• २२ माघ २०८१, मङ्गलबार

महायज्ञ लगाएर विद्यालयको भवन निर्माण

blog

आठ कोठाको नयाँ भवन उद्घाटन गर्दै मन्त्री न्यौपाने । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, माघ २२ गते । दाङको घोराही उपमहानगरपालिका –१३ सेवार वनगाउँस्थित वराहक्षेत्र माध्यमिक विद्यालयमा दाताको सहयोगबाट भवन निर्माण गरिएको छ । 

महायज्ञमा सङ्कलन गरिएको करिब ७० लाख बढी रकम खर्च गरेर विद्यालयमा आठ कोठाको दुई तले भवन निर्माण गरिएको हो । माध्यमिक तहसम्म पढाइ हुने विद्यालयको भवन जीर्ण भएपछि आर्थिक स्रोत जुटाउने उद्देश्यले २०७५ माघको ३ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । 

उक्त सङ्कलित रकमबाट विद्यालयको भवन निर्माण गरिएको भवन निर्माण समितिका सचिव बिमला योगीले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई पूर्वाधारका दृष्टिकोणले सम्पन्न गराउने गरी महायज्ञबाट दान सङ्कलन गरेर भवन निर्माण गरिएको बताउनुभयो । महायज्ञबाट सङ्कलित रकममध्ये १५ लाख रुपियाँ विद्यालयलाई बस सञ्चालनका लागि सहयोग गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष भुपाल योगीले बताउनुभयो । 

उहाँका अनुसार महायज्ञ लगाएको लामो समयपछि विद्यालयको भवन निर्माणसँगै हस्तान्तरण गरिएको छ । विद्यालयको नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहजता भएको वराहक्षेत्र माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगीले जानकारी दिनुभयो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई पुरानो जीर्ण भवनमा बसालेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । 

विद्यार्थीलाई निःशुल्क रूपमा पढाउनु पर्ने र विद्यालयका लागि आर्थिक स्रोत जुटाउने अन्य कुनै माध्यम नहुँदा पुरानो भवनमा राखेर पढाउनु पर्ने बाध्यता थियो विद्यालयका प्रधानाध्यापक योगीले भन्नुभयो, ‘‘नयाँ भवन निर्माणसँगै विद्यार्थीलाई पठनपाठनसँगै पढाइमा सहजता भएको छ ।’’ 

नयाँ भवन निर्माण भएसँगै विद्यालयमा स्मार्ट बोर्ड राख्नुका साथै सिसी क्यामेरा राखेर विद्यालयमा हुने गतिविधिलाई निगरानीमा राख्न सहजता भएको प्रधानाध्यापक योगीले बताउनुभयो । २०३८ सालमा स्थापना भएको विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् । 

यसैबिच नवनिर्मित विद्यालयको भवन उद्घाटनसँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले गुणस्तरीय शिक्षा प्रदानका लागि सामुदायिक विद्यालयहरू बढी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 

सामुदायिक विद्यालयमा विद्यार्थीको खस्कदो अवस्थाले राज्यले शिक्षा क्षेत्रमा गरिरहेको लगानी खेर गइरहेको पुष्टि गरेको भन्दै मन्त्री न्यौपानले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानुको एकिन कारण पहिल्याउनु जरुरी रहेको बताउनुभयो ।