• २२ माघ २०८१, मङ्गलबार

सरकारी कम्पनीमा सर्वसाधारणको स्वामित्व वृद्धि गर्ने तयारी

नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक छः सञ्चारमन्त्री गुरुङ

blog

नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः केशब गुरुङ

काठमाडौँ, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक भएको बताउनुभएको छ । सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो,‘आम्दानीको क्षेत्रमा लाग्न सकेका छैनौं । टेलिकम भ्वाइस मात्रै नभएर डेटामा पनि लाग्नुपर्छ । नेपाल टेलिकमले कार्य क्षेत्र, सेवाको क्षेत्र विस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्छ । टेलिकमको क्षेत्रलाई अरुले उछिनेको छ ।  त्यसबारेमा टेलिकमको ध्यानाकर्षण हुनुपर्छ । कार्य क्षमताका हिसाबले उत्तरदायित्व हुन्छ । टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता छ ।’

त्यसैगरी सरकारी स्वामित्वमा रहेका कम्पनीमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको मन्त्री गुरुङले बताउनुभएको छ ।

उहाँले सरकारले सार्वजनिक संस्थान सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरण जस्ता संस्थामा सर्वसाधारणको स्वामित्व २५ प्रतिशत पुर्‍याउने योजना सरकारको रहेको बताउनुभयो । उहाँले टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको रहेको भन्दै अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको शेयर पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले सरकारले विद्युत प्राधिकरणको पनि २५ प्रतिशत शेयर सर्वसाधारणको लागि दिने तयारी गरेको उल्लख गर्नुभयो । मन्त्री गुरुङले सरकारी कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधारणको स्वामित्व वृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन स्वामित्व वृद्धि गर्नु आवश्यक रहेकोमा जोड दिनुभएको हो । 

उहाँले संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदनशील भएर पारदर्शिता कायम गर्नुपर्ने सचेत गराउने बताउनुभयो । 

नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको उहाँको भनाइ छ । टेलिकम भ्वाइस मात्रै नभएर डेटामा पनि लाग्नुपर्ने समय आएको उहाँले प्रष्ट पार्नुभयो । 

नेपाल टेलिकमले कार्यक्षेत्र, सेवाको क्षेत्र विस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्ने उहाँको भनाइ छ । मन्त्री गुरुङले टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । । उहाँले टेलिकम बदलिँदो अवस्थासँगै आधुनिक हुँदै जानुपर्नेमा जोड दिनुभयो ।