मध्यपूर्वमा शान्ति स्थापना गर्ने कुरा एकादेशको कथा जस्तै बनेको छ । विगत सय वर्षदेखि तिक्ततापूर्ण हिंसात्मक युद्धले मध्यपूर्वको शान्ति प्रक्रिया ओझेलमा परेको छ । यसका लागि भएका सयौँ प्रयास विफल भएकाले जनताले सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोसिएको छ ।
पछिल्लो पटक १५ महिना इजरायल र हमासबिच घातक युद्ध भएसँगै छ साताका लागि भएको अस्थायी युद्धविरामले शान्तिको झिनो आशा भने पलाएको छ । गत वर्ष अक्टोबर ७ देखि सुरु भएको यो घातक युद्धलाई अस्थायी युद्धविराम गराउन अमेरिका, कतार र इजिप्टको मध्यस्थताले सम्भव भएको हो । यो अवधिमा बन्दी साटासाट गर्नेदेखि विस्थापित भएका प्यालेस्टिनीहरूलाई घर फर्काउन थालिएको छ तर युद्धबाट गाजा क्षेत्र ध्वस्त भएकाले अस्थायी बसोबासको व्यवस्था गरिँदै छ । गाजावासी धेरैका घर ध्वस्त भएकाले अस्थायी बसोबासको व्यवस्था मिलाउने काम पनि चुनौतीपूर्ण बनेको छ ।
युद्धले गाजा क्षेत्र नर्कतुल्य भएकाले धेरैलाई आफ्नो घर पहिचान गर्न नसक्ने अवस्था छ । भौतिक पूर्वाधारहरू ध्वस्त भएपछि कसरी बसोबासको व्यवस्था मिलाउने भन्ने विषय गम्भीर छ । युद्धले ३८ अर्ब डलरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विस्थापितलाई पुनस्र्थापित गराउन ठुलो धनराशि आवश्यक भएको छ । अन्तर्राष्ट्रिय समुदायले ठुलो आर्थिक सहयोग नगरेसम्म गाजा क्षेत्रको पुनर्निर्माण सम्भव छैन ।
गाजा क्षेत्रमा प्रशासन चलाइरहेको हमास विद्रोही र इजरायली सेनाबिच १५ महिना भीषण युद्ध भयो । यो युद्धमा हमासका शीर्ष नेतादेखि लडाकु तथा आमसर्वसाधारण मारिए । मारिनेमा बालबालिका र वृद्धावृद्ध धेरै छन् । हमासले दिएको जानकारी अनुसार यो युद्धमा ४८ हजार मानिसको ज्यान गएको छ भने एक लाखभन्दा बढी घाइते भएका छन् ।
हमास विद्रोहीलाई अमेरिका, युरोपेली सङ्घ र इजरायलले आतङ्कवादी समूह भन्ने गरेका छन् तर हमास नेतृत्वले आफ्नो खोसिएको राष्ट्रका लागि जीवन मरणको लडाइँ गर्नु परेको दाबी गर्दै आएको छ । प्यालेस्टाइन, इजिप्ट, सिरिया र लेबनानको भूमि अतिक्रिमण गरी इजरायल बनेको भन्ने दाबी गर्ने हमास नेतृत्वले इजरायललाई छुट्टै राष्ट्र भनी स्वीकार गर्दैन भने इजरायलको दक्षिणपन्थी नेतृत्व प्यालेस्टाइनलाई छुट्टै राष्ट्र मान्न तयार छैन । हमास र इजरायलबिच चरम विवाद यसैमा छ । प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिनु पर्छ भनी विश्वका १४५ राष्ट्रले समर्थन जनाएका छन् तर अमेरिका, बेलायतसहित इजरायलले यस तथ्यलाई स्वीकार गरेका छैनन् । जसले गर्दा इजरायल र प्यालेस्टाइनबिच अन्त्यहीन युद्ध भइरहेको छ ।
सन् १९४८ मा जन्मेको इजरायल अहिले मध्यपूर्वको सबैभन्दा बलियो राष्ट्र हो । सानो अमेरिका उपनाम दिइएको इजरायलको वर्तमान नेतृत्व प्यालेस्टाइनलाई छुट्टै राष्ट्र मान्न तयार छैन । इजरायल र प्यालेस्टाइन दुवैतिरका अतिवादी शक्तिका अवरोधका कारण समस्या समाधान गर्न यसअघि भएका सयौँ अन्तर्राष्ट्रिय प्रयास सफल हुन नसकेका हुन् ।
प्यालेस्टिनीहरूलाई राज्यविहीन बनाउँदा इजरायल सुरक्षित हुन सक्दैन भन्ने पछिल्लो प्रमाण गत वर्षको अक्टोबर ७ मा हमास विद्रोही लडाकुहरूले अपत्यासित रूपमा इजरायलमा प्रवेश गरी १२ सय जनाको हत्या गर्नुका साथै दुई सयभन्दा बढीलाई बन्धक बनाएर लगेको घटना इजरायलको इतिहासमा भएको सबैभन्दा ठुलो क्षति हो । यो इजरायलको अत्याधुनिक हातहतियारसहितको सुरक्षा फौजलाई ठुलो चुनौती हो । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको आक्रमण लगत्तै प्रत्याक्रमण गर्न सैन्य नेतृत्वलाई आदेश दिएसँगै हमासविरुद्ध भीषण प्रत्याक्रमण सुरु भएको थियो । सुरुमा सात–दस दिनमा युद्ध समाप्त होला, हमास नेतृत्वले आत्मसमर्पण गर्ला भनेको त १५ महिना बितिसक्दा पनि गरेन । जसले गर्दा गाजामा कतिपय दिनका आक्रमण नरसंहार बने । इजरायलले हवाई र स्थल दुवै तहबाट हमासविरुद्ध आक्रमण जारी रहँदा पनि हमास नेतृत्व युद्धबाट पछि हटेन । हमासलाई समाप्त नपारेसम्म आक्रमण नरोकिने अडानमा रहनुभएका प्रधानमन्त्री नेतान्याहु अन्त्यमा छ साताका लागि अस्थायी युद्धविराम गर्न सहमत हुनुभयो र युद्धविराम भएको छ । यो युद्धविरामलाई स्थायी युद्धविराम गरी समस्याको दीर्घकालीन समाधान गर्न अमेरिका, कतार र इजिप्टले थप प्रयास गर्न आवश्यक छ । अब युद्धरत दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याई समास्याको स्थायी समाधान गर्न विशेष पहल गरी अब पुनः युद्धमा फर्कन नपर्ने उपाय निकाल्नु पर्छ ।
यो १५ महिने युद्धले के देखियो भने इजरायले जतिसुकै बल प्रयोग गरे पनि हमासलाई समाप्त गर्न सक्दैन भने हमासले चाहेर इजरायललाई कमजोर बनाउन सम्भव छैन । यस्तो हार न जितको अवस्थामा मध्यस्थता गरी दुवै युद्धरत पक्षलाई शान्तिवार्ता गरी समस्याको दीर्घकालीन समाधान खोज्नु पर्छ । अब फेरि युद्धमा फर्कने अवस्था आयो भने परिस्थिति अरू जटिल बन्ने छ ।
अमेरिकाका पूर्वराष्ट्रपति जोए बाइडेनले आफ्नो कार्यकालको अन्त्यमा दुवै पक्षलाई मनाएर अस्थायी युद्धविरामको अवस्थामा ल्याउनुभएको हो । अब वर्तमान निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यो मामिलालाई गम्भीरतापूर्वक लिई समस्याको स्थायी समाधान निकाल्न पहल गर्नुहुने अपेक्षा गरिएको छ । ट्रम्पले चाहनु भयो भने दुई राष्ट्रको अवधारणा अनुसार शान्तिवार्ता गरी शान्ति सम्झौता गराएर मध्यपूर्वमा विगत एक शताब्दीदेखिको यो सङ्कटको दीर्घकालीन समाधान निस्कने छ । यसो गरियो भने मध्यपूर्वमा स्थायी शान्तिको ढोका खुल्ने छ ।
राष्ट्रपति ट्रम्पले मध्यपूर्वको यो अन्त्यहीन युद्धलाई समाप्त पारी मध्यपूर्वमा शान्ति स्थापना गराउन सक्नुभयो भने उहाँको राजनीतिक जीवनको सबैभन्दा ठुलो उपलब्धि हुने छ । सर्वशक्तिमान उहाँले चाहनुभयो भने यो असम्भव पनि छैन । शान्तिपूर्ण ढङ्गले बाँच्न चाहने हो भने युद्धको बाटो बन्द गर्नु पर्छ । युद्ध समास्याको समाधान होइन । जस्तोसुकै युद्ध गरे पनि अन्त्यमा दुई छिमेकी नमिली सुखै छैन ।
यो १५ महिनाको युद्धबाट पाठ सिकेर इजरायल र प्यालेस्टिनी हमास दुवै पक्ष शान्तिवार्तामा बसेर समस्याको स्थायी समाधान निकाल्नु पर्छ । प्यालेस्टिनीलाई अधिकारविहीन, राज्यविहीन बनाएर, क्रूर दमन गरेर राख्नु कुनै हिसाबले राम्रो मान्न सकिँदैन । छिमेकी असल भएन भने सधँै दुःख पाइन्छ किनभने अरू फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन ।
