आकस्मिक स्वास्थ्य समस्या हाम्रो परिवार, समाज र राष्ट्रमा जुनसुकै बेला जुनसुकै अवस्थामा पनि आइपर्न सक्छ । त्यस्तो संवेदनशील परिस्थितिमा हामीले सिकेको स्वास्थ्यसम्बन्धी कुनै पनि सिप र विधिले मानव जीवनको रक्षा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । आकस्मिक स्वास्थ्य समस्या आइपर्दा हामी जान्नुपर्ने विधिमध्ये सिपिआर (कार्डियो पल्मोनरी रिज्युस्किटेसन) विधि एक महत्वपूर्ण जीवनदायी उपचार पद्धति हो ।
मानव जीवनमा हुने विभिन्न आकस्मिक स्वास्थ्य समस्या जस्तै हृदयघात भई अचेत हुँदा, सडक दुर्घटना, भिरबाट खसेर हुने दुर्घटना, खानेकुरा अड्किएर हुने घटना, निसास्सिएर हुने घटना, विषादी सेवन, धुवाँको कारण हुने घटना, करेन्ट लागेर हुने दुर्घटना, पानीमा डुबेर हुने घटना, जङ्गली महको अत्यधिक सेवन, लागुऔषध तथा मदिरासेवन आदिका कारण भएका घाइते वा बिरामीलाई रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुग्न गई बेहोस हुने, अचेत हुने वा तत्काल मुर्छित भएर मृत्युको नजिक पुगेको अवस्थामा घटना भएलगत्तै वा घटना भएको कम्तीमा ६ देखि ८ मिनेटभित्र मुटुमा थिचेर रक्तसञ्चार प्रवाह गराई मुखद्वारा अक्सिजन पठाएर श्वासप्रश्वास प्रणाली जीवित गराउन कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म निरन्तर दिइने सिपिआर विधि सबैले सिक्नु अपरिहार्य छ । सिपिआर विधिलाई पाँच चरणमा सम्पन्न गर्न सकिन्छ ।
पहिलो चरण
सर्वप्रथम कुनै पनि घाइते, बिरामी वा तत्काल बेहोस अवस्थामा रहेका व्यक्तिलाई घटना स्थलमै अन्य केही कुराको प्रवाह नगरी वरपर भएका व्यक्तिलाई समेत सहयोगका लागि आग्रह गर्दै बोलाउनु पर्छ । त्यसपछि उद्धार गरी नजिकैको सुरक्षित स्थानमा लैजानु पर्छ ।
दोस्रो चरण
घाइते वा अचेत बिरामीलाई उत्तानो पारी घाटीमा आड दिँदै नजिकै सुरक्षित स्थानमा ल्याउनु पर्छ । घाइते वा बिरामीलाई उद्धार गर्दा टाउको तिर एक जनाले समाई ज्यानमा एक जना र खुट्टातिर अर्को व्यक्तिले समातेर कडा सतहमा जस्तै भुइँ, सडक, आदिमा उत्तानो पारेर सुताउनुहोस् । सिपिआर दिने क्रममा मुटु थिच्नुपर्ने हुँदा नरम डस्ना वा सोफामाथि राखेर यो प्रक्रिया प्रभावकारी हुँदैन ।
तेस्रो चरण
उद्धार गरी ल्याइएको व्यक्ति वा घाइते साँच्चै अचेत हो भनी प्रस्ट हुनका लागि दुवै कुममा आफ्ना दुई हात राखी घचघच पार्दै उसको नाम लिनु पर्छ । अथवा ‘दाइ सुन्नुस् त’ वा ‘दिदी हेर्नुस् त’ जस्ता वाक्य बोल्दै रुद्रघन्टीको छेउको गहिरो भाग नाडी (चाल) महसुस गर्नु पर्छ । सो धड्कन/चालमार्फत घाइते/अचेत व्यक्तिले श्वास फेरे नफेरेको याद गर्नु पर्छ । कथमकदाचित यो प्रक्रिया गर्दासम्म अचेत/घाइते बिरामीको होस आयो भने केही बेर देब्रे कोल्टे राखिदिएर तुरुन्तै नजिकको अस्पताल लैजाने तयारी गर्नु पर्छ तर बिरामी/घाइते अचेत नै हो भनी प्रस्ट भएमा सिपिआर दिने तयारी गर्नु पर्छ । सिपिआरको मुख्य उद्देश्य भनेको दिमाग, मुटु र मिर्गौलामा रक्तसञ्चार खास गरेर दिमाग (मस्तिष्क) मा रगत र त्यससँगै अक्सिजन प्रवाह निरन्तर राखी दिमागका रक्तकोसिका मर्न नदिनु नै हो । त्यसका लागि घाइते वा अचेत भएको ६ देखि ८ मिनेट भित्र सिपिआर सुरु गर्न सक्दा मात्र घाइतेलाई बचाउने सम्भावना प्रबल रहन्छ । तसर्थ सिपिआरको प्रत्येक चरण यथाशक्य चुस्त ढङ्गले सावधानीपूर्वक गर्नु पर्छ ।
