• १७ माघ २०८१, बिहिबार

टाइगर कप भलिबल : गण्डकीसँग एपिएफ स्तब्ध

blog

फडिन्द्र अधिकारी

पोखरा, माघ १५ गते । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ मङ्गलबार भएको खेलमा गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई हराएको छ । 

पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित हाँसिल गरेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको गुमाएपछि दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।

यसअघि महिलातर्फ मङ्गलबार भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी बनेका थिए । आयोजक टोलीले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेका थिए ।  

अब महिलातर्फ आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्नेछन् । पुलिस र न्यू डायमन्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्ने छन् । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजयी बन्ने महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार पाउने छन् । प्रतियोगितामा प्रथमलाई पाँच लाख ८५ हजार पाँच सय ५५, द्वितीयलाई दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयलाई एक लाख ८५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

महिला तथा पुरुष दुवैतर्फ सर्वाेत्कृष्ट बन्ने खेलाडीले जनही २५ हजार सात सय ५५ पाउनेछन् भने दुवैतर्फ विधागत रूपमा उत्कृष्ट ठहरिने खेलाडीलाई जनही दस हजार सात सय ७७ रुपियाँ प्रदान गरिनेछ ।