अलिबाबा समूहले हङकङबाट प्रकाशित गर्दै आएको साउथ चाइना मर्निङ पोस्ट (२९ जनवरी) मा मार्क म्याग्नियर र खुश्बु रजदानले लेखेका छन् “चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) स्टार्ट अप डिपसिकले यो साता अमेरिकी सट्टाबजारको टेक सेक्टरमा ल्याएको भूकम्पीय धक्काले वालस्ट्रिट र सिलिकन भ्यालीलाई झट्का दिएको छ, जसले वासिङ्टनलाई निर्यात प्रतिबन्ध र ‘सानो आँगन ठुलो पर्खाल’ वाला चाल बदल्न दबाब पुगेको छ ।”
उता न्युयोर्क टाइम्समा २९ जनवरीमै एरिन ग्रिफिथको एउटा रिपोर्ट छापिएको छ, जसमा उहाँ लेख्नुहुन्छ, “दुई वर्षयता भेन्चर क्यापिटल फर्महरूले एआई स्टार्ट अपमा लगानी ओइर्याएका थिए । उनीहरूले २०२३ र २०२४ का बिचमा मात्र यस क्षेत्रमा १५५ डलर खन्याए । ओपन एआईर एन्थ्रोपिकले मात्रै मानव जस्तै बौद्धिक एआई बनाउने भन्दै क्रमशः २४ र १६ अर्ब डलर उठाएका थिए । ...(लगानीकर्तामा) एआईका क्षेत्रमा लगानी बढाउन चढेको यो ज्वरोमाथि डिपसिकले प्रश्न उठाइदिएको छ । चिनियाँ स्टार्ट अप कम्पनीले लगभग बिनापैसा ओपन एआईको च्याट जिपिटी या एन्थ्रोपिक्सको क्लाउड च्याटबोट जत्तिकै शक्तिशाली एप बनाउन सक्छ भने यी अमेरिकी कम्पनीलाई त्यत्रो पैसा किन चाहियो ?”
यो एक प्रकारको उथलपुथल ल्याउने भूकम्प केवल डिपसिकले जम्मा पाँच करोड ६० लाख डलरमा एआई बनाएकाले मात्र अनुभव गरिएको होइन बरु यो स्टार्ट अप कम्पनी चीनको भएको र त्यसमाथि पनि यो कम्पनीले सित्तैमा आफ्नो उत्पादनको सबै सूत्र सबैका लागि सित्तैमा उपलब्ध गराएकाले पनि हो । वालस्ट्रिट, सिलिकन भ्याली र ह्वाइटहाउस सबैलाई एकै पटक झस्काइदिएको यो घटनाले मानव जातिले गरेको उच्चतम प्राविधिक उपलब्धीका लागि खुसी बाँड्नुको साटो जुन उत्तेजनापूर्ण हलचल ल्याएको छ, त्यसले यसको राजनीतिक अर्थ खुल्छ ।
भएको त यत्ति हो
ओपन एआई नामक कम्पनीले २०२२ मा ल्याएको मान्छेले गर्नै नसक्ने द्रुतगतिमा आफूसँग भएका सञ्चित सूचनालाई प्रशोधन गरेर प्रश्नहरूको उत्तर दिन सक्ने च्याटजिपिटी नामको एआई एप्सले मानिसहरूको सोच्ने तरिका र सूचनामाथिको पहुँचका क्षेत्रमा, अनुसन्धान र शिक्षाका क्षेत्रमा एउटा क्रान्ति ल्याएको थियो । पछि यस्ता एप्सहरू गुगललगायतले पनि सार्वजनिक गरे । यी एआई प्रविधिका क्षेत्रमा अमेरिकी वर्चस्व देखाउने शक्तिशाली हतियार पनि बनेका थिए तर २० जनवरीका दिन चिनको यसअघि कुनै नाम नसुनिएको डिपसिक नामक कम्पनीले कृत्रिम बौद्धिकता विधामा नयाँ एप्स सार्वजनिक गर्यो र यसअघि ओपन एआइको च्याटजिपिटी, गुगलको जेमिनीलगायत अमेरिकी कम्पनीको एकलौटि रहेको एआई टुल्समाथि