• २५ माघ २०८१, शुक्रबार

'मिनी पीसीएनएल' प्रविधिकाे २० वर्ष

blog

गाेरखापत्र अनलाइन

काठमाडौं, माघ २२ गते । नेपालमा मिनी परक्युटेनियस नेफ्रोलिथोटोमी (पीसीएनएल) प्रविधी भित्रिएको २० वर्ष पुगेको छ । यो प्रविधि भित्रिएको २० वर्ष पुगेको उपलक्ष्यमा खड्गी इन्स्टिच्युट कुपण्डोलले एक कार्यक्रम गर्दै इन्स्टिच्युटका सञ्चालक तथा यूरोलोजिस्ट डा.सञ्जय खड्गीले यो अवधिमा १५ हजारभन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यो प्रविधिबाट शल्यक्रिया पहिलो पटक सन् २००५ मा मेरो नेतृत्वमा धुलिखेल अस्पतालबाट चाइनिज प्राडा जुवा ज्यीङ्गको सहयोगमा सुरु भएको हो । यो प्रविधिको सहायताले २० वर्षको अवधिमा १५ हजारभन्दा बढीको शल्यक्रिया गरिएको छ ।” 

यूरोलोजिस्ट डा. सञ्जयका अनुसार मिनी पीसीएनएल प्रविधिबाट सानो प्वाल पारेर मिर्गौलाको पत्थरी लगायतको शल्यक्रिया गरिन्छ । यो प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाइ कम हुने, बिरामीलाई गाह्रो नहुने र घाउ चाँडै निको हुने हुँदा बिरामी चाँडो काममा फर्कन सक्ने उहाँ बताउनुहुन्छ । 

“यो प्रविधिबाट शल्यक्रिया गर्दा सानो प्वाल बनाइने हुँदा बिरामीलाई दुःखाइ कम हुनुका साथै जटिलता हुने सम्भावना निकै न्यून हुन्छ । यसका साथै शल्यक्रिया गरेको भोलिपल्टै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ,” उहाँले भन्नुभयाे ।

प्रा.डा. ज्यीङ्गसँगै २० वर्षअघि नेपाल आएर क्यान्सरको शल्यक्रिया गर्नुभएका प्रा.डा.चि फन्जिनाले यो प्रविधिको विकासले शल्यक्रिया क्षेत्रमा सहज भएको बताउनुभयो । खड्गी इन्स्टिच्युट कुपण्डोलले यो प्रविधि नेपालमा भित्र्याउन सहयोग गरेकोमा प्रा.डा. ज्यीङ्ग र प्रा. डा. चि फन्जिनालाई सम्मान गरेको थियो ।  

डा. सञ्जयले चिनियाँ प्रा.डा. ज्यीङ्गकै सहयोगमा सो प्रविधिबाट शल्यक्रिया गर्न सिकेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । तीन वर्षदेखि डा. सञ्जयले ‘खड्गी इन्स्टिच्युट’मा यो प्रविधिबाट शल्यक्रिया गर्दै आउनुभएकाे छ । 

तीन वर्षको अवधिमा इन्स्टिच्युटमा एक हजार ६०० जनाले शल्यक्रिया सेवा लिएका छन् । जसमध्ये १५० गरिब तथा विपन्नलाई सेवा दिएको उहाँको दाबी छ ।  पैसा नभएर उपचार हुन नसकेका बिरामीलाई आफूले सधैं सहयोग गर्ने उहाँ बताउनुहुन्छ ।