अमरराज नहर्की
तनहुँ, माघ १४ गते । तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिने भएको छ । व्यास नगरपालिकाले एचआईभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
न्यौपानेले भन्नुभयो, ‘‘एचआईभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरुको क्षमता विकासका लागि भत्ता दिने निर्णय गरेका हौं ।’’ सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले भत्ता पाउनेछन् ।
भत्ता पाएपछि सङ्क्रमित बालबालिकाको दैनिक जीवनयापन सहज हुने विश्वास नगरपालिकाले लिएको छ । एचआईभी सङ्क्रमित बालबालिकाका कतिपयको अभिभावकको मृत्यु भइसकेको हुनाले शिक्षा आर्जन र दैनिक जीवनयापन कठिन हुँदै आएको थियो ।
नगरपालिकाभित्र रहेका यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरी माघ महिनादेखिकै पोषण भत्ता बापतको रकम प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।