• १४ माघ २०८१, सोमबार

बाटो विस्तारको सुस्तताले मर्कामा होटल व्यवसाय

blog

निर्माण कार्य भइरहेको नारायणघाट–बुटवल सडक खण्ड । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, माघ १३ गते । नारायणघाट–बुटवल सडक खण्ड समयमै विस्तार हुन नसक्दा जिल्लाको पर्यटन र होटल व्यवशाय क्षेत्र नराम्रोसँग थला परेको यहाँका पर्यटन तथा होटल व्यावसायीले गुनासो गरेका छन् । बाटोका कारण यात्रा कष्टकर भएपछि पर्यटक आउन छाडेको व्यावसायीको गुनासो छ ।

‘‘क्यान्सर लागेको मान्छे छटपटिएर मरेभन्दा बढी दर्दनाक पीडा पर्यटन क्षेत्रले भोगिरहेको छ’’ जिल्ला होटल व्यावशायी सङ्घका अध्यक्ष सन्तोस राना मगरले भन्नुभयो, ‘‘बाटोका कारण हामीले सबैभन्दा बढी क्षति भोगिरहेका छौं ।’’ उहाँका अनुसार बाटो विस्तारको काम सुरु भएयता आधाभन्दा बढी होटल त बन्द भइसकेका छन् । 

‘‘बाटो विस्तार हुनुअघिसम्म जिल्लाभर झण्डै १६ सय होटल रहेकोमा अहिले सात सयको हाराहारीमा मात्र होटल सञ्चालमा छन्’’ अध्यक्ष रानाले भन्नुभयो, ‘‘नौ सय जति व्यावसायी होटल बन्द गरेर विस्थापित भएका छन्, यसले व्यावसायीलाई मात्र होइन, राज्यलाई नै घाटा भएको छ, तर राज्यले बुझ्दैन ।’’

दाउन्नेमा बाटो विस्तार गर्दा भएको लापरवाहीले ३६ सालदेखि सञ्चालन भइरहेका ६ वटा होटलमा पूर्ण रूपमा क्षति भएर विस्थापित हुँदा पनि क्षतिपूर्ति नपाएको उहाँको भनाइ छ । बाटो खाल्डाखुल्डी र हिलाम्य हुने भएका कारण आन्तरिक र बाह्य पर्यटकले यो बाटो प्रयोग गर्नै नरुचाउने गरेको उहाँको भनाइ छ । 

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले कोरोनापछि विस्तारै उकासिन लागेको पर्यटन व्यवसाय फेरि थला परेको बताउनुभयो । पर्यटकीय हिसाबले नवलपुर राम्रो गन्तव्य भए पनि बाटो बाधक बनेको उहाँको भनाइ छ । ‘‘हाम्रोमा आउने धेरै पर्यटक काठमाडौं, पोखरा र बुटबलबाट हो, तर यी सबैतिरबाट यहाँ आउन बाटो सहज छैन’’ अध्यक्ष महतोले भन्नुभयो, ‘‘खण्ड खण्ड गरी भत्काउँदै बनाउँदै गरेको भए यति दुःख हुने थिएन, तर सुरुमै पूरै भत्काइयो, बनाउन वर्षौं लाग्यो, यसको असर हामीले भोगिरहेका छौं ।’’ 

उहाँका अनुसार आन्तरिक पर्यटक बुटवल क्षेत्रबाट र बाह्य पर्यटक काठमाडौंबाट बढी आउने गरेका थिए । अहिले पर्यटकको सङ्ख्या आधा कम भएको महतोले बताउनुभयो । 

पर्यटकको रोजाइमा यहाँको जङ्गल सफारी, वन्यजन्तु अवलोकन, गाउँले परिवेश र थारू संस्कृतिक यहाँका विशेष हुन् ।  यही कुरा चितवनको सौराहामा पनि देख्न पाइने भए पनि सौराहा बजार भएको र यहाँ अझै पनि गाउँलेपन देख्न पाइने अध्यक्ष महतोको भनाइ छ ।  

होमस्टे महासङ्घ गण्डकीका अध्यक्ष एवं नवलपुर पर्यटन समितिका संरक्षक धनीराम गुरौले होटल र पर्यटन व्यवसायले अहिले सबैभन्दा बढी मार खेप्नु परेको बताउनुभयो । ‘‘यत्तिको धक्का त हामीले कोभिड र भुकम्पको बेला पनि खेप्नु परेको थिएन’’ गुरौले भन्नुभयो, ‘‘गत वर्षभन्दा पर्यटकको आगमन निक्कै कम छ । बाटो मुख्य कारण हो भने आर्थिक मन्दी सहायक कारण बनेको छ ।’’

नवलपुर पर्यटन समितिका अनुसार कावासोती नगरपालिका भित्र रहेका ६ वटा होमस्टेमा गत आर्थिक वर्षमा झण्डै ३४ हजार आन्तरिक र बाह्य पर्यटक आएका थिए । तर यो आर्थिक वर्षको पिक सिजन सकिनै लाग्दा आधा मात्र अर्थात झण्डै एक हजार ६ सय पर्यटक भित्रिएको गुरौले बताउनुभयो । तर जिल्लाभर कति पर्यटक भित्रिए भन्ने एकिन तथ्याङ्क कसैसँग नभएको होटल व्यावसायी सङ्घका अध्यक्ष रानाले बताउनुभयो । 

२०७९ साउन २२ मा सम्पन्न भइसक्नु पर्ने  सडक चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिको लापरवाहीले तेस्रो पटक थपिएको म्याद सकिन पाँच महिना मात्र बाँकी रहँदा झण्डै ५४ प्रतिशत मात्र भौतिक प्रगती भएको ठेकेदार कम्पनीले जनाएको छ । जसका कारण २०७५ सालदेखि यात्रुले हैरानी खेपिरहनु परेको छ । दुई घण्टामा पुग्न सकिने नारायणघाट–बुटवल सडक खण्ड पार गर्न अहिले ६ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।