायका अगुवा रामु चिडिमारले बताउनुभयो ।