चुनौती दियो । एक सातामै यसलाई डाउनलोड गर्नेहरूको सङ्ख्या चीनमा मात्र होइन अमेरिकामा पनि अरू एप्सलाई उछिन्ने गरी बढ्यो । सार्वजनिक वस्तुका रूपमा खुला प्रयोगमा आएको एक सातामा नै यसले विश्वभर, खास गरी अमेरिकामा लोकप्रिय एप्सका रूपमा आफूलाई स्थापित मात्र गरेन बरु यसअघिका यस प्रकारका एआईलाई विस्थापित गर्ने सम्भावना देखायो । त्यसलाई देखेर अत्तालिएको वालस्ट्रिट सेयर बजारमा २७ जनवरीमा एउटा आँधी आयो र एकै दिन लगानीकर्ताले छ सय अर्ब डलर गुमाए । यद्यपि भोलिपल्ट त्यो समालिएको छ तर यसका केही अर्थराजनीतिक कारण र प्रभाव छन्, जसले कस्तो कोल्टो फेर्ने हो भनेर अनुमानसम्म गर्न सकिन्छ ।
वर्चस्वको प्रतिस्पर्धा
युरोपेली उपनिवेशवादीले उत्तर र दक्षिण अमेरिकाका आदिवासीलाई मात्र होइन अफ्रिका र एसियाका पुराना सभ्यतालाई पनि हतियार र प्रविधिकै बलमा नियन्त्रणमा राखेर कज्याएका थिए । नेपालसँगको युद्ध जित्ने इस्ट इन्डिया कम्पनीको मुख्य बल उसँग भएको हाम्रोभन्दा उच्चस्तरको हतियारमा थियो । विश्वको इतिहास हेर्दा थाहा हुन्छ जसको प्रविधि उच्चस्तरको छ, जसका हतियार बढी उच्चस्तरका छन्, उसले अरूमाथि नियन्त्रण गरेको छ । ज्ञान र विज्ञानको विकासबिना उच्चस्तरको प्रविधि र हतियार बनाउनु सम्भव छैन । यी तिनै कुरा एकअर्काका पूरक रहेर वर्चस्वलाई स्थापित गर्छन् ।
पहिलो विश्वयुद्धको सेरोफेरोबाट नै ज्ञान, विज्ञान तथा प्रविधि, हतियार र धनमा अमेरिकी वर्चस्व स्थापित भएको थियो । यो सय वर्ष जति विश्व रङ्गमञ्चको निर्णायक शक्ति बनेर रह्यो तर १० वर्ष यता चीनले यी क्षेत्रमा गरेको तीव्र विकासले अमेरिका सरह नभए पनि नजिकैबाट पिछा गर्न थालेको छ । केही क्षेत्र छन्, जसमा अमेरिकीहरूको भन्दा चिनियाँ प्रविधि उच्चस्तरको हुँदै छ । यो छैटौँ जेनरेसनको प्रविधितिरको फड्को होस् या टेस्ला र एप्पललाई टक्कर दिइरहेका बिवाइडी र हुवावे होऊन् प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । अमेरिका यो प्रतिस्पर्धामा चीनलाई जितिरहन चाहन्छ भन्ने कुरा उसले लुकाएको छैन । अमेरिकी प्रविधिको चीन निर्यातमा गरिएको नियन्त्रण, चिनियाँ प्रविधिको विस्तारलाई रोक्न लगाइएको हुवावे र टिकटकलगायतका कम्पनीमाथिको प्रतिबन्ध (यद्यपि टिकटक अझै खुला छोडिएको छ) र हालै राष्ट्रपति ट्रम्पले संसारकै ठुलोमध्येको मानिने सेमिकन्डक्टर उत्पादक ताइवानी कम्पनी फक्सकनलाई दिएको धम्की यही प्रतिस्पर्धाका उदाहरण मात्र हुन् ।
