गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १७ गते । शिक्षक सेवा आयोगका दुई सदस्य पदमा नियुक्तिका लागि ३१ जनाको आवेदन परेको छ । आयोगमा हाल एक सदस्य पद रिक्त छ भने अर्का एक जना सदस्यको पद रिक्त हुँदै छ ।
सदस्य पदमा नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको छनोट समितिले आवेदन आह्वान गरेको थियो । समिति सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बराल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य हुनुहुन्छ ।
समितिले सार्वजनिक गरेको अन्तिम विवरण अनुसार आवेदन दिनेमा पूर्वसहसचिव केशवप्रसाद दाहाल, डा. भोजराज काफ्ले, रामशरण सापकोटा, युवराज सुवेदी, हिरामणि शर्मा, थानेश्वर गौतम, नवराज सापकोटा, दीपक खनालले निवेदन दिनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डका पूर्वसदस्यसचिव दुर्गा अर्याल, बोर्डकै पूर्वउपसचिव डा. रामचन्द्र पाण्डेले पनि आयोगको सदस्यका लागि आवेदन दिनुभएको छ । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव सुकदेव सापकोटा, अर्जुन रायमाझी, टङ्कप्रसाद गौतम, खेमनाथ पोखरेललगायतले पनि आवेदन दिनुभएको छ । यसबाहेक आवेदन दिने अन्य व्यक्तिमा सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ ।