निशा राई
धरान, माघ २० गते । २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले विजय सुरुवात गरेको छ ।
धरान–१६ रङ्गशालामा शनिबारदेखि सुरु भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै लिग च्याम्पियन चर्च बोइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेल खेले पनि खेलको दोस्रो हाफको ४२ औं मिनेटमा चर्च बोइजका सन्तोष खत्रीले एक मात्र निर्णयक गोल गर्नुभयो । विदेशी खेलाडी एंड्रिउ इबो यामाहाको पासमा सन्तोषको निर्णयक गोलसँगै चार पटकको विजेता पुलिस प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
खेलको म्यान अफ द म्याच चर्च बोइजका सन्तोष खत्री हुनुभयो । उहाँले नगद दश हजार प्राप्त गर्नुभएको थियो । आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक धरान फुटबल क्लब र युके एफसी भारतबिच हुने आयोजकले जनाएको छ ।
माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण बस्नेतले गर्नुभएको थियो ।