• २३ माघ २०८१, बुधबार

रविविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता

blog

वसन्त पराजुली

नारायणगढ, माघ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई चितवनमा सङ्गठित अपराधको मुद्दाबाट उन्मुक्ति दिँदै सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ । 

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था चितवनको ठगीसम्बन्धी मुद्दा मात्रै दर्ता गरिएको चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइटेलले जानकारी दिनुभयो । “अभियुक्तको अपराधका आधारमा रवि लामिछानेलाई ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ,” उहाँले भन्नुभयो । 

२०८१ असोज ८ गते चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । सोही मुद्दामा विचाराधीन भइरहेका बेला पूरक निवेदन दर्ता भएपछि त्यसमा अनुसन्धान गरी लामिछानेसहित थप १२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गराइएको हो । मुद्दामा नयाँ थपिएकासहित अब ३२ जना अभियुक्त भएका छन् । यसअघि २० जना मात्रै अभियुक्त जनाएर मुद्दा दर्ता गरिएको थियो । लामिछाने पूरक निवेदनका आधारमा मुद्दा दर्तामा पर्ने अभियुक्त हुनुहुन्छ । लामिछानेलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ उपदफा १ र २ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । दफा २४९ को उपदफा ३ ‘ग’ बमोजिम कारबाही माग गरिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँले लामिछानेका हकमा कुनै पनि व्यक्तिगत मागदाबी नदेखिएको र संस्थागत रूपमा गोरखा मिडियामा गएको रकममध्येबाट उहाँ सो मिडियाको सञ्चालक तथा कार्यकारी निर्देशक भएका नाताले मुद्दा दर्ता गरिएको उल्लेख गर्नुभयो । सहारा सहकारी चितवनबाट गोरखा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ गएको देखिन्छ । यसमा सञ्चालक रहेका चार जनालाई दामासाहीको ठगीमा बिगो भराइने गरी मुद्दा दर्ता गरिएको छ । लामिछानेमाथि दुई करोड ७० लाख चार हजार ५३५ रुपियाँ बराबरको बिगो दाबी गरिएको छ । 

गोरखा मिडियाका नाममा जम्मा भएको रकममा ८१४ वटा चेकमार्फत लामिछानेले एकल खर्च गरेको पनि मुद्दामा उल्लेख छ । गोरखा मिडियाको थप छ वटा चेकमार्फत जिबी राईसँग मिलेर लामिछानेले खर्च गरेको पनि मुद्दामा जनाइएको छ ।   

रविलाई ठगी मात्रै मुद्दा लाइएको भए पनि गोरखा मिडियाका अध्यक्ष जिबी भन्ने गीतेन्द्रबाबु राई, छविलाल जोशीलगायतलाई भने ठगीसँगै सङ्गठित अपराधमा पनि मुद्दा दर्ता गरिएको छ । सहारा सहकारीमा जम्मा भएको बचतकर्ताको ४३ करोड १४ लाख ४९ हजार ९२८ रुपियाँ गोरखा मिडियासहित नेचर हब इन्टरनेसनल प्रालि, जिबी गु्रपअप कम्पनी, नेचर हब्स प्रालि, स्प्रिङ्ग उड रियल स्टेट, नेचर नेस्ट प्रालिमा जम्मा हुन गएको देखिन्छ । यी संस्थालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ । लामिछानेको गोरखा मिडियाभन्दा अन्यमा संलग्नता नदेखिएको मुद्दामा उल्लेख छ ।  

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा न्यायाधिवक्ताको कार्यालयले सो मुद्दा दर्ता गरेको हो । प्रहरीले अघिल्लो शुक्रबार अध्ययन प्रतिवेदन बुझाएको थियो । मुद्दा अदालतमा  विचाराधीन अवस्थामै रहेका बेला पुनः पूरक निवेदनमाथिको अध्ययन प्रतिवेदन पनि बुझाइएको थियो । प्रहरीले पूरक जाहेरी दरखास्तका रूपमा स्वीकार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीले सुरुमा सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र ठगीमा मुद्दामा अनुसन्धान अघि बढाए पनि दर्ता गराउँदा सम्पत्ति शुद्धीकरणको मुद्दा भने पछि मागदाबी गर्ने गरी अहिलेलाई थाती राखिएको छ । सङ्गठित अपराध र ठगीको मुद्दा दर्ता गराउन प्रहरी प्रतिवेदनमा उल्लेख भए पनि न्यायाधिवक्ताको कार्यालयले भने लामिछानेलाई सङ्गठित अपराधबाट उन्मुक्ति दिएको हो । 

अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले अदालतमा दायर भएको मुद्दामा अब अदालती प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । अब अभियुक्तको बयान लिनेदेखि थुनछेक आदेशसम्मको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । 

लामिछाने भने बिहीबार मात्रै थुनछेक प्रक्रियाका लागि अदालतमा हाजिर हुने हुनुभएको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले लामिछानेलाई बिहीबार अदालतमा हाजिर गराइने जानकारी दिनुभयो । लामिछानेलाई पोखरा, रुपन्देही र काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिइसकेको छ । 

अदालती प्रक्रियामा लामिछानेको यो चौथो पटकको प्रक्रिया हो । लामिछानेसहित अन्यविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दाको अनुसन्धान भइरहेको छ । पहिलो पटक २०८० असोज ९ गते २३९ पीडितको जाहेरीका आधारमा अदालतमा २० जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । २०८१ मङ्सिर ५ गते थप १० जनाले पूरक जाहेरी दर्ता गराएपछि थप १२ जनालाई मङ्गलबार मुद्दा दर्ता गरिएको हो । सहारा सहकारीमा ४५६ जना बचतकर्ता पीडित रहेका छन् ।