• २३ माघ २०८१, बुधबार

खुम्बु जोड्ने पक्की पुल निर्माण

blog

खुम्बुलाई स्थलमार्गबाट जोड्ने छिर्दी घाटस्थित दूधकोशी नदीको नवनिर्मित मोटरेबल पुल । तस्बिर : छोङबा लामा शेर्पा, टाक्सिन्दु

सन्तोष राउत

सोलुखुम्बु, माघ २३ गते । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुलाई स्थलमार्गबाट जोड्ने पुल तयार भएको छ । सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको छिर्दी घाटस्थित दूधकोशी नदी मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको हो ।

करिब साढे दुई वर्षअघि सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले शिलान्यास गरी निर्माण थालिएको पर्यटकीय मार्गमा पर्ने उक्त पक्की पुल महादेव खिम्ती हिराचन जेभीले सात करोड छ लाख ३३ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको होे ।  

पुल तयार भएसँगै प्रमुख शेर्पाले भन्नुभयो, "पुल निर्माणले यस क्षेत्रका स्थानीय बासिन्दा र खुम्बु क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि महत्वपूर्ण सहयोग पुग्नेछ ।" 

प्राविधिक र भौगोलिक हिसाबले दिगो र मजबुत संरचना बनेको उहाँको भनाइ छ । सदरमुकाम सल्लेरी, माप्य हुँदै खुम्बु जोड्ने सडक खण्ड भएकाले दूधकोशी नदीमाथि बनेको यो मोटरेबल पुलले माथिल्लो सोलुको पर्यटन क्षेत्रमा धेरै सहयोग पुग्ने मेयर शेर्पाले बताउनुभयो । 

५० मिटर लम्बाई र ११ मिटर चौडाइ रहेको पुल फ्रि स्ट्रेच प्रविधिबाट बनाइएको निर्माण कम्पनीका प्रतिनिधि बुद्धिबहादुर मगरले बताउनुभयो ।  काम शुरु गरेपछि तीव्र गतिमा निर्माण गरी गुणस्तरीय पुल तयार भएको उहाँको भनाइ छ । सम्झौता केही वर्ष अघि भए पनि निर्माण स्थलसम्म पुग्ने सडकमा यातायातका साधन चल्न नसकेका कारण सामान ढुवानी गर्न नपाउँदा निर्माण सुरु गर्न केही ढिला भएको हो ।

पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामाग्रीहरूको मूल्य समेत सस्तिने स्थानीय बताउँछन् । यो पुल निर्माणपश्चात् सदरमुकाम आवतजावत गर्न तथा पर्यटकलाई खुम्बु जान स्थलमार्गबाट धेरै सहज हुने भन्दै खरिखोलाका भलाकाजी मगरले खुशी व्यक्त गर्नुभयो ।

पुलले पर्यटकीय सिजनमा मौसम प्रतिकूलताका कारण हवाईजहाज नचल्दा हप्तौँ लुक्लामा बस्नुपर्ने विगतको समस्यालाई कम गर्ने र पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन् । यसअघि मौसमका कारण लुक्लामा पर्यटक अड्किँदा कतिपय पर्यटकहरुको भिसाको म्याद सकिने तथा हवाई टिकटको म्यादमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नपुग्दा पर्यटकलाई समस्या पर्ने गरेको पाइन्छ ।