अन्तर्राष्ट्रिय मध्यस्थतामा दुई राष्ट्रको अवधारणामा दुवै पक्षलाई मान्य हुने गरी इजरायल र प्यालेस्टाइन राष्ट्र बनाएर हात मिलाउने अवस्था बनाउनु समास्याको दिगो समाधान हो । यसका लागि इजरायली र प्यालेस्टिनी नेतृत्व तयार हुनु पर्छ । सधैँ झगडा र युद्ध गर्दा विनाशबाहेक अरू केही हात पर्दैन ।
इजरायल नबनुञ्जेल यहुदीहरू राज्यविहीन थिए । राज्यविहीन हुँदाको पीडा राम्ररी भोगेका इजरायलीहरूले प्यालेस्टिनीहरूलाई राज्यविहीन बनाउनु लज्जास्पद विषय हो । दुवै पक्ष मिलेर नबस्दा नै सधैँ युद्ध र झगडा हुने गरेको छ । यसबाट दुवैलाई बेफाइदा भएको छ ।
भय र त्रासका बिचमा पनि इजरायल आर्थिक समृद्धिसहित शक्तिशाली बनेको छ । मध्यपूर्वमा सबैभन्दा शक्तिशाली बनेको इजरायलको छिमेकीहरूसँग भने राम्रो सम्बन्ध छैन । बारम्बार हुने बाह्य आक्रिमण रोक्न इजरायलले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गरेर र भूमिगत बङ्कर बनाएर जनताको सुरक्षा गर्दै आएको छ । छोटो, मध्यम र लामो दुरीका क्षेप्यास्त्रहरूलाई रोक्न सक्ने प्रतिरक्षा प्रणाली विकास गरेको इजरायल छिमेकीहरूसँग भने पूर्ण शत्रुताको अवस्थामा छ ।
अहिलेसम्म इजरायलले प्यालेस्टाइनलाई छुट्टै राष्ट्र मान्न तयार भएको छैन भने प्यालेस्टिनीहरू इजरायली राष्ट्रलाई राष्ट्रको रूपमा मानेका छैनन् । एकले अर्काको अस्तित्व स्वीकार नगर्नु नै समस्याको मूल जड हो । प्यालेस्टाइनका तत्कालीन नेता यासेर अराफात जीवनभर स्वतन्त्रताका लागि लडाइँ गर्नुभयो । इजरायलका प्रधानमन्त्री इत्ज्याक रविन्ससँग प्यालेस्टाइनलाई मान्यता दिने विषयमा सम्झौता पनि गर्नुभयो तर इजरायलभित्रको चरम दक्षिणपन्थी समूहले यो कुरा स्वीकार गरेन । चरमपन्थीले रविन्सको हत्या गरे । रविन्सको हत्या गरेपछि परिस्थिति अरू विकाराल बन्दै गयो ।
अस्थिरता, आतङ्क र त्रासबिचमा पनि इजरायल मध्यपूर्वको सबैभन्दा शक्तिशाली राष्ट्र बनेको छ । आतङ्कित भए पनि इजरायलीहरू सम्पन्न छन् भने प्यालस्टिनीहरूको अवस्था दयनीय छ । स्वतन्त्र राष्ट्रका लागि लड्दा लड्दै थकित भएका छन् । उनीहरू निरीह बनेका छन् । यो १५ महिने युद्धले प्यालेस्टिनीहरूलाई दशकौँ पछि धकेलेको छ । इजरायलले ध्वस्त पारेको गाजा क्षेत्रको पुनर्निर्माण गर्न एक दशकभन्दा बढी समय लाग्न सक्छ ।
युद्धको मारमा परेका प्यालेस्टिनीहरूको पुनर्बासको व्यवस्था मिलाउन ठुलो धनराशि सहयोगको आवश्यकता छ । यसका लागि अमेरिका, युरोपली सङ्घ, संयुक्त राष्ट्रसङ्घलगायतले धेरै सहयोग राशि जुटाएर छिटोभन्दा छिटो पुनर्बासको व्यवस्था गर्नु पर्छ । यो युद्धले १० लाखभन्दा बढी गाजावासी घरबारविहीन बनेका छन् । उनीहरूका लागि तत्काल गाँस, बास र कपास चाहिएको छ ।
यस पटक युद्धमा युद्धको नियमसमेत पालना भएन । हमास र इजरायल दुवै पक्षबाट युद्ध अपराध भएको छ भनी हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर भएको पनि छ । यो कानुनी लडाइँ आफ्नो ठाउँमा छ । तत्कालको आवश्यकता भनेको यो अस्थायी युद्धविरामलाई स्थायी युद्धविराममा परिणत गर्न सार्थक शान्तिवार्ता गर्नु पर्छ । अब पुनः युद्धमा फर्कन दिनु हुँदैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फले चाहनु भयो भने इजरायल र प्यालेस्टिनीबिचको यो विवादको दीर्घकालीन समाधान हुन सक्छ । त्यसका लागि इजरायली र प्यालेस्टिनी नेतृत्व पनि उदार बनी समस्या समाधान गर्न तत्पर हुनु पर्छ ।