अमरराज नहर्की
तनहुँ, माघ १६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सहिदले नेपाली जनताको स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ।
तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदको शालिकमा पुष्पहार अर्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।
सहिदको ठुलो बलिदानले आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उहाँको भनाइ थियो। राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अब विदेश जाने छटपटाहट छोडौ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौं।’’
राष्ट्रपति पौडेलले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो। उहाँले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोजगारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने बताउनुभयो।
राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिद भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा पुष्पहार गर्नुभयो।
लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको शालिक यो पार्कमा रहेको छ। जसमध्ये धर्मध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शाहदत प्राप्त गर्नुभएको थियो।
त्यसैगरी २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शहादत प्राप्त गर्नुभएको थियो। शमशेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिनुभएको थियो।
राष्ट्रपति पौडेलले माघ १६ गते सहिद दिवसका अवसरमा गृहजिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शाहदत प्राप्त गर्नुभएका सहिदको शालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गर्नुभएको हो। सो क्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।