• २९ फागुन २०८१, बिहिबार

प्रदेश सभा स्थापना दिवस : बढी खर्च गर्न निर्देशन

blog

कर्णाली प्रदेश सभा स्थापनाको सातौँ वार्षिकोत्सव मनाइँदै । तस्बिर : ललित बसेल

ललित बसेल/मुना हमाल 

सुर्खेत, माघ २२ गते  । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बजेट कम भएरभन्दा पनि खर्च गर्न नसकेर कर्णाली पछि परेको उल्लेख गर्दै खर्च बढी गर्न निर्देशन दिनुभएको छ । उहाँले विगतमा २० देखि २५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नसकेकाले आगामी दिनमा जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा कर्मचारीलाई प्राप्त बजेट बढी खर्च गरी विकास र समृद्धि ल्याउन आग्रह गर्नुभयो । कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवसलाई सम्बोधन गर्दै सोमबार उहाँले बजेट खर्च गर्न निर्देशन दिनुभएको हो ।  २०७४ साल माघ २१ गते कर्णाली प्रदेश सभा स्थापना भएको थियो । सोही दिनलाई आधार मानेर माघ २१ गते प्रदेश सभा स्थापना दिवस मनाउने गरिएको छ । 

उहाँले कर्णालीका सबै राजनीतिक दल मिलेर काम गरे कर्णालीले समृद्धिको यात्रा तय गर्ने बताउनुभयो । माथिल्लो कर्णाली आयोजना, भेरी–बबई डाइभर्सन, पेट्रोलियम खानी, स्याउ, सुन्तला र जडीबुटीको क्षेत्रमा मात्रै राम्रो काम गर्न सके कर्णाली समृद्ध हुने र कर्णालवासी सुखी हुने उहाँको दाबी थियो । प्रदेशवासीले विकास र समृद्धि चाहेकाले त्यसमा दलहरू समर्पित भएर लाग्नुपर्ने उहाँको भनाइ छ । 

मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभालाई नीति निर्माणको सार्थक थलो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले सात वर्षको अवधिमा अपेक्षा अनुसार काम नभए पनि धेरै सुरुवात भएको प्रस्ट्याउनुभयो । उहाँले हिजोका दिनमा स्रोतसाधन नहुँदा पनि विकासका काम अघि बढेको र अहिले बजेट विनियोजन हुँदा पनि काम हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले पहिलेकै सरकारले बनाएको ७० प्रतिशत योजनामा काम गरिरहेको र आफूहरूले केवल ३० प्रतिशत मात्रै नयाँ योजना बनाएको उहाँले सुनाउनुभयो । प्रदेश सभालाई विगतको तुलनामा थप प्रभावकारी बनाउने सवालमा आफ्नो सरकार थप क्रियाशील रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

सभामा प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले अहिलेको व्यवस्थालाई कार्यान्वयन गर्न र जनताको आवश्यकता पूरा गर्न सबैमा समर्पणभाव चाहिएको बताउनुभयो । उहाँले वित्तीय सङ्घीयता, प्रशासनिक सङ्घीयता आउन नसक्दा प्रदेश सरकारले सोचे जति काम गर्न नसकेको औँल्याउँदै आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो । संविधानको भावना र मर्मका आधारमा सबै दल एक ठाउँमा उभिनुको  विकल्प नभएको पनि उहाँको भनाइ थियो । 

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेश सभाको सातौँ स्थापना दिवसका अवसरमा समृद्ध कर्णालीका लागि सबै पक्षलाई अग्रसर हुन अपिल गर्नुभयो । उहाँले आगामी दिनमा जनतासँग जोडिएका समस्या सम्बोधन गर्न आवश्यक कानुन निर्माणमा गम्भीरतासाथ लाग्ने प्रण पनि गर्नुभयो । उहाँका अनुसार प्रदेश स्थापना भएको सात वर्षमा ६० वटा कानुन निर्माण भएका छन् । प्रदेश सभाको पहिलो कार्यकालमा ५३ र दोस्रो कार्यकालमा सात वटा सरकार र मातहतका संरचनामा नियमित नभई नहुने कानुन निर्माण भएको जानकारी उहाँले दिनुभयो ।