• १९ माघ २०८१, शनिबार

सञ्चालनमा आउन सकेन पिपलमुडाको बेलीब्रीज

blog

हुम्ला र मुगु जोड्नका लागि निर्माण गरिएको पिपलमुडाको बेलीब्रीज । तस्बिर : कालीबहादुर थापा

कालीबहादुर थापा
हुम्ला, माघ १९ गते ।
हुम्ला र मुगु जोड्नका लागि निर्माण गरिएको पिपलमुडाको बेलीब्रीज सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । निर्माण कार्य सम्पन्न हुन करिब तीन दिन मात्र लाग्ने भए पनि सम्झौता अनुसारको बजेट भुक्तानी नभएकाले बेलीब्रीज निर्माण सम्पन्न नगरेको निर्माणको जिम्मा लिएको रबि चक्र निर्माण सेवाका बखतबहादुर मल्लले बताउनुभयो ।

उहाँका अनुसार २०७८ साल असार २७ गतेका दिन सोरु गाउँपालिका र रबि चक्र निर्माण सेवाबिच उक्त बेलीब्रीज निर्माणका लागि चार करोड ५१ लाख दुई हजार सात सय ५९ रुपियाँमा सम्झौता भएको थियो । तर सोरु गाउँपालिकाले अहिलेसम्म आफुलाई दुई करोड मात्र भुक्तानी गरेको र बाँकी रकम भुक्तानी नदिएकाले निर्माण कार्य रोकिएको उहाँले जानकारी दिनुभयो ।

बेलीब्रीजको सबै काम सम्पन्न भई दुई वटा फट्टा हाल्न मात्र बाँकी छ । तर आफूले  पाउनु पर्ने बाँकी रकमको भुक्तानी नभएसम्म काम अगाडि नबढाउने उहाँको भनाइ छ ।

गाउँपालिकाले भने आफूले सम्झौता गरे अनुसारको रकम बर्सेनी भुक्तानी गरिरहेकाले अबको केही दिनमा बेलीब्रीजको उद्धघाटन गर्ने तयारी भरहेको बताएको छ । केही सामग्रीहरु आउन बाँकी रहेकाले उक्त सामग्रीहरु मुगु जिल्ला सदरमुकाममा पुगिसकेकाले अबको केही दिनमा पुल सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो । उहाँले यही माघ २५ गतेसम्म बेलीब्रीज उद्धघाटन गर्ने तयारी भएको जानकारी दिनुभयो ।

निर्माण सेवाका प्रतिनिधिहरुले जे भने पनि आफुहरुले सोही अनुसारको रकम बर्सेनी भुक्तानी गरी रहेको बताएका छन् । तर निर्माणको जिम्मा लिएको रबि चक्र निर्माण सेवाले भने थोरै मात्रै काम बाँकी राखेर आफ्नो बाँकी रकम भुक्तानी नदिएसम्म पुल नजोड्ने बताउँदै आएको छ । भुक्तानी आधा बाँकी छ, सबै सामग्रीहरु उधारोमा हालिएको छ भने ढुवानीदेखि कामदार सबै उधारोमा चलाउँदा आफुहरुलाई काम गर्न नसक्ने अवस्था आएपछि काम रोक्नु परेको बताउँदै आएको छ ।

उक्त पुल निर्माण भएपश्चात हुम्ला र मुगुका नागरिकहरु सडक सञ्जालमा जोडिने भएका छन् । कर्णाली करिडोरमा जोडिएको उक्त पुल सञ्चालनमा आएपश्चात रारा जान सजिलो र अत्यन्तै छोटो हुने छ भने हुम्लाबाट मुगुको रारा हुँदै जुम्ला, कालीकोट दैलेख हुँदै सुर्खेत जान समेत सजिलो हुने भएको छ । उक्त पुल नबन्दा हुम्लाका नागरिकहरु रारा जानका लागि बाजुराको धुलाचौर हुँदै खत्याडबाट जुम्ला पुगेर उल्टै रारा आउनु पर्ने बाध्यता छ । उक्त पुल बन्दा रारा जान निकै सजिलो हुने भएको छ ।