• २२ माघ २०८१, मङ्गलबार

अझै नियन्त्रणमा आउन सकेन तिमाङको आगलागी

blog

यदुप्रसाद भट्ट

मनाङ, माघ २२ गते  मनाङको जङ्गलमा झन्डै चार वर्षपछि आगलागी भएको छ । २०७७ साल मङ्सिर २ गतेदेखि सल्केको आगोले तत्कालीन अवस्थामा १२ सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट गरेको थियो । दुई महिनासम्मको अथक प्रयासपछि मात्रै सो आगलागी नियन्त्रण आएको थियो, त्यो पनि हिउँ परेपछि मात्रै ।

त्यसको ४ वर्षपछि तिमाङको जङ्गलमा शुक्रबारदेखि आगलागी भएको छ । यो आगलागी पनि नियन्त्रणमा आउन सकेको छैन । चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको आगो मङ्गलबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाका तीनवटै सुरक्षा निकाय आगो निभाउनका लागि परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिनुभयो । यद्यपि आगो निभाउने प्रयास भने जारी छ ।

मानव बस्ती भन्दा टाढाको भूगोलमा आगलागी भएकाले त्यति जोखिम नभएको प्रजिअ आचार्यले बताउनुभयो । मङ्गलबार पनि तीनवटै सुरक्षा निकायका टोली र स्थानीय आगलागी नियन्त्रणमा खटिए पनि सफलता हात पर्न सकेको छैन । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको बताउनुभयो । उहाँले सुक्खा याम तथा भिरालो भूगोल भएकाले नियन्त्रणमा लिन कठिन भएको बताउनुभयो । यसपालि हिउँ नपर्नु तथा सुख्खायाम हुँदा वनजङ्गलमा रहेका काठका ठुटा, रुखमा रहेका झ्याउ, पातपतिङ्गर, सुकेका घाँस आदिले गर्दा आगो झन्झन् फैलिएको छ । 

आगलागीबाट वनका अमूल्य जडीबुटी नाश हुने जोखिम बढेको छ । एकातिर वन लसुन, लौठसल्ला, जटामसी, पाँचऔँले, गुच्ची च्याउलगायत जलेर नष्ट हुने जोखिम बढेको छ भने अर्कोतिर वन्यजन्तु तथा चराचुरुङ्गी वासस्थानमा पनि प्रभाव परेको छ ।

चौंरी, भेडाबाख्रा, च्याङ्ग्राको चरन क्षेत्र नाश हुने सम्भावना बढेको प्रमुख भुजेलले जानकारी दिनुभयो । मनाङमा यही मङ्सिर यता मात्रै ताल, आइसलेक तथा पिसाङ भीरमा आगलागी भइसकेको छ । विगत वर्षहरूको जस्तो जोखिम बढ्न नदिन सतर्क रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।