ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीमा सहिद परिवारसँग भेटघाट गर्नुभएको छ । बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा मङ्गलबार बिहान सहिद परिवारसँग भेटघाट गर्नुभएको हो ।
जिल्लाका नेता तथा कार्यकर्तासहित बेनी नगरपालिका ४ ठूलोखोला, सिंगा र बेनीबजारमा रहेका सहिद परिवारका आफन्तहरुसँग अध्यक्ष प्रचण्डले भेटघाट गर्नुभएको हो । भेटका अवसरमा सहिदका सपना पूरा गर्न पार्टीले क्रान्तिलाई नछाडेको बताउँदै सहिद परिवारको दुःख र पीडामा पार्टीको साथ रहने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिनुका साथै सहिदहरुको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पार्टीलाई पुरानै अवस्थामा फर्काउन म अहिले अभियान लिएर जनताको साथमा आएको छु । सरकार छाडेर जनताको साथमा आएपछि पार्टीप्रति उत्साह जागेको छ । २०८४ को निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा पुर्याउन यहाँहरुको साथ आवश्यक छ ।’’
सहिद परिवारका सदस्यहरुले अध्यक्ष प्रचण्डसँग पार्टीलाई बलियो बनाउन विभाजित भएका माओवादी शक्तिहरुलाई एकतामा ल्याउन सुझाव दिएका थिए ।
यसैगरी, अध्यक्ष प्रचण्डले सिंगास्थित तातोपानी कुण्डमा पुगेर स्थानीयवासीहरुसँग कुण्डमा पूर्वाधार विकास गरेर प्राकृतिक उपचार स्थलका रुपमा थप विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिंगा र तातोपानीको विकास निर्माणलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।