• २० माघ २०८१, आइतबार

वृद्धभत्ता कि वृद्धाश्रम

blog

नेपालमा वृद्धभत्ता प्रदान गर्ने परम्परा आव २०५१–५२ को वार्षिक बजेटपश्चात् आरम्भ गरिएको हो । नेकपा (एमाले)का नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएका बखत अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको उक्त बजेटमा ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ शीर्षकमा प्रतिमहिना एक सय रुपियाँ उपलब्ध गराउने व्यवस्था गरिएको थियो । त्यसयता पटक पटक वृद्धभत्तामा वृद्धि गरिँदै अहिले मासिक चार हजार पु-याइएको छ । कति भत्ता पर्याप्त हो भन्ने अलगै बहसको विषय हुन्छ तर प्रथम पटक सुरुवात गरेको हुँदा यसको श्रेय नेकपा एमालेले लिँदै आएको छ । मासिक रूपमा पेन्सन वा कुनै अन्य आम्दानी नभएका पाका नागरिकलाई यसले केही भए पनि भरथेग त गरेको छ तर यसैले मात्रै ज्येष्ठ नागरिकको चाहनाको पूर्ति गर्न सक्छ र भन्ने प्रश्न उठेको छ ।

वृद्धभत्ताको व्यवस्था गरेका कारण मुलुकका ज्येष्ठ नागरिकको मन एमालेले जित्न सफल भएको अनुभव गरी त्यसपछि यसमा वृद्धि गर्ने होडबाजी नै चलेको देखिन्छ । नेपालमा बारम्बार सरकार परिवर्तन हुने र सरकारले केही गरेको देखाउन वृद्धभत्ता वृद्धि गर्ने लहर नै चलेको पाइन्छ । पछिल्ला समयमा एमालेले भन्दा अरू दल सरकारमा रहँदा नै भत्तामा अधिक वृद्धि गरिएको छ र पनि एमालेले पाएको श्रेय अरू कसैले खोस्न सकेका छैनन् । पालनपोषण गर्नेको भन्दा बीजारोपण गर्ने पिता र जन्मदिने आमाकै अधिकार भए जस्तै वृद्धभत्ता प्रकरणमा एमालेकै एकलौटी अधिकार देखिँदै आएको छ ।

ज्येष्ठ नागरिकको मन जित्ने प्रतिस्पर्धा चल्दै जाँदा ७० वर्ष उमेर भएपछि पाइने वृद्धभत्ता ६८ को उमेरमै पाइने बनाइएको छ । अझ एक पटक त ६५ वर्षमै प्रदान गरिने घोषणा गरिएको थियो तर यो प्रावधान भने लागु हुनै नपाई तुहियो । ६८ वर्षको प्रावधान आरम्भ गरिएपछि नेपालका २० लाख हाराहारी ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा अन्तर्गत यो सुविधा प्राप्त गर्ने अवसर पाएका छन् । रकम तलमाथि भए पनि सामाजिक सुरक्षा अन्तर्गत नै कर्णालीका बासिन्दा, अपाङ्ग, एकल महिलालगायतका लागि ६० वर्षमै यो सुविधा दिइन्छ । कतिपय अवस्थामा ६० वर्ष मुनिकाले समेत पाउन व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवामा विस्तार हुँदै जाँदा नेपालीको औसत आयु वृद्धि हुँदै गएको छ । मानिसमा देखिने बुढ्यौली पनि पहिलाको जस्तो ४०÷५० कै उमेरमा देखिन छाडेको छ । शिक्षा, खानपान र रहनसहन आदिमा आएको परिवर्तनले सहरका बासिन्दा र गाउँमा सुविधाप्राप्त नागरिक हिजोआज ७० वर्षसम्मै पनि सशक्त रहेको पाइन्छ । ५८ वर्षमा निजामती कर्मचारीबाट अवकाशप्राप्त मानिस त युवा उमेरकै देखिन थालेका छन् । यसैले पनि कर्मचारीले अवकाश पाउने उमेर ६० वर्ष र प्राध्यापकले ६५ वर्षमा अवकाश पाउने व्यवस्था गर्नुपर्ने आवाज उठिरहेका छन् । वृद्धभत्ता पाउने उमेर भने घटाउँदै लगिएको छ ।