चीनमाथिको यो प्रतिबन्धले अमेरिकाको प्रविधिमाथिको वर्चस्व कायम राख्नमा खासै योगदान गर्न सक्ला जस्तो छैन । केही वर्ष या महिना ढिलो होला तर चिनले जे जस्तो विकास गरिरहेको छ त्यसलाई हेर्दा अमेरिकाको वर्चस्व कायम नरहनेतिरै सङ्केत गर्छन् । डिपसिक सार्वजनिक उपभोगमा आउन थालेपछि आएको हुरीले प्रविधिको क्षेत्रमा निर्माण गर्दै गएको चिनियाँ शक्तिको गति कति तीव्र छ भन्ने मात्र सङ्केत गरेको हो ।
राजनीतिक तरङ्ग
नेपाली युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले सामाजिक सञ्जाल एक्समा (२९ जनवरी) लेखे जस्तो वैचारिक पक्षधरताका कारण मात्र होइन बरु दिइएका या उपलब्ध सूचनाले गरेको सङ्केत के हो भने डिपसिक जस्ता एप्स र अरू प्रविधिमा चीनले गरिरहेको विकास वास्तवमै राजनीतिक अर्थका छन् । माथि भनियो विश्वलाई ज्ञान, विज्ञान, प्रविधि र धन सबैमा अमेरिकाले नेतृत्व गरेको या उसको वर्चस्व स्थापित भएको सय वर्ष भयो । यतिबेला उसको विकास र वर्चस्व स्याचुरेसनमा पुगेको जस्तो छ । विश्व बिस्तारै बहुध्रुवतिर जाँदै छ । वासिङ्टन सहमतिका आर्थिक सूत्रहरू र त्यसलाई लागु गर्ने उपकरण विश्वबैङ्क या विश्व व्यापार सङ्गठनको भूमिका कमजोर भइरहेको छ । खास गरी ब्रिक्स, बिआरआई र एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआइबी) हरू वैकल्पिक उपकरणका रूपमा विकास हुँदै छन् । विश्वको आर्थिक शक्तिका रूपमा चीनको उदय बलशाली छ र झन्डै ३० प्रतिशत विश्व आर्थिक वृद्धिको इञ्जिन चीनले तानिरहेको छ । कतिसम्म भने अहिले आएर विश्वव्यापीकरणको नाराबाट अमेरिका बाहिरिँदै छ र ऊ संरक्षणवादी बन्दै गएको छ । उता चीन विश्वव्यापीकरणको नयाँ प्रवक्ता बन्दै गएको छ । यी यस्ता परिघटना हुन्, जसले वर्चस्व जोगाइरहने अमेरिकाको चाहना र उदाउँदा नयाँ आर्थिक सामरिक शक्तिबिच थप टक्कर सुरु हुनेतिर सङ्केत गर्छन् । अमेरिकाले घोषित रूपमा यो अवस्था रोक्न बल गरिरहेको छ । त्यसमध्ये उसले अपनाएको सबैभन्दा ठुलो हतियार अत्याधुनिक सेमिकन्डक्टरमा चीनको पहुँच रोक्नु पनि हो । उसले गरिरहेको प्रयासमा डिपसिक जस्ता साना र नाम नचलेका चिनियाँ कम्पनीले जे जस्तो चुनौती खडा गरेका छन्, त्यसले अहिलेको तरङ्ग सिर्जना गरिदिएको हो ।
समग्र मानव जातिको हितमा भने यी दुवै शक्तिबिच नयाँ नयाँ उच्चस्तरको प्रविधि विकासमा भइरहेको प्रतिस्पर्धा ठुलो वरदान साबित हुने छ । युद्ध र वातावरणीय जोखिम बढ्ने कुरा कम गर्दै जाने हो भने यस्तो प्रविधिले मानिसको जीवनलाई अझ सुविधाजनक र खुसीयालीपूर्ण बनाउँछन्, समृद्ध बनाउँछन् । यसलाई गलत तरिकाले प्रयोग गर्ने या अर्कोले राम्रो गर्न खोज्दा अवरोध गर्ने तरिकाले मानव सभ्यतालाई पछि धकेल्छ । यी दुई देशबिच