• २२ माघ २०८१, मङ्गलबार

चौधरीलाई बाल साहित्य लेखन पुरस्कार

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ २१ गते । शिक्षक तथा कलाकार इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बाल साहित्य लेखन पुरस्कार प्रदान गरिएको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेली र नेपाल बालसाहित्य संस्थाका अध्यक्ष प्रमोद प्रधानले चौधरीलाई पुरस्कार प्रदान गर्नुभयो । 

चौधरीलाई २०७९ सालमा रूम टु रिडद्वारा प्रकाशित  ‘नयाँ बनपाले’ बालचित्र पुस्तकका लागि २०७९ को ८ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनको सर्वोत्कृष्टका लागि  ‘नेबासास बाल पुस्तक लेखन पुरस्कार’ प्रदान गरिएको हो।

झन्डै ५ वर्षदेखि बालसाहित्य अनुवाद तथा लेखन गर्दैआएका चौधरीको अहिलेसम्म ४ वटा (चित्रपुस्तक) प्रकाशन भएका छन् । उहाँले अङ्ग्रेजीबाट नेपाली, थारू र रानाथारू भाषामा दर्जनौं बालकथा अनुवाद गर्नुभएको छ ।

पुरस्कार ग्रहणपछि चौधरीले नेपाल बाल साहित्य समाजलाई धन्यवाद दिनुभयो । आफ्नो कथालाई उत्कृष्ट बनाउनमा महत्त्वपूर्ण भूमिका निभाएकोमा वरिष्ठ बालसाहित्यकार, आख्यानकार अनन्त वाग्ले र आकर्षक चित्र बनाउने अनुश्री लामालाई पनि धन्यवाद दिनुभयो ।