• १८ माघ २०८१, शुक्रबार

टुहुरा बालबालिकालाई आवास निर्माण

blog

टुहुरा सुमिना र सुमितलाई पक्की घर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ १७ गते । वैदेशिक रोजगारीमा रहेका युवा र स्थानीय मनकारी युवाको सहयोगमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरामा टुहुरा दुई बालबालिकालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ । 

लालबन्दी १५ कै चिसापानीमा जिर्ण घरमा बसोवास गर्ने १३ वर्षीया सुमिना वाइवा र उहाँको भाइ सात वर्षका सुमित वाइवाका लागि झरझरामा जस्ताले छाएको दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । सुमिना र सुमितका बुवा भोजबहादुर वाइवाको प्राणघातक रोग क्यान्सरबाट दुुई वर्षअघि निधन भएको थियो । 

उनीहरूका आमा एक वर्षअघि वैदेशिक रोजगारीमा गएदेखि सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । सहाराविहीन बनेका बालबालिकालाई तीन लाख २५ हजार ६०० रुपियाँ लागतमा पक्की घर निर्माण गरेर बिहीबार एक कार्यक्रमका बिच लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलको रोहवरमा हस्तान्तरण गरिएको हो । 

सुमिना र सुमितको घर निर्माणका लागि लालबन्दी नगरपालिका–१६, परवानीपुरका राजु थापा र सरोजकुमार खड्काले पाँचधुर जग्गा, गैरआवासिय नेपाली सङ्घ (जापान) मा आबद्ध युवाले दुुई लाख रुपियाँ, लालबन्दी नगरपालिका–१२, लालभित्तीका उमेश थोकरले ५२ हजार रुपियाँ बराबरको झ्याल, ढोका र उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले झ्यालमा लाग्ने ग्रिल सहयोग गर्नुभएको छ । अन्य दुुई दर्जन युवाले पनि घर निर्माणमा सकेको आर्थिक सहयोग गरेका छन् । 

साहाराविहीन सुमिना र सुमितका लागि लालबन्दी १५ कै अमृतबहादुर वाइवा र बिक्रम खड्काले पहल गरेर पक्की घर निर्माण गराइदिनुुभएको हो । आवास हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हेमबहादुर कार्की, उद्धव मोक्तान, उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी, लालबन्दी १० चन्द्रपुर निवासी समाजसेवी उदय पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।