सीता काफ्ले
रुपन्देही, २२ माघ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ट्राफिक सचेतनालाई अभियानको रुपमा अगाडि बढाएको छ । ट्राफिक प्रहरीले सवारी चालकलाई लेन अनुशासन सिकाउनुका साथै सडकमै ट्राफिक सचेतनालाई अभियानको रुपमा अगाडि बढाएको छ ।
आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीमा सवारी चाप बढ्दो मात्रामा रहेको छ । सवारीको चापसँगै रुपन्देहीमा सवारी दुर्घटनाका घटना दिनानु दिन बढ्दै गएको छ । बढ्दो सवारी चाप, लेन अनुशासनको उल्लङ्घन, तीव्र गतिमा सवारी हाक्ने लगायतका कारण सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०८१ को पुस मसान्तसम्म ६ महिनामा १२९ वटा सवारी दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परि ११३ जना गम्भिर घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १५७ वटा दुर्घटना हुँदा ७६ जनाले ज्यान गुमाएका थिए । रुपन्देहीमा सवारी दुर्घटनाको जोखिम घटाउन ट्राफिक प्रहरीले ट्राफिक सचेतनालाई अभियानको रुपमा अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिनुभयो ।
‘‘तराईका जिल्लामा जाडो मौसममा हुस्सु, कुईरोसहितको अत्याधिक चिसो पनि छ । चिसो मौसमका कारण पनि दुर्घटना बढेका छन् ।’’ प्रहरी निरीक्षक केसीले भन्नुभयो, ‘‘सम्भावित जोखिमबाट जोगिन सडक लेनको अनुशासन पालना गर्नुका साथै तीव्र गति नियन्त्रण गर्नु पर्दछ ।’’
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत वर्ष सुरु गरिएको ‘मेरो सवारी, मेरो लेन’ अभियानलाई निरन्तरता दिँदै आएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियमको पालना गरेमात्रै पनि आधाभन्दा बढी दुर्घटना न्यूनीकरण हुने भन्दै यसलाई सबैको सहयोगमा अगाडि बढाइएको प्रहरी निरीक्षक केसीको भनाइ छ ।
जिल्लामा लेन अनुसारका फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दुर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको छ । जिल्लामा सडक लेनको अभियान चलाए पनि अन्य सवारी साधनले भन्दा माइक्रोबसले लेन अनुशासन उल्लङ्घन गर्ने गरेको सरोकारवालाले जनाएका छन् ।
सवारी दुर्घटनाका सम्भावित कारण
नेपालमा सवारी दुर्घटना हुनुका कारण थुप्रै रहेका छन् । दुर्घटनापछि बनेका विभिन्न समितिले तयार गर्ने प्रतिवेदनको मुख्य कारण्मा चालकको लापरवाही, अनुभवहीनता, कामको बोझ, मदिरा तथा लागूऔषधको प्रयोग र तीव्र गति रहेको उल्लेख गरको पाइन्छ ।
विचलित भएर सवारी चलाउने र ट्राफिक नियम पालना नगर्ने कारण पनि दुर्घटनाको दर उच्च रहेको प्रहरीको अध्ययनमा उल्लेख गरेको छ । एउटै चालकले लामो समय गाडी चलाउँदा थकान हुने र समयभित्र गन्तव्यमा पुग्ने दबाबले दुर्घटनाको जोखिम बढ्ने गरेको अध्ययनहरुले देखाएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार चालकले मदिरा र लागूपदार्थ सेवन गर्दा निर्णय लिने क्षमता र समन्वयमा कमी आउँदा पनि दुर्घटनाको सम्भावना बढिरहेको छ ।
सडकको दयनीय अवस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको छ । भौगोलिक अवस्थाका कारण धेरै क्षेत्रमा भौतिक पूर्वाधार अत्यन्तै अपर्याप्त छन्, भएका पनि उचित मर्मतसम्भारको अभावमा जीर्ण भइसकेका छन् । सडकमा अनगन्ती खाल्डाखुल्डी, कमजोर ढल निकास प्रणाली, हिलोधूलो, अस्पष्ट सडक चिह्नले चालकमात्रै होइन, पैदल यात्रुलाई पनि जोखिम बढाएको छ ।
दुर्घटनाको क्षेत्रलाई सुरक्षित बनाउन, थप दुर्घटनाबाट बच्न ट्राफिक नियन्त्रण र सुरक्षा व्यवस्थालाई बलियो बनाउन प्रहरी नागरिकले साझेदारी रुपमा कार्यक्रम अगाडि बढाउन जरुरी छ ।