उमेरलाई मात्रै एक मात्र आधार बनाएर दिइएको वृद्धभत्ताले समष्टिमा न्याय हुन नसकेको चर्चा पनि चल्ने गरेका छन् । जसका घरमा वर्षमा एक मुरी अन्न पनि भित्रिन्न उसले पनि उत्तिकै भत्ता पाउने र जसको आय सुन्दै बेहोस हुने अवस्था छ, उसले पनि उत्ति नै पाउनुले समाजवादी न्याय हुन नसक्ने तर्क व्यापक बन्दै गएका छन् । आवश्यकताका आधारमा दिइने व्यवस्था भएमा नै यो कार्यव्रmम प्रभावकारी हुन्छ भन्नेहरूको सङ्ख्या बढ्दै गएको पाइन्छ । अझ यसरी नगदमा भत्ता बाँड्नुभन्दा पनि यसको विकल्पमा दिगो कार्यव्रmम तर्जुमा गर्नुपर्ने भनाइ पनि आउन थालेका छन् । पैसा मात्रै बुढेसकालमा सहाराका रूपमा पर्याप्त नहुने उदाहरण व्यावहारिक रूपमै देखिएका छन् ।

आर्थिक रूपमा अशक्त वृद्धवृद्धाको त आफ्नै पीडा छँदै छ, सम्पन्न वृद्धवृद्धाको पनि नेपालमा बिजोग देखिन थालेको छ । शिक्षा र धन दुवैमा कमजोर अभिभावकका सन्तति खाडी मुलुकतिर गएका होलान् तर ऋणधन गरेर विदेश पठाउन सक्नेहरूले अमेरिका, युरोपतिर पठाएका छन् । नेपाल युवाका दृष्टिबाट रित्तो छ, जुनसुकै घर हेरे पनि बुढापाकाले धानेको मात्रै देखिन्छ । बिजुली अफिसमा लाइन हे¥यो ज्येष्ठ नागरिक, खानेपानीको लाइनमा ज्येष्ठ नागरिक, वडा कार्यालयमा मालपोत बुझाउने लाइनमा ६० कटेकै मानिस मात्रै देखिन्छन् । सरकारी कार्यालयमा ज्येष्ठ नागरिकलाई छुट्याएको लाइनतर्फ भिड देखिन्छ भने अन्यका लागि छुट्याइएको ठाउँ खाली जस्तै भेटिन्छ ।

प्रधानमन्त्री भएकाहरूका सन्तति विदेशमै छन् । मन्त्रीहरूको छोराछोरी कता छन् भनेर सोध्नै पर्दैन । निजामती कर्मचारीका केटाकेटी स्वदेश बस्ने र पढ्ने कुरै भएन । धनीमानी व्यापारीका सन्तानले नेपालका विद्यालय वा कलेजमा पढ्दा इज्जत रहने भन्ने नै हुँदैन । नेता बनेर हिँडेकाले छोराछोरी नेपालमै राखे त कमजोर नेतामा दरिने नै भयो । विदेश गइसकेका स्वदेश फर्कने त कुरै भएन । देश चलाउने जिम्मा पाएकाका सन्तानसमेत भोलिका दिनमा नेपाल नफर्कने भएपछि नेपालका हितमा कसले काम गर्ला भन्ने चिन्ता सर्वसाधारणमा पलाउन थालेको छ । सक्षम र सन्ततिले बोलाउने सम्भावना भएकाले त बुढेसकालमा उतै गएर दिन बिताउने योजना बनाइसकेका छन् तर जसका सन्ततिले बाबुआमालाई उता बोलाउने छाँटकाँट देखिएको छैन उनीहरू मात्रै यहाँ बस्न बाध्य हुन्छन् । 

यस्तै अवस्था बढ्दै जाँदा हिजोआज अस्पतालमा साह्रै बिजोग देखिन थालेको छ । एक जना वृद्धको कुरुवा अर्को वृद्ध मात्रै देखिन्छ । हल न चल भएर अस्पताल भर्ना भएकी वृद्धाको सेवामा उसको पति वा छिमेकी बस्नुपर्ने बाध्यता छ । छोराछोरीले त मोबाइलमा फोन गरेर सान्त्वना दिने र खर्च पठाइदिने बाहेक अन्य विकल्प समाप्त प्रायः भइसकेका छन् । कथंकदाचित् कुनै एक छोरा वा छोरी विदेश नगई नेपालमा बसेर देशको सेवा वा अस्पतालमा बाबुआमाको सेवा गरिरहेको छ भने ऊ सन्ततिमध्येको कमजोरमा दरिन्छ ।

