तानसेन समाचारदाता
तानसेन, माघ १८ गते । यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ । जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
गत वर्ष ४६ करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरेका किसानले यस वर्ष ५२ करोड ७६ लाखको सुन्तला बिक्री गरेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्र र उत्पादन पनि बढेकाले किसानले गत वर्षभन्दा बढी आम्दानी गरेको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।
यस वर्ष जिल्लाभर एक हजार १३० हेक्टर क्षेत्रफलमा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । जबकि गत वर्ष एक हजार ११५ हेक्टर क्षेत्रफलमा आठ हजार ८६१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लाका छ पालिकामा व्यावसायिक रूपमा सुन्तला खेती हुने गरेको छ । यस वर्ष पाल्पाका किसानले बोटमै प्रतिकिलो ५२ रुपियाँ मूल्य पाएको कृषि प्राविधिक बताउँछन् । सुन्तलाका दाना साना भए पनि बोटमा फल धेरै लागेको र सुन्तलाका दाना रसिला र गुलिया रहेको किसानको दाबी छ ।
यस वर्ष रैनादेवी छहरामा ४५२, रिब्दीकोटमा ३९६, बगनासकालीमा ११३, पूर्वखोलामा ९०, तानसेनमा ६८ र माथागढीमा ११ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको थियो । जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट र बगनासकालीमा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसानको सङ्ख्या बढी छ ।
त्यस क्षेत्रका किसानले वार्षिक प्रतिव्यक्ति दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको रैनादेवी छहरा–४, सुन्तलाबासका किसान नित्यानन्द पोखरेलले बताउनुभयो । रैनादेवी छहरामा एक सयदेखि सात सयसम्म सुन्तलाका बोट लगाई त्यसबाट हरेक वर्ष प्रतिफल लिने किसान रहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय यहाँका किसानलाई सुन्तलाको बजार खोज्नसमेत समस्या छैन । सुन्तला खोजी गरेर सुन्तला खरिद गर्ने व्यापारी घरमै आउने गरेका छन् ।
यस वर्ष राम्रो भाउ पाउने आसमा अहिले पनि कतिपय किसानले सुन्तला बोटमै राखेका छन् । किसानले बोटबाटै प्रतिकिलो ७० देखि ९० रुपियाँमा सुन्तला बिक्री गरिरहेको सुन्तला किसान टीकाराम पोखरेलले बताउनुभयो । पाल्पाको सुन्तला, तानसेन, बुटवल, भैरहवा, नवलपरासी, पोखरा, चितवनलगायतका क्षेत्रमा बिक्री हुने गरेको छ ।
पछिल्लो समय बाँझो रहेको जग्गामा समेत किसानले सुन्तला खेती गर्न थालेपछि हरेक वर्ष आम्दानी वृद्धि भएको पालिकाले जनाएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिएको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला लगाउने किसानलाई मल, बिउ तथा अन्य प्राविधिक सहयोग गर्दै आएको कार्यालय प्रमुख गणेशप्रसाद यादवले जानकारी दिनुभयो ।