चौथो चरण
अब घाइते वा अचेत व्यक्तिको बायाँपट्टि घुँडा धसेर बस्नु पर्छ । दुवै हातको कुहिना र पाखुरा सिधा पारेर अर्थात् कुहिना नबङ्ग्याइकन छातीको बिच भाग (दुवै स्तनको मुन्टाको बिच) र शरीरको मध्यरेखा जोडिने (टाई आकारको पातलो हड्डीको पुच्छर) भागमा एक हात माथि अर्को हात खप्टाएर दुवै हातको औँला एक अर्कामा छिराई (माछी काडे आकारमा) शरीरको बलसमेत लाग्ने गरी हत्केलाको डिलले एक–दुई गन्दै ३० पटक थिच्नु पर्छ । एक पटक थिचेर छाती माथि आउन्जेल अर्को पटक थिच्ने प्रक्रिया निरन्तर जारी राखेर एक मिनेटमा करिब सयदेखि १२० पटक पर्ने गरी १८ देखि २० सेकेन्डभित्र ३० पटक थिच्नु पर्छ । थिच्दा यसको गहिराइ कम्तीमा २ इन्च (५ सेमी) गहिरो हुनु पर्छ । यसरी निरन्तर आफ्नो शरीरको तागत लगाएर थिच्ने क्रममा हात छातीमा नै रहनु पर्छ । हाम्रो दुवै हातले छातीमा थिच्दा हुने गहिराइ अनुसार नै सिपिआरको प्रभावकारिता हुने हुँदा हाम्रो शरीरको तागतले भ्याएसम्म प्रभावकारी सिपिआर निरन्तर दिनु पर्छ । आफू थाकेको अवस्थामा अर्को एक जनालाई बोलाई तुरुन्तै जुन अवस्थामा छोडेको हो त्यहीँ चरणबाट निरन्तरता दिनु पर्छ ।
यसरी छातीमा थिच्ने क्रममा बिरामी वा घाइतेको करङका हड्डी भाचिन पनि सक्छ तर भाँच्चिएको हड्डी पुनः जोडिने हुँदा हामीले बिरामीलाई बचाउनका लागि हड्डी भाँच्चिने चिन्ता लिनु हुँदैन । स्मरण रहोस् भाँच्चिएको हड्डी पुनः जोडिन्छ तर बेलैमा सिपिआर दिन ढिलो गरिए अमूल्य जीवन बचाउन सकिँदैन । तसर्थ सिपिआर दिँदा निकै सावधानीपूर्वक घाइतेको जीवन रक्षा गर्ने उद्देश्यका साथ सबै चरणलाई चुस्त तरिकाले सम्पन्न गर्नु पर्छ ।
पाँचौँ चरण
यसरी घाइते वा अचेत बिरामीलाई ३० पटक मुटुमा थिचिसकेपछि तुरुन्तै घाइतेको निधारमा आफ्नो देब्रे हातले तल थिच्नु पर्छ । बिरामीको चिउडो केही उचालेर देब्रे हातले नाकको प्वाल थुनेर घाइतेको मुखमा आफ्नो मुख टपक्क जोडेर सिपिआर दिने व्यक्तिले दुई पटक लामो श्वास दिनु पर्छ । घाइते व्यक्तिलाई हामीले मुख जोडेर छोडेको श्वासको अक्सिजनको मात्रा (१६ प्रतिशत) नै पनि उक्त अवस्थाका लागि पर्याप्त हुन सक्छ । यसरी अक्सिजन दिने क्रममा घाइतेको मुखमा रगत या अन्य फोहोर वस्तु भए तुरुन्तै सफा पारेर एक हातलाई ढुङ्ग्रो आकारमा मुखमा जोडेर पनि श्वास दिन सकिन्छ । अथवा केही नसकिए छाती थिच्ने काम भए पनि निरन्तर गरिरहनु पर्छ ।
एक वर्षमुनिका शिशुको हकमा कुनै पनि आकस्मिक स्वास्थ्य समस्याका कारण अचेत भएमा दुई औँलाले सोही अनुसार आधा घण्टादेखि ४५ मिनेटसम्म (एम्बुलेन्स नआइपुग्दासम्म) छातीको बिच भागमा १५ पटक थिच्ने र दुई पटक श्वास दिने गर्नु पर्छ । एकदेखि १२ वर्षमुनिका साना बच्चाका लागि दिइने सिपिआर माथि उल्लेख गरिएबमोजिम दुवै हातले ३० पटक थिच्ने र दुई पटक श्वास दिने गर्नु पर्छ । यसरी कम्तीमा आधा घण्टासम्म दिइने सिपिआरले घाइते वा अचेत बिरामीलाई तत्कालै जीवनदान दिन सकिन्छ ।