• ७ वैशाख २०८२, आइतबार

लाहाको व्यावसायिक खेती

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, माघ २२ गते  । मोरङको लेटाङ–८, लालझोडास्थित लालहिरा सामुदायिक वन उपभोक्ता समूहले लाहाको व्यावसायिक खेती सुरु गरेको छ । सधैँ काठ उत्पादन नहुने र वनको आय वृद्धि गर्ने उद्देश्यले सामुदायिक वनले गत वर्षदेखि लाहा खेती सुरु गरेको हो । 

सामुदायिक वनले दुई बिघा जमिनमा सेमियलताका पाँच हजार पाँच सय बिरुवा हुर्काइसकेको छ । व्यावसायिक लाहा खेतीका लागि सेमियलता जातको वनस्पति उपयोगी मानिन्छ । 

सामुदायिक वनको लाहा खेती विस्तारका अध्यक्ष नेत्रकुमार राईका अनुसार वनले हाल शिरीष, मौवा र बयरमा लाहा उत्पादन गर्ने किरा हुर्काइरहेको छ । किरा हुर्केपछि क्रमशः सेमियलतामा सार्ने राईले बताउनुभयो । ठुला रुखमा लगाउँदा उत्पादन सङ्कलन गर्न जोखिम र लागत खर्च धेरै लाग्ने भएपछि समियताको बिरुवा लगाएको राईको भनाइ छ । 

उहाँले भन्नुभयो, “थोरै खर्चमा राम्रो आम्दानी लिन सकिन्छ भनेर खेती सुरु गरेका हौँ । हालसम्म खेती विस्तारमै लगानी गरिरहेका छौँ । सामुदायिक वनभित्र खेती गर्दा पनि हालसम्म ५० हजार रुपियाँ खर्च भइसकेको छ ।” उहाँले वनका उपभोक्ता समूह बनाएर दैनिक खट्ने गरेकोसमेत सुनाउनुभयो । 

व्यापार तथा निकासी प्रवर्धन केन्द्र विराटनगरका सूचना अधिकारी देवराज न्यौपानेका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० मा २० करोड ५२ लाख ९३ हजार रुपियाँ बराबरको १० लाख ६५ हजार २६७ किलो लाहा आयात भएको देखिन्छ । यस्तै आव २०८०/८१ मा १७ करोड २१ लाख ४० हजार रुपियाँको चार लाख ४६ हजार ६९२ किलो लाहा आयात भएको छ । सोही आवदेखि नेपालबाट पनि लाहा निर्यात हुन थालेको छ । उक्त वर्ष चार लाख तीन हजार रुपियाँको एक हजार १५३ किलो लाहा निर्यात भएको छ । 

चालु आवको छ महिनामा नै १० करोड २६ लाख ७६ हजार रुपियाँको दुई लाख ११ हजार १७७ किलो लाहा आयात भइसकेको छ । यस अवधिमा नेपालबाट १४ लाख ५० हजार रुपियाँको लाहा निर्यात भएको छ ।

लाहाको आयात उच्च भएको देखेपछि झापा गौराहदका डम्बर विश्वकर्माले २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहा खेती गर्दै आउनुभएको छ । गौरादह–२ मा निर्मल चप्राले उद्योग सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई कामसमेत दिँदै आउनुभएको छ । विश्वकर्माले भन्नुभयो, “लाहा जति उत्पादन भए पनि बजारको अभाव छैन तर राज्यले चोरीबाटोबाट आउने लाहाको आयात रोक्नु पर्छ ।” 

उहाँले भन्सार तिरेरभन्दा नतिरी बढी लाहा आयात हुने गरेको बताउनुभयो । यसैबिच लाहा खेती प्रवर्धनमा मिडियाको भूमिका विषयमा नेपाल पत्रकार मञ्चले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।