विज्ञान र प्रविधिमा नयाँ खोज अनुसन्धान र प्रयोगको क्षेत्रमा प्रतिस्पर्धा हुनु मानव कल्याणको पक्षमा हुने छ । बरु स्पेनका पूर्वअर्थमन्त्री यानिस भरुओफकिसले भने जस्तो यी उच्च प्रविधि कम्पनी र तिनले तयार पार्ने नयाँ नयाँ प्रविधिले अहिले राष्ट्र पनि ट्रम्प वरपर थुप्रिएका टेक टाइकुन (प्रविधि सामन्त) अर्बपतिलाई मात्र फाइदा पुग्न दिने हो कि यसले आमसर्वसाधारणको जीवनलाई पनि उकास्ने हो भन्ने अनिश्चित छ । अब सरकार, वैज्ञानिक र नागरिक समाजको पनि काम मानव जातिले विकास गरेका यस्ता उच्च प्रविधि सबैको पहुँचमा पुग्ने वातावरण बनाउँदै गरिबी उन्मूलन र खास गरी दक्षिणी गोलार्धका गरिब देशको अवस्था सुधार गर्ने बनाउन माग गर्नु र दबाब दिनु हुने छ ।
नेपालको अवस्था भने निकै कम उत्साहजनक छ । विश्वभर सन् २००० को आरम्भदेखि २० वर्षभन्दा बढी समय सूचना प्रविधि क्षेत्रको विकासको रह्यो । अब त्यो कृत्रिम बौद्धिकतामा फड्को मार्दै छ । हामी बल्ल आइटिबाट खर्ब कमाउन सक्ने भएका भन्दै मक्ख छौँ । हामी केवल अरूका पुरानो पुस्ताका खोज अनुसन्धान, ज्ञान र प्रविधिका उपभोक्ता मात्र भएका छौँ । सरकारले छिटै नेपाली विश्वविद्यालयमध्ये कुनैलाई एआई विशिष्टता भएको संस्थामा बदल्ने प्रयास गरेन भने हामी अरूले सगरमाथा आरोहण सक्दा पनि लुक्लाबाट नाम्चेतिर उकालो लाग्दै गरेका आरोही जस्ता हुने छौँ ।
लेख्दालेख्दै
यो लेख लेखिरहेकै समयमा आएको अर्को महत्वपूर्ण समाचारले हाइटेक क्षेत्रको यो प्रतिस्पर्धा र उछिनपाछिन तथा त्यसको राजनीतिक प्रभावलाई थप रोमाञ्चक बनाइदिने भएको छ । यस्तो चर्चा चलिरहेकै बेला २९ जनवरी या चिनियाँ नयाँ वर्षकै दिन पारेर अलिबाबा समूहले क्वेन २ नामक एआई एप सार्वजनिक गरेको छ, जसले च्याट जिपिटी र डिपसिकलगायत यसअघि प्रयोगमा रहेका सबै एआई च्याटबोटको भन्दा राम्रो काम गर्ने दाबी गरिएको छ । यसले अहिलेसम्मको मानव ज्ञानलाई एकत्रित गरिदिएको छ र मानिसका अनेकथरी काम र सोचाइ प्रक्रियालाई सहजीकरण गरिदिने छ । यसले जनवरी २० को भन्दा निश्चय नै थप ठुलोे कम्पन ल्याउने छ । यसले अमेरिकाको सट्टा बजार, हाइटेकमा गरिने उच्चस्तरको लगानी र भेन्चर क्यापिटलको खेलो फड्कोमा मात्र होइन सरकारका नीतिहरूमा पनि चर्को प्रभाव पार्ने निश्चित छ । भन्न सकिने कुरा के हो भने चीनले हासिल गर्दै गएका यी उपलब्धिले मानव सभ्यतालाई अर्को उचाइमा लान सहयोग मात्र गर्ने छैनन् बरु विश्वको राजनीतिक शक्ति सन्तुलनलाई फेरबदल गरिदिने छन् । यस्तो फेरबदल के कस्तो स्वरूप र अवस्थामा प्रमाणित हुने हो भन्ने चाहिँ अनिश्चित नै छ ।