डाक्टर भएका छोराछोरी नेपालमा छैनन् । इञ्जिनियरिङ पढेको मान्छे नेपालमा बसे त बेइज्जत हुने नै भयो । नर्सिङ पढेका छोरीलाई त नेपालका अस्पतालले पारिश्रमिकमा शोषण गरेका कारण यहाँ बस्ने अवस्थै छैन । नेपालमा शिक्षक सेवा आयोगमार्फत शिक्षकको विज्ञापन खुल्दा चाहिए जति आवेदन पर्दैनन् । विश्वविद्यालयले कर्मचारी माग गर्दा आवश्यक सङ्ख्यामा दरखास्त नै पर्दैनन् । स्वरोजगार र कृषिकर्मका लागि नेपालमा पर्याप्त अवसर छ तर युवाको प्राथमिकतामा पर्नै छाड्यो । यद्यपि नेपालमा अवसर छैन भनेर बाहिरिनेहरूको लर्को घटेको छैन र तत्काल घट्ने सम्भावना पनि देखिएको छैन ।

यसरी नेपालबाट युवा बाहिरिएका कारण बाबुआमाले मृत्युवरण गर्दा पनि लास जल्नका लागि दुई तीन दिन कुर्नैपर्ने अवस्था सिर्जना भएको छ । आजको आजै जल्न पाएका लास निकै कम हुन थालेका छन् । पुरुषको अभाव भएका कारण कतिपय गाउँमा लास उठाउनै नपाएका समाचार पनि आइरहेकै छन् । पहिले पहिले लास बासी राख्न हुँदैन भनेर तात्तातै कुदाएको देखिन्थ्यो तर हिजोआज त्यसो हुने क्रममा ज्यादै न्यूनता आएको छ । हुँदाहुँदा परम्परा नै यही हो भनेर नेपालमै भएको छोराछोरीले समेत बाबुआमाको लास दुई दिन घरमा राखेर जलाउन लैजाने प्रचलन बस्ने हो कि जस्तै भएको छ ।

बच्चा जन्मिँदा अस्पतालमा बाबुआमाले हप्तौँ कुरे । बाल्यकालमा छोराछोरी बिरामी हुँदा पनि काखमा च्यापेर रातभरि ननिदाई मातापिताले सन्ततिलाई कुरेर बसे । छोराछोरी युवा भएपछि कलेजबाट कुन बेला घर आउँछन् भनी बाबुआमाले भान्सा कुरेर बसे । जागिर खाएका छोराछोरी मिटिङ भन्दै मध्यरातसम्म घर नआउँदा नखाई र नसुती बाबुआमाले दैलो कुरेर बसे । आज तिनै छोराछोरी मरेको पर्सिपल्टसम्ममा आइपुग्छन् कि भनेर तिनै मातापिताले कुरेर बस्नुपर्ने भएको छ । यो साह्रै दुःखद परिस्थिति हो । बिरामी पर्दा अस्पतालमा भेट्न आउँछन् कि भन्ने त कसैले आसै गर्दैनन् ।

यो अवस्थामा सरकारले अब वृद्धभत्ताको सट्टा अन्य विकल्पको सोच निर्माण गर्नुपर्ने भएको छ । वृद्धभत्ता भन्दा पनि बुढेसकालमा आवश्यक पर्ने सेवासुविधाका बारेमा ध्यान दिन आवश्यक छ । आर्थिक अवस्थाका आधारमा सामाजिक सुरक्षाका लागि कोष निर्माणमा नागरिकबाट कर उठाउने र वृद्धावस्थामा नागरिकलाई ढुक्क हुने परिस्थिति निर्माण गर्नु पर्छ । औषधी खर्च नलाग्ने, अस्पतालमा कुरुवाको आवश्यकता नपर्ने र सही अवस्थामा दिन काट्नका लागि सुविधा सम्पन्न वृद्धाश्रमको आवश्यकता खट्किन थालेको छ । खल्तीमा पैसा भएर पनि राति अस्पताल लैजाने मान्छे नभएका कारण घरमै अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको तर्फ ख्याल गर्नुपर्ने समय आएको छ ।

छोराछोरीले लखेटेका कारण सडकमा रात बिताउन बाध्य बनाइएकाहरूको बाहुल्य रहेका अहिलेका वृद्धाश्रम कामचलाउ खाले मात्रै छन् । नागरिकबाट सामाजिक सुरक्षाका लागि कर नउठाई चलाइएका वृद्धाश्रमले बुढेसकालमा चाहिने सेवा दिन कठिन हुन्छ नै र सकेका पनि छैनन् । युवा अवस्थामा भन्दा सेवा चाहिने वृद्धावस्थामै हो । भोलिका दिनमा सरकारमा रहेकाहरू, नीति निर्माणमा खटिनेमध्ये जोकोहीको यस्तो अवस्था आउँदैन भन्ने छैन । त्यसैले वृद्धावस्थाका लागि उपयुक्त नीति बनाउन ढिला गर्न हुँदैन । 

Author

प्राडा शान्तिकृष्ण अधिकारी