भक्तपुर, माघ १३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनु भएको छ ।
आइतबार सानोठिमीस्थित एसओएस स्कूलले आफ्नै प्राङ्गणमा आयोजना गरेको ‘स्पोर्टस् मिट–२०८१’ को उद्घाटन गर्दै उहाँले शिक्षा नीति परिवर्तन गरेर रोजगारीमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताउनु भएको हो ।
मन्त्री गुरुङ्गले भन्नुभयो, “देशको व्यबस्था बदलियो, राजनीति बदलियो, नेता बदलिए तर शिक्षा नीति बदलिएन २०२८ सालकै शिक्षा नीतिले अहिलेसम्म चलिरहेको छ । अहिले हातमा सीप भएको प्राबिधिक, सीपमूलक र जीवनउपयोगी शिक्षाको आवश्यकता छ । एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप लिएर आत्मनिर्भर हुनसक्ने शिक्षा नीति जरुरी छ ।” अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधिसभामा पठाएको उहाँले बताउनुभयो ।
समावेशी र गुणस्तरीय शिक्षा आजको आवश्यक रहेको भन्दै उहाँले समाजमा पछि परेका, हेपिएका सबै वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा पुहँच पुर्याउँदै अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीनजस्ता देशहरुको शिक्षा र सीपसँग नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको औँल्याउनु भयो ।
अचेल मन्त्रालयमा गाउँगाउँबाट टेलिफोन चाहियो, टेलिफोनको टावर बनाउन पर्यो भनेर आउँने गरेको बताउँदै उहाँले देशभरका घरघरमा फोरजीको इन्टरनेटसहितको टेलिफोन पुराउने गरी काम गरिररहेको बताउनुभयो । सरकारले सबै कार्यालयमा विद्युतीय सुशासन कायम गर्ने गरी फाइबर लाइन बिस्तार गरिरहेको बताउँदै उहाँले सबै सरकारी कार्यालय एवं वडा तहसम्म इगभर्नेन्स लागू गर्ने बताउनु भयो ।
मन्त्री गुरुङ्गले विश्व एआईको जमानामा प्रवेश गरिसकेको भन्दै नेपाल पनि एआई प्रविधिका प्रवेश गर्दै विकासमा अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले एआईको कृतिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादनमा वृद्धि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रको विकासमा लाग्नु पर्ने बताउनुभयो ।
अहिलेका विद्यार्थीले सूचना प्रविधि पढेर घरमै बसेर लाखौँ कमाउन सक्ने भएको भन्दै सूचना प्रविधिको भविष्य उज्ज्वल रहेकाले यसतर्फ विद्यार्थीको चासो अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाईलगायतले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकपालमा पनि दक्ष र योग्य बनाउनु पर्नेमा जोड दिनुभयो ।