• २२ माघ २०८१, मङ्गलबार

नो केबलकार समूहद्वारा ताप्लेजुङ सडकखण्ड रुख ढालेर अवरोध

blog

मेची राजमार्गको गोपेटार जोरपोखरी सडक खण्डमा बन्दकर्ताले ढालेका रुख । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, माघ २२ गते ।
ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको नो केबलकार समूहले सडकमा रुख ढालेर अवरोध गरेको छ ।

आम हड्तालको आह्वान गरेको समूहले मङ्गलबार मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्ध गरिएको हो ।

सडकमा अवरोध सिर्जना गरिएपछि राति बिरामी लिएर सदरमुकाम आउँदै गरेका एम्बुलेन्स बाटैमा रोकिएको छ ।

सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसुती गराउन नसकिए पछि हिलिहाङ २ देखि फिदिम ल्याइँदै गरेको हिलिहाङ १ की कल्पना जोगी (तामाङ)लाई बोकेको एम्बुलेन्स सडमै रोकिँदा बिरामीको बिचल्ली भएको हो ।

पाथिभरामा केबकार निर्माण प्रकृयाको विरोध गरिरहेको नो केबलकार समूहले सोमबार राति मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार खण्डमा चारवटा रुख ढालेर सडक अवरोध गरेका थिए  ।

एम्बुलेन्स चालक नुपु सेर्पाले रातको २ बजे बिरामी लिएर आउँदै गर्दा बाटोमा रुख ढलेपछि बिरामी छटपटाउन थालेपछि पुनः गोपेटार फर्र्काएको बताउँनुभयो ।

अवस्था केहि जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुती गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मी चन्द्र्र घिमिरेले बताउनुभयो ।

प्रहरीले रुख हटाएर सडक सुचारु गरेको छ । अवरोध हटेसँगै उहाँलाई प्रसुती गराउन जिल्ला अस्पताल पठाउने तयारी भइरहको छ ।

यही माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको नो केबलकार समूहले आजदेखि अरुण पूर्वका नौ जिल्लामा आम हड्तालको आह्वान गरेको हो । सरकारसँग हिजोदेखि वार्ता गरेपनि बन्दलाई यथावत राख्ने बन्दकर्ता मध्येको एउटा घटक किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।