सहिद शब्द उच्चारण हुनासाथ हाम्रो छाती गर्वले फुल्छ, स्नेहले पग्लन्छ र श्रद्धाभावले निहुरिन्छ । मुलुकमा जनविरोधी सरकारविरुद्ध आन्दोलनद्वारा अन्धकार शासनको अन्त्य गरी स्वतन्त्रता, स्वधीनताको सुनौलो बिहानी ल्याउन आफ्नो प्राण त्याग्ने वीरहरू हुन् । सहिदहरू एक पटक जन्मे, एक पटक मरे, उनीहरूले मरेर नै सबैका लागि उज्यालो दिन ल्याइदिए, त्यसैले त उनीहरू सधैँ सधैँ सबै सबैका मन मनमा अजरअमर बनिरहन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले तिनै सहिदहरूलाई ‘वीरहरू’ शीर्षक निबन्धमा भनेका छन्, “वीर भनेको त्यो हो जो आफूलाई सम्झँदैन । कीर्तिपिपासु बत्तीको झिल्के पुतली हो । स्वार्थनामेट नै वीरता हो । जो यताउति हेर्दैन, पछाडि फर्कंदैन । नेपाली माटोमा किरण त्यहाँ झर्यो । बिउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्, तिनका बासनाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको प्रेरणा भर्छन् ।”
ग्रिक पुराणमा प्रमिथस भन्ने व्यक्तिले स्वर्गको आगो चोरेर पृथ्वीवासीका लागि ल्याइदिँदा उनले सहिद हुनु परेको थियो भन्ने कथा पाइन्छ । त्यस्तै मुलुकका शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कानुन, न्यायका समग्र विकासका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गर्ने सुमधुर इच्छा राखेर प्राणको आहुति दिने यदि कोही छन् भने ती सहिद नै हुन् । सहिदले जुन बेला आफ्नो प्राण दिए त्यसैबेलादेखि मुलुकमा चारैतिर विकासका बिउ उम्रन थालेका हुन् । शिक्षाको सुगन्ध फैलिन थालेको हो । मानिसहरूले आआफ्ना भाग्य रेखाको निर्माण गर्न पाएका हुन् । आफ्नो शरीर, आफ्नी पत्नी, आफ्ना छोराछोरीलाईभन्दा बढी देशलाई माया गर्ने देश आमाको सच्चा सपुत नै सहिद हुन् । जनविरोधी तथा अत्याचारी सरकारसित नझुक्ने दरिलो मुटु भएका देशभक्त, आफ्नो ज्यान हत्केलामा राखेर मृत्युसित जिस्कने कीर्तिवान वीरहरू नै सहिद हुन् । आफ्नो देश र जनताको मुक्ति अर्थात् देशमा प्रजातन्त्र प्राप्त गर्नका निम्ति आफ्नो ज्यान बलिवेदीमा समर्पित गर्ने देशआमाका सपुत सन्तान नै हुन् सहिद । हाम्रो देशमा २००७ सालसम्म चलेको निरङ्कुश जहानियाँ राणा शासन थियो । त्यस शासनलाई मूला उखेले झैँ उखेलेर फाल्ने काममा विभिन्न मानिसको योगदान छ तीमध्ये सहिद शुक्रराज शास्त्री, सहिद गङ्गालाल, सहिद दशरथचन्द र सहिद धर्मभक्त सहित चार जना वीरले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरिदिएका थिए । त्यसैले यी चार जनालाई प्रत्येक वर्ष माघ १६ देखि एक सातासम्म स्मरण गरेर सहिदहरूका योगदानबारे चर्चा गरेर श्रद्धाञ्जली श्रद्धासुमन अर्पण गरिन्छ ।
शुक्रराज शास्त्री
पिता माधवराज जोशी र माता रत्नमायाका सुपुत्र शक्रराज शास्त्रीको जन्म विसं १९५० मा काठमाडौँमा भएको थियो । पिताजीको प्रेरणाले गर्दा शुक्रराजले संस्कृतमा शास्त्री र अङ्ग्रेजीमा स्नातकसम्मको अध्ययन गरेका थिए । उनले भारतको इलाहावादमा भएको दयानन्द आर्यसमाजी विद्यालयका प्रधानाध्यापक भएर पनि काम गरे । विसं १९९३ मा नागरिक अधिकार समिति नामक भूमिगत संस्थाको सदस्यता लिई निरङ्कुश राणा शासनविरुद्धको आन्दोलनमा होमिन पुगे । शुक्रराजले भारत गएर महात्मा गान्धीसित पनि भेट गरेका थिए । गान्धीसित भेट हुँदा शक्रराजले नेपालमा राणा शासन अन्त्य गर्न आन्दोलन चलाउने कुरा गरेको आरोप लगाएर राणा सरकारले उनलाई घरमै केही समय नजरबन्द गरेर राखेको थियो ।
विसं १९९५ मङ्सिर १३ गते काठमाडौँको इन्द्रचोकमा निस्केको राणा विरोधी सभामा नजरबन्दको पर्वाह भाषण गरेका थिए । त्यसै अभियोगमा शुक्रराजलाई राणा सरकारले गिरफ्तार गरी राजकाज अपराधको मुद्दा चलायो । विसं १९९७ माघ ६ गते उनलाई सर्वस्वहरणसहित मृत्युदण्ड दिने फैसला सुनाई त्यही महिनाको १० गते राति टेकुस्थित पचलीघाटमा भएको एउटा बकैनाको रुखमा झुन्डाएर मृत्युदण्ड दिइएको थियो ।
गङ्गालाल श्रेष्ठ
गङ्गालालको जन्म विसं १९७५ मा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो । उनका पिताको नाम भक्तलाल श्रेष्ठ र माताको नाम तुलसीमाया हो । गङ्गालालले काठमाडौँको दरबार स्कुलबाट १९९४ मा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । एसएलसीपछि त्रिचन्द्र कलेजमा आईएससी अध्ययन गर्न थालेका मात्र थिए, त्यसबेला देशमा राणा शासनका विरुद्धमा केही देशभक्त युवा सङ्गठित हुन लागेका कुरा थाहा पाएपछि गङ्गालाल पनि पढाइ छोडेर त्यही आन्दोलनमा होमिएका थिए ।
राणाहरूले गङ्गालाललाई पक्राउ गरेर राज्य द्रोह गरेको अभियोग लगाएर केन्द्रीय कारागारमा थुनामा राखेका थिए । विसं १९९७ माघ १५ गते मध्यरातमा केन्द्रीय कारागारबाट निकालेर गङ्गालाललाई विष्णुमती नदीको किनारमा रहेको शोभाभगवती मन्दिरभन्दा अगाडिको बगरमा पुर्याइयो । उनलाई मृत्युदण्ड दिन जर्नेल नरशमशेर पनि गएका थिए, ती जर्नेल दरबार स्कुलमा पढ्दा गङ्गालालको सहपाठी पनि थिए । जर्नेल नरशमशेरले त्यसबेला भनेका थिए, “राणा शासनविरुद्ध अबदेखि बोल्दिन भनेर प्रतिज्ञा गर, माफी माग, मेरो सहपाठी होस्, माफी पाउँछस् ।” गङ्गालालले जवाफ दिएका थिए, “को सित माफी माग्नु अत्याचारी निरङ्कुश
सरकारसित ? गल्ती गर्ने ती राणाहरूले जनतासित माफी माग्नुपर्ने हो । मेरो के गल्ती छ र माफी माग्नु ? हान न मेरा छातीमा गोली तर तँलाई इतिहासले सधैँ सधैँ धिक्कारिरहने छ, बुझिस् !’ जर्नेल नरशमशेरले त्यसैबेला सिपाहीलाई आदेश दिए, “ठोक, त्यसका छातीमा गोली !”
गोली हान्न गएको सिपाहीका हातगोडा कामेका थिए । त्यो देखेर जर्नेल नरशमशेरले सिपाहीबाट आफैँले बन्दुक खोसेर गङ्गालालका छातीमा गोली हानेर प्राण लिएका थिए, भनेर इतिहासकारले बताएका छन् । यसरी सहिद गङ्गालालले देश र जनताको मुक्तिका लागि प्राणको आहुति दिएका थिए । उनका भाइ पुष्पलाल नेपालका वाामपन्थी आन्दोलनका शीर्षस्थ नेता एवं वाम विचारक मानिन्छन् ।
दशरथ चन्द
अमर सहिद दशरथ चन्दको जन्म विसं १९६० मा बैतडीको बस्कोट भन्ने ठाउँमा भएको थियो । उनका पिता शेरबहादु चन्द र माता ओजकुमारी हुन् । दशरथचन्दले नेपालगन्ज, अल्मोडा, कुमाउँ, नैनिताल आदि ठाउँका साथै बनारसमा पनि अध्ययन गरेका थिए । बनारसमा पढ्दा यिनले नेपालमा राणा शासनको विरुद्धमा आन्दोलन गर्ने भनेर प्रवासी नेपाली विद्यार्थीले काशी नागरिक प्रचारिणी सभा नामको राजनीतिक संस्थामार्फत राजनीतिमा प्रवेश गरेका थिए । भारतमा महात्मा गान्धी, सुभाषचन्द्र बोस, जवाहरलाल नेहरू, डा. राजेन्द्रप्रसाद आदि नेताहरूले अङ्ग्रेज शासनविरुद्ध आन्दोलन गरिरहेका थिए । बनारसमा पढ्न बसेका दशरथचन्द पनि त्यस आन्दोलनमा भारतीय नेताहरूका काँधमा काँध मिलाएर आन्दोलनमा होमिएका थिए ।
थाइल्यान्डमा भएको एउटा सभालाई सम्बोधन गर्दा यिनले नेपालमा जहानियाँ र निरङ्कुश राणा शासनका विरुद्धमा सशस्त्र आन्दोलनको आवश्यकता भएको कुरा अभिव्यक्त गरेका थिए । नेपाल आएपछि यिनले राणा शासनको अन्त्य गर्ने भित्री उद्देश्यले स्थापना भएको प्रजापरिषद् नामक संस्थाको सदस्यता लिएका थिए । त्यसको केही दिनमा दशरथ चन्दलाई राजकाज अपराध अर्थात् राज्यविरुद्ध अपराध गरेको भन्ने मुद्दा लगाएर राणा सरकारले गिरफ्तार गरी केन्द्रीय कारागारमा गङ्गालालसित एउटै कोठामा बन्दी बनाएर राखिएको थियो । सहिद दशरथ चन्दलाई विसं १९९७ माघ १५ गते मध्यरातमा विष्णुमती नदीको बगरमा अर्थात् शोभाभगवती मन्दिरको समीपमा गोली हानी निरङ्कुश राणाहरूले मृत्युदण्ड दिएका थिए ।
धर्मभक्त माथेमा
धर्मभक्त माथेमाको जन्म विसं १९६६ मा काठमाडौँको ओमबहालको नवहिल भन्ने टोलमा भएको हो । उनका पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवी हुनुहुन्थ्यो । सहिद धर्मभक्तका पिता राणाहरूका लागि भारतबाट विभिन्न सरसामान ल्याइदिने काम गर्दथे । धर्मभक्तले केही समय कलकत्ताको एक विद्यालयमा प्रारम्भिक शिक्षा अध्ययन गरे भने दार्जिलिङको स्कटिज चर्च कलेजबाट आईएसम्मको औपचारिक अध्ययन गरेका हुन् । केही समय बङ्गालमा बस्दा त्यहाँको शारीरिक व्यायाम प्रतियोगितामा धर्मभक्तले सबैलाई पछाडि पारेर मिस्टर बङ्गाल बन्ने श्रेय पनि प्राप्त गरेका थिए । त्यसैले यिनको शरीर कस्तो थियो होला सहजै अनुमान गर्न सकिन्छ ।
धर्मभक्तका पिता सुब्बा आदिभक्त माथेमालाई त्यसबेलाका राणा सरकारले देश निकाला गरिदिएको थियो । विसं १९९० मा दशरथचन्दसित भेट भएपछि विसं १९९३ मा आफ्नी फुपूका घरमा प्रजापरिषद् नामको संस्था स्थापना गरेर निरङ्कुश राणा शासनबिरुद्धको अभियानलाई धर्मभक्तले तीव्रता दिन थाले । एक पटक घोडेजात्राको अवसरमा धर्मभक्तले टुँडिखेलमा शारीरिक व्यायाम प्रदर्शन गरेका थिए । त्यो व्यायाम प्रदर्शनमा सबै आश्चर्यचकित भएका थिए । राजा त्रिभुवन पनि धर्मभक्तसित ज्यादै प्रभावित भएका थिए । त्यसपछि धर्मभक्त राजा त्रिभुवनको व्यायाम प्रशिक्षकमा नियुक्त भएका थिए । बिस्तारै उनले प्रजापरिषद्सित राजा त्रिभुवनको पनि सम्पर्क स्थापित भयो । प्रजापरिषद् र राजा त्रिभुवनबिचको सेतु यिनै धर्मभक्त थिए ।
राजा त्रिभुवनलाई राणा शासनविरुद्ध उकासेको भन्ने आरोप लगाएर धर्मभक्तलाई राणाहरूले पक्राउ गरी राजकाज तथा राज्य द्रोहको मुद्दा चलाए । धर्मभक्तलाई गल्ती गरेँ भनेर माफी मागे सबै कसुर मिनाहा दिन्छौँ भनेर राणाहरूले दबाब दिए तर हिम्मतिला धर्मभक्त निरङ्कुश राणा शासनसामु शिर निहुराउन चाहेनन् । त्यसैले उनलाई विसं १९९७ माघ १२ गते काठमाडौँको सिफलमा एउटा रुखमा झुन्डाएर मृत्युदण्ड दिइयो । सहिद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्द आज छैनन् तर देश र जनताका लागि उनीहरूले दिएको योगदानले गर्दा अजर अमर सहिद बनेर सबैका मनमनमा बसेका छन् । नेपाल र नेपालीका लागि उनीहरू सधैँ चम्किरहने तेजिला तारा बनेर सबैका मन मनमा बसिरहेका छन् ।