• २० माघ २०८१, आइतबार

समय अनुकुल शिक्षा नीतिमा सुधार आवश्यक : मन्त्री तिमिल्सिना

blog

नेपाली कांग्रेस दाङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री जन्मजय तिमिल्सिना । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, माघ २० गते । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समय अनुकुल शिक्षा नीतिमा सुधार गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले देशको विकाससँगै रोजगारीका लागि महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षालाई समय अनुकुल बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । 

देश विकासका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले नागरिकलाई सचेतनासँगै समृद्धिका लागि समय अनुकुल शिक्षा नीति बन्न आवश्यक रहेको बताउनुभएको हो । बद्लिदो समय अनुकुल शिक्षा नीति बन्न नसक्दा लुम्बिनीमा शिक्षाको अवस्था कमजारे रहेको भन्दै उहाँले वर्तमान समय अनुकुल पढेपछि आफ्नै ठाउँमा केही गरिखाने शिक्षा नीति आवश्यक रहेको बताउनुभएको थियो। शिक्षा नीति परिवर्तनका लागि अहिले सङ्घीय सरकारले पहल थालेको भन्दै देशको माटो सुहाउँदो अध्ययन पछि आफ्नै देशमा केही गरिखाने शिक्षाको आवश्यकता रहेको बताउनुभएको थियो ।  

उहाँले गत वर्षको एसइई परिक्षामा ८० हजार तीन सय २७ जनाले परीक्षा दिएकोमा ३९ प्रतिशत अर्थात् ३१ हजार एक सय छ जना विद्यार्थी उत्तीर्णले प्रदेशको कमजोर अवस्था देखाएको बताउनुभएको थियो । त्यसमा पनि सामुदायिक विद्यालयमा करिब २८ प्रतिशत मात्रै उत्तीर्ण भएको तथ्याङ्क रहेको भन्दै यसमा व्यापक सुधार गर्न आवश्यक रहेको बताउनुभयो । 

एसइईमा पास हुन नसकेका बाँकी ४९ हजार विद्यार्थी कहाँ छन्, उनीहरुको बारेमा सबैको चासो हुनुपर्ने भन्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, "शिक्षा प्रणालीमा सुधार गर्दै हराएका विद्यार्थीलाई पढाईमा ल्याउनका खोजी गर्नुपर्छ । हराएका विद्यार्थीले के गर्दैछन भनेर अभिलेख समेत राख्न सक्नुपर्छ ।" 

मन्त्री तिमिल्सिनाले देशलाई विकासको सही बाटोमा हिँडाउन जनसाङ्ख्यिक लाभको अधिकतम उपयोगमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । युवा जनशक्तिको उपयोगबाट मात्रै देश विकास सम्भव रहेको भन्दै मन्त्री जनसाङ्ख्यिक लाभको विशेष समीक्षा गरेर राज्यका तीन तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको हो । करिब एक करोड २४ लाख जनसाङ्ख्यिक लाभमा पर्ने १६ देखि ४० वर्ष उमेर समुहका युवाहरू नेपालमा रहेको बताउँँदै यसको दीर्घकालीन उपयोगका विषयमा सरकारले ठोस योजना ल्याउन ढिलाई गर्न नहुने बताउनुभयो ।  

देश विकासका लागि शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको भन्दै बताउनुभयो । अध्ययन गरेर रोजगारमा जोडिने बेला युवा जनशक्ति विदेश जाने अवस्था रहेको भन्दै मन्त्री तिमिल्सिनाले यसलाई परिवर्तन गर्दै पढि सकेपछि आफ्नै ठाउँमा काम गरिखाने शिक्षाको आवश्यकता रहेको बताउनुभयो । 

देश विकासको सिङ्गो प्रणालीलाई सञ्चालन गर्ने प्रमुख हतियार शिक्षा रहेको भन्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, "शिक्षा नीतिलाई समय अनुकुल सुधार र परिस्कृत गर्दै अघि बढ्नसके मात्र देशको समृद्धि हुन सक्छ । यहि अवस्था रहिरहने हो भने अवको तीस वर्षपछि देशमा युवा जनशक्ति नै नभेटिन सक्छ ।" शिक्षालाई ओझेलमा पार्न खोज्दा यसको असर विकास निर्माणमा परिरहेको भन्दै उहाँले देखा परेका समस्यालाई समीक्षा गर्दै तथ्याङ्कले बोलेको कुरालाई आत्मसात गरेर सुधारको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

जनसाङ्ख्यिक लाभअन्तर्गत पर्ने युवालाई रोजगारी, प्रविधि, पर्यटन, शिक्षासँग जोड्न सकिएन भने ३० वर्षपछि देशमा युवा जनशक्ति भेटाउनै समस्या हुने भन्दै उहाँले देशको समृद्धिका लागि युवालाई रोजगार, प्रविधि, पर्यटन, शिक्षासँग जोडेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको थियो । 

"निश्चित समयमा गरिनुपर्ने काममा राज्यले ढिलाई गर्यो भने यसको असर चौतर्फी रूपमा पर्छ । युवाहरुलाई देशमै उपयोग गर्न र लाभ उठाउन ढिलाई गर्नु हुँदैन । युवालाई रोजगारी, प्रविधि, पर्यटन, शिक्षालगायत क्षेत्रमा जोड्न जरुरी छ", मन्त्री तिमिल्सिनाले भन्नुभयो, "शिक्षामा गुणस्तर कायम गर्दै युवा जनशक्तिलाई भरपुर उपयोगमा प्रदेश सरकारले अहिले ध्यान दिएको छ । यसका लागि शिक्षामा सुधारको प्रयास भइरहेको छ ।" 

कार्यक्रम नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको थियो ।