रेखीराम राना
तानसेन, माघ २२ गते । पाल्पामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ । मङ्गलबारदेखि सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । पाल्पाको दस स्थानीय तहका दस हजार ४५८ छात्राहरूलाई खोप लगाइँदैछ ।
अभियानको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले लक्षित छात्राहरू नछुट्ने गरी खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपले समग्र क्यान्सरको दरलाई घटाउन सहयोग पुर्याउने उहाँले विस्वास गर्नुभयो ।
यस्तै, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले तोकिएका छात्राहरूलाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले खोप अभियानले आगामी दिनमा महिलामा हुने क्यान्सरको सङ्ख्यामा कमी आउनुका साथै उपचार खर्च समेत बच्ने विस्वास गर्नुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज माघ २२ गतेदेखि २७ गतेसम्म रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकाका छात्राहरूलाई खोप लगाइँदैछ। यस्तै दोस्रो चरण अन्तर्गत माघ २८ देखि फागुन ६ गतेसम्म तानसेन नगरपालिका, बगनासकाली, रिव्दीकोट, तिनाउ र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयमा अध्ययन्रत छात्राहरूलाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
खोप अभियानका लागि जिल्लाका ३१५ जना तालिमप्राप्त स्वास्थ्यकर्मी र ६२७ जना स्वयम्सेवक खटिएका छन् । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका विद्यालयमा २०४ वटा र विद्यालयभन्दा बाहिर ३१ वटा खोप केन्द्र रहने पोखरेलले जानकारी दिनुभयो । पाल्पामा विद्यालयमा जानेबाहेक थप ७० जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।