• २० माघ २०८१, आइतबार

विद्यार्थीलाई निःशुल्क चित्रकला शिक्षा

blog

अस्ट्रेलियाका चित्रकार रे मार्सदेन विद्यार्थीलाई चित्र बनाउन सिकाउँदै ।

राजकुमार भट्टराई

खोटाङ, माघ २० गते । अस्ट्रेलियाका चित्रकारले दिक्तेलमा विद्यार्थीलाई निःशुल्क चित्र कोर्न सिकाउन सुरु गर्नुभएको छ । तीन महिनासम्म निःशुल्क विद्यार्थीलाई चित्र बनाउन सिकाउन आउनुभएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गर्नुभएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो वर्ष आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा भाग लिन आउनुभएका कलाकार मिस्टर रे अहिले विद्यार्थीलाई चित्र बनाउन सिकाउन आइपुग्नुभएको हो ।

दिक्तेल वरिपरिका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका ३५ जना विद्यार्थी चित्रकला कक्षामा सहभागी भएका छन् । एक महिनासम्म सरस्वती माध्यमिक विद्यालयमा उक्त विद्यार्थीहरुले चित्र बनाउन सिक्ने नगरपालिकाले जनाएको छ । त्यसपछि पुनः अर्को विद्यालयमा लगेर नजिकका विद्यार्थी समेटेर चित्र बनाउन सिकाउने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । 

हाल मिस्टर रे तीन महिनाको लागि नेपाल आउनुभएको छ । भिजा मिलेमा अन्य समय पनि खोटाङमा बसेर विद्यार्थी पढाउने उहाँको तयारि छ । सोही अनुसार भिजा मिलाउन लागिएको मेयर भट्टराईले बताउनुभयो । अष्ट्रेलियासँगै जर्मनीका चित्रकारले पनि दिक्तेलमा आएर निःशुल्क चित्रकला सिकाउने तयारी भइरहेको उहाँको भनाइ छ । विद्यार्थी तहबाटै उत्कृष्ट चित्रकार जन्माउन नगरपालिका लागिरहेको मेयर भट्टराईले बताउनुभयो । 

नगरपालिकाले २०८० असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । उक्त चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित १४ देशका ४३ चित्रकारले १०६ थान चित्र तयार पारेका थिए । नगरपालिकाले २०८० फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा चित्रकला प्रदर्शनीसमेत आयोजना गरेको थियो । दिक्तेलमा तयार पारेर काठमाडौंमा लगेर प्रदर्शनमा राखिएपछि पुनः दिक्तेलमा ल्याइएका क्यान्भासलाई राखेर मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरिएको छ ।

दिक्तेलस्थित चिल्ड्रेनपार्क तथा सपिङ कम्प्लेक्सको पाँच वटा कोठामा १८२ थान चित्र राखेर कला सङ्ग्रहालय स्थापना गरिएको हो । जिल्लाको पर्यटन प्रवर्धनसँगै कला, साहित्य र मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि कला सङ्ग्रहालय स्थापना गरिएको मेयर भट्टराईले बताउनुभयो । जिल्ला सदरमुकाम दिक्तेलमा स्थापना गरिएको सङ्ग्रहालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको थियो ।