अमरराज नहर्की
तनहुँ, माघ १४ गते । नेपालमै पहिलो पटक तनहुँमा बन्न लागेको चारलेनको पुल निर्माण धमाधम भइरहेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ६० प्रतिशत सकिएको मुग्लिन–पोखरा सडक योजना पूर्वखण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको आयोजनाले जनाएको छ । उक्त पुलका छ वटा स्पान हुनेछन् । सन् २०२२ अगस्ट ११ मा पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो ।
पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल नेपालमै पहिलो पटक चारलेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो । निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि साइड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले काम छिटो सम्पन्न गर्न एक सय २५ जना कामदार दैनिक खटिएको जानकारी दिनुभयो ।
पुलको डिजाइन परिवर्तन गर्दा ढिलाइ भएकाले केही ढिलो भएको बताउनुभयो । लामगादेले भन्नुभयो, ‘‘काम तदारुकताका साथ भइरहेको छ डिजाइनका क्रममा छ महिना ढिला नभएको भए ८० प्रतिशत काम पूरा भइसक्थ्यो ।’’
आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो । सुपरभाइजर चित्रबहादुर कार्कीले तरुकताका साथ काम भइरहेको बताउनुभयो । दैनिक १० घण्टा कामदारहरु खटिएका